दाङ, २५ फागुन
क्रान्तिकारी कम्युनिस्ट पार्टीका दाङ जिल्ला समिति सदस्य तथा तुलसीपुर नगर कमिटी सेक्रेटरी मनबहादुर ओली आज रिहाइ हुनुभएको छ ।
पार्टीको चुनाव बहिष्कार योजनामा क्रियाशील भएको आरोपमा नगर सेक्रेटरी ओलीलाई कार्की नेतृत्वको कठपुतली सरकारको निर्देशनमा इप्रका तुलसीपुरबाट खटिएका प्रहरीले यही फागुन १२ गते आफ्नै पसलमा बसिरहेको समयमा गिरफ्तार गरी हिरासतमा राखेको थियो । उहाँलाई निर्वाचन विरोधी मुद्दा लगाएर आजसम्म हिरासतमा राखिएको सम्बद्ध पार्टीले जनाएको छ ।
मनबहादुर ओलीलाई स्वागत गर्न जिल्ला प्रशासन कार्यालयमा पुगेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर व्युरो सेक्रेटरी समिर लगायत जिल्ला पार्टीका दर्जनौं नेता कार्यकर्ताहरुले ओलीलाई थुना मुक्त भएपछि खादा र माला लगाएर स्वागत गरेका थिए ।































