तुष्टि

तुष्टि

कविता

यो छायाँमा नडुल यसरी जिन्दगी बन्द हुन्छ।
यो मायामा नभुल यसरी जिन्दगी अन्ध हुन्छ॥
राख्छन् गर्जी हिमशिखरमा पाइला साहसीले।
लेख्छन् यात्रा- विवरण तिनै नित्य रातो मसीले॥

बेला घर्क्यो प्रबल गरिबी हिँड्छ खोलेर छाती।
खेलौँ कुस्ती श्रम र सिपका मूल हाँगा समाती॥
आगो लागी सहर सकिए सभ्यता ढल्छ मात्र।
रुन्छन् मान्छे प्रगति छ कहाँ? जिन्दगी जल्छ मात्र॥

खेल्छन् खेल कृपण चितुवा,स्याल आँखा मिलाई।
भाग्छन् गाई, हरिण डरले बेसरी दु:ख पाई॥
हेर्दाहेर्दै पतकर बढे ! दु:खको छैन सीमा ।
पर्छन् धेरै समर भुमरी तीव्र बग्ने नदीमा ॥

सोझासाझा,सरल नमिली दुःखकाे रात जान्नँ।
हानौँहानौँ सिङ र खुरले शक्तिको मात जान्नँ॥
हुन्थ्यो हाम्रो जित,चरनमा चर्न निर्धक्क पाए ।
मिल्थ्यो तुष्टि प्रचुर हरियो पेटमा पर्न पाए॥
चैत्र २१, २०८२