हर्क साम्पाङको मुख थुन्न ‘उपसभामुख’ श्रम संस्कृति पार्टीलाई

हर्क साम्पाङको मुख थुन्न ‘उपसभामुख’ श्रम संस्कृति पार्टीलाई

काठमाडौं । फागुन २१ को निर्वाचनबाट सात सिटसहित संसद प्रवेश गरेको हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले सदनमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । उनले सदनमा पहिलो मन्तव्य राख्दै राष्ट्रघाती एमसीसी खारेजीको पक्षमा आफ्नो जोडदार मत पनि राखेका थिए । र, गरिखाने श्रमजीवी वर्गको पक्षमा पनि वकालत गरेका थिए । सरकारका हरेक जनविरोधी र राष्ट्रविरोधी क्रियाकलापको विरुद्ध सदनबाट सशक्त रुपमा हर्क साम्पाङ र उनको पार्टीले आवाज उठाउने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको आलोचक रहँदै आएका हर्क साम्पाङको आलोचनाको प्रभावका कारण सरकारको स्थिरतामा समस्या पैदा हुने विश्लेषण गर्दै रास्वपाका सभापति रवि लामिछानेले उपसभामुखको पद राप्रपालाई दिने सोच बनाएको भए पनि बालेन्द्र शाहकै दबाबमा उपसभामुख पद श्रम संस्कृति पार्टीलाई दिइएको एक उच्च स्रोतले जानकारी दियो ।

रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पद आफ्नो पार्टीलाई दिने भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति सकारात्मक देखिएका छन्।

गत भदौमा जेनजी आन्दोलनपश्चात् अन्तरिम सरकार गठनका बेला आफूलाई प्रधानमन्त्री पदमा समर्थन नगरेको भन्दै धरान उपमहानगरपालिकाका तत्कालीन मेयर साम्पाङले काठमाडौँका तत्कालीन मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गरिरहेका थिए। यो क्रम उनले बालेन प्रधानमन्त्री भइसक्दा पनि जारी राखेका थिए।

तर उपसभामुख पदमा रास्वपाले आफ्नो पार्टीकी सांसद रुबी ठाकुरलाई समर्थन गरेको भोलिपल्टै श्रम संस्कृति पार्टीको संसदीय दलका नेता साम्पाङले रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनसँग मिल्ने कुरा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बालेनजी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम् त’ उपसभामुख हात लागेसँगै अब श्रम संस्कृति पार्टी पनि सत्तारुढ दलकै हैसियतमा पुगेको र अब यो पार्टीले पनि सरकारको आलोचना गर्ने नैतिक धरातल गुमाएको टिप्पणी हुन थालेको छ ।