चुनाव, बहिष्कार र परिणाम

चुनाव, बहिष्कार र परिणाम

विचार

प्रा.डा. जगदीश चन्द्र
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको संयोजनमा बनेको कार्की सरकारद्वारा गराइएको संसदीय चुनाव क्रान्तिकारी जनता र पार्टीहरूको बहिष्कार तथा संसदवादी र दक्षिणपन्थी शक्तिको सहभागितामा सकिएको छ । यसका पृष्ठभूमिमा रहेका अनेकौं कारकहरू यतिबेला चर्चाको विषय बनेका छन् । भदौमा भएको जेन जेड हलचल र त्यसका बाछिटा धेरैतिर फैलिए ।

आन्दोलनको अन्तर्यमा तत्कालीन एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनको सरकारले गरेको भ्रष्टाचार र कुशासन मूल रूपमा रहेको देखापर्छ तापनि केवल त्यतिमात्र कारण भने मान्न सकिंदैन । यसको लामो ऐतिहासिक शृङ्खला रहेको छ । पञ्चायती निरङ्कुश शासन र त्यसपछिका बहुदलीय व्यवस्थामा प्रधानतः काङ्ग्रेस नै राज्यको केन्द्रीय शक्तिको रूपमा रह्यो र सँगसँगै बहुदलीय जनवादी कथित कम्युनिस्ट नेकपा (एमाले) पनि काङ्ग्रेसवृत्तमै घुमिरह्यो । पचासको दशकको सुरुमै आरम्भ भएको जनयुद्धको विस्तारले पुरानो सामन्तवादी शक्तिसँग साँठगाँठ र साम्राज्यवाद र विस्तारवाद एवम् पुँँजीवादी दलाल नोकरशाही शक्तिकै वर्चस्वलाई केही मात्रामा प्रकम्पित पा¥यो । अन्ततः जनयुद्धको जगमा खडा भएको २०६२÷०६३को संयुुक्त सङ्घर्षबाट सामन्तवादी शक्तिलाई पृथक् ग¥यो । राज्यका केन्द्रमा परिवर्तित वा जनताबाट प्राप्त शक्तिको दुरुपयोग गरी तत्कालीन नेकपा (माओवादी)को मूल नेतृत्व वैचारिक÷सैद्धान्तिक रुपमा संसदीय भासमा भासिएपछि ऊ पनि आफ्ना सहयात्रीहरूलाई छाडेर अघिल्ला दुई शक्ति नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सँगै उभिएर शासन सत्तामा ढलिमलि गर्न पुग्यो । यसै ऐतिहासिक विकास प्रक्रियामा जेनजेडको पछिल्लो अलि बढी प्रकम्पनयुक्त घटनाक्रमलाई हेर्न सकिन्छ ।

पञ्चायत काल र त्यसपछिका अवधिमा हुर्केका र आफुलाई महान् बौद्धिक ठान्ने तथा कुनै न कुनै तहमा सत्ताकै वैचारिकीलाई अन्नजल, ऐसआराम र विश्वविद्यालयदेखि अन्य संस्थामा हालीमुहाली गर्दै आएका व्याख्याता र विश्लेषक भनेरै उत्पीडित वर्गको विचारलाई निषेध गर्नेहरू यतिबेला कर्पोरेट मिडियामा पछिल्लो चुनाव परिणामलाई लिएर सर्वहारा वर्ग तथा जातीय, क्षेत्रीय, लिङ्गीय विषमताको मुद्दामा आधारित राजनीतिक अध्याय समाप्त भएको घोषणा गरिरहेका छन्, जुन अवैज्ञानिक र हास्यास्पद पनि छ ।

खासगरी अहिले विजयप्राप्त दलको साङ्गठनिक स्वरूप र त्यसको ऐतिहासिकता भनेको पुरानै दलका स्रोत हुन् र अझ त्यसमा खुला र स्पष्टतः साम्राज्यवाद तथा भारतीय विस्तारवाद र त्यसलाई सहयोग पु¥याउने देशीय आभिजात्य, कुलीन, दलाल पुँजीवादी र विभिन्न किसिमबाट मोटाउँदै गएको मध्यमवर्गले साथ सहयोग दिई अहिलेको स्वतन्त्र नाउँको दल निर्माण भएको हो । यसको चरित्र र प्रवृत्तिमा विविध खाले हानिकारक तत्व रहेका छन् । मूलतः यो कुनै सैद्धान्तिक, दार्शनिक र राजनीतिक धारणा र मान्यतामा आधारित नभई पुरानै पार्टीका स्खलित व्यक्तिहरू, अघिल्लोमा अवसर पाएका र नपाएका दुवै थरी, देशभित्र र बाहिर दुबैतिर वैधअवैध किसिमबाट सम्पत्ति जोडेका, नवउदारवादी संस्थामा गाँसिएका, तस्करी जस्ता धन्दा चलाएका, मानव बेचबिखनमा लागेका, प्राइभेट संस्थाबाट प्रसस्त धन कुम्ल्याएका, नोकरशाह र नोकरशाही वर्गका परिवारमा जन्मेका, निजी स्कुलमा अध्ययन गरेका, सानसौकत चाहिने र राज्यका केन्द्रमा पुग्न हतारिएका, कुनै प्रतिभा, क्षमताभन्दा युट्युव र अन्य सामाजिक सञ्जाललाई भ¥याङ बनाएर कलाकार, अभिनेता अभिनेत्री बनेका र स्थापित सत्ताजन्य भाँडहरू, श्रम, मानवता, समानताका विरुद्धको मानसिकता भएका, बिना मिहिनेत तत्कालै आर्थिक आर्जन गर्न चाहनेहरू, एल्गोरिदमका वैध सन्तानहरू, धार्मिक अन्धविश्वासमा रमाउने पाखन्डीहरू, सत्य तथ्यमा भन्दा हाहुमै निक्र्यौल गर्नेहरू, सहिदी आदर्श, त्याग, उत्सर्गको उदात्त आख्यान मन नपराउने व्यक्तिवादी अराजकतावादीहरू, मानव बेचबिखनबाट अकुत सम्पत्ति कमाएका, अमेरिकी गुप्त संस्थाको निगाहमा दृश्य अदृश्य रुपमा गाँसिएर लाभ लिएका, इतिहासको महान् उपलब्धि र योगदानका विरुद्धमा उभिएका, सांस्कृतिक साम्राज्यवादको वीर्याधानबाट निर्मित तत्वहरू नै विजेता शक्तिका अन्तर्य र मूल अवयव हुन् ।

के भन्ने गरिएको छ भने ‘अब नेपालमा बाम र दक्षिणपन्थको राजनीति सकिएको छ र दलाल, साम्राज्यवाद, विस्तारवाद जस्ता शब्दावलीको प्रयोगको अन्त्य भएको छ ।’ यस्तो भन्ने व्यक्तिहरू वास्तवमा काङ्ग्रेसका काखीका रौंबाट उद्भव कथित बुद्धिजीवी (जो सधैंभरि सत्ताको दूर्गन्धित चास्नीमा डुबुल्की मारिरहे– छन् । अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित र बारबारा कम्पनीबाट पोषित सरकारद्वारा गराइएको निर्वाचन र आफ्नै दलाल शक्तिलाई निर्वाचनमा दिलाइएको विजयलाई अन्तिम र महान् प्राप्तिका रुपमा संश्लेषित गरेका छन् । क्रान्तिकारी उत्पीडित र शोषित जनताका मूलभूत समस्याको समाधान भन्दा राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तालाई समाप्त पार्ने भीषण खतराको सङ्केत चुनावी सरकार र निर्वाचित संसदले देखाइसकेको छ ।

स्वाधीन संयुक्त सरकारको माग राखी क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायतका पार्टी र परिवर्तनकामी विभिन्न तप्काका जनसमुदायलाई उपेक्षा मात्र नगरी सयौंको सङ्ख्यामा संविधानप्रदत्त शान्तिपूर्ण विरोध र बहिष्कार जस्ता हकअधिकारलाई कुण्ठित गरी धरपकड र गिरफ्तारीसँगै गरिएको निर्वाचनको परिणाम क्रान्तिकारी जनमतले स्वीकार नगर्ने निश्चित छ । फेरि पनि के कुरा हेक्कामा राख्नु पर्छ भने नेपाली धरतीमा जबसम्म उत्पीडितवर्गले मुक्ति प्राप्त गर्दैन तबसम्म क्रान्ति, आन्दोलन र मालेमावाद जबर्जस्त रुपमा रहन्छ । सीमित सङ्ख्यामा रहेका तथाकथित तत्वको हार हुनु अनिवार्य छ । समाजका अन्तरविरोधको सही र वैज्ञानिक समाधान नहुँदासम्म वर्गसङ्घर्ष निरन्तर रहन्छ । साम्राज्यवादद्वारा हुर्काइएका सबैलाई ध्वंस गरी राष्ट्रलाई मुक्त पार्ने जिम्मेवारीमा क्रान्तिकारी जनता र पार्टी रहन्छन् । सुँगुरको फोहोरमा रमाउने राजनीतिक शक्ति, बौद्धिक तप्का, सञ्चार जगत र दलाल तत्व इतिहासको गर्तमा पुरिनेछन् ।