नेपाली राजनीतिको वर्तमान रङ्गमञ्चमा दलाल संसदीय व्यवस्थाको आयु समाप्त भएको ऐतिहासिक घोषणा समयले गरिसकेको छ। तर, मृत्युशय्यामा पुगेको यो व्यवस्थाले आफ्नो अन्तिम घडीमा जनता र क्रान्तिकारी शक्तिहरूमाथि जुन प्रकारको बर्बर दमन र राज्य आतङ्क मच्चाइरहेको छ, यसले संसदीय व्यवस्थाको पराजयलाई झनै सुनिश्चित गरिदिएको छ। त्यसैले मेरो १०० घण्टाको हिरासत र राष्ट्रिय स्वाधीनताको प्रश्न आज केवल एउटा व्यक्तिलाई चार पर्खालभित्र थुन्ने प्रयास मात्र थिएन, यो त वैदेशिक प्रभुत्व र दलाल सत्ताको गठजोड विरुद्ध उठेको एउटा बुलन्द विचारलाई गलाउने राज्यको असफल दुष्प्रयास थियो। २०८२ फागुन १ गते र १८ गते देखि २२ गते सम्मका हिरासत बसाइँ जिवनको लागि एक महत्त्वपूर्ण कडी बनेको छ ।
सैद्धान्तिक रूपमा, राष्ट्रिय स्वाधीनता केवल भौगोलिक सीमानाको रक्षा मात्र होइन; यो त एउटा सार्वभौम मुलुकले आफ्नो निर्णय आफैँ गर्न पाउने राजनीतिक र आर्थिक स्वतन्त्रता पनि हो। तर, आजको ‘कठपुतली सरकार’ साम्राज्यवादद्वारा प्रायोजित र आइएनजीओ निर्देशित मार्गचित्रमा चल्नुले नेपालको स्वाधीनता कति कमजोर बनाइएको छ भन्ने प्रस्ट हुन्छ। जब हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको रणनीतिक लक्ष्य—नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने—संकल्पका साथ निर्वाचन बहिष्कारको कार्यनीति अख्तियार गर्यौँ, तब राज्यको मथिङ्गलमा ठुलो धक्का लाग्यो। तात्कालिक रूपमा जेन्जी विद्रोह (Gen-Z Rebellion) प्रति न्याय गर्न र विद्यमान राजनीतिक सङ्कट हल गर्न देशभक्त, वामपन्थी र क्रान्तिकारीहरूको संयुक्त राजनीतिक सम्मेलनद्वारा संयुक्त मोर्चा र स्वाधीन संयुक्त सरकार निर्माण गर्नु आजको निर्विकल्प ऐतिहासिक आवश्यकता थियो। तर कठपुतली सरकारले अल्गोरिदमद्वारा जनता लठ्याउदै सेना प्रयोग गरेर निर्वाचन लाद्ने काम गर्यो ।
हाम्रो पार्टी र संयुक्त संघर्ष समितिले यसपटकको बहिष्कार आन्दोलनलाई केवल नारामा मात्र सीमित राखेन, बरु केन्द्रीकृत योजना र विकेन्द्रीकृत कार्यशैलीको ठोस कार्यनीति अपनायौँ। मनोनयनको पूर्वसन्ध्यामा निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर राखेर सुरु भएको यो अभियानले जिल्लाभर एउटा स्पष्ट सन्देश प्रवाह गर्यो। हाम्रो कार्यनीति स्पष्ट थियो— सहरमा राजनीतिक हस्तक्षेप र गाउँमा जनतालाई सचेत गराउँदै आधारभूत श्रमजीवी वर्गको नेतृत्वमा जनविद्रोहको आधारभूमि तयार पार्ने। तर, साम्राज्यवादी शक्तिहरूको ‘रेड कार्पेट’ स्वागतमा रमाउने प्रशासनले विचारको लडाइँलाई हतियार र हिरासतले रोक्ने चेष्टा गर्यो।
फागुन १ गते, महान् जनयुद्ध दिवस मनाउँदै गर्दा परासीको बुद्धचोकबाट मलाई ५० औँ मानिसका बीचबाट छापामार शैलीमा गिरफ्तार गरियो। यो मेरो जीवनको छैटौँ पटकको गिरफ्तारी थियो। हिरासतभित्रका ती ३ घण्टा र पछिल्लो १८ गतेको गिरफ्तारीपछिका १०० घण्टा मेरो लागि वैचारिक संवाद र प्रतिरोधी मानसिकताको प्रयोगशाला बन्यो। राज्यसत्ताले मलाई मेरो बिरामी जीवनसाथी लक्ष्मी, अबोध सन्तान र पसलमा आएका दर्जनौ ग्राहक सामुन्नेबाट विना पक्राउ पुर्जी, मोबाइल खोस्दै अपहरण शैलीमा गिरफ्तार गर्दा उसले सोचेको थियो होला कि यसले मेरो मनोबल तोड्नेछ। तर, राज्यले मलाई जति पटक हिरासतको भित्ताभित्र थुन्न खोज्यो, मेरो वैचारिक निष्ठा त्यति नै इस्पात जस्तै कडा भएर निस्कियो।
हिरासतको त्यो सय घण्टाले एउटा गम्भीर सैद्धान्तिक प्रश्न उब्जाएको छ— जो देश बेच्ने दाउमा छन्, उनीहरू सत्ताको कुर्सीमा किन? र जो देश जोगाउन सडकमा छन्, उनीहरू ‘राज्य विरुद्धको कसुर’ मा हिरासतको छिँडीमा किन? साम्राज्यवादी अमेरिकी सेनाका इन्डो-प्यासिफिक कमान्डका सेनापतिलाई स्वागत गर्न आतुर यो सत्ता आफ्नै देशका देशभक्त नागरिकसँग डराउनु नै यसको वैचारिक पराजयको पराकाष्ठा हो। मेरो गिरफ्तारी विरुद्ध नवलपरासी जिल्ला समितिको सक्रियता र जिल्ला इन्चार्ज कमरेड क्षेत्र बहादुर थापा नेतृत्वदायी भूमिका, अग्रज कमरेड प्रेमलाल रिमालको लोभलाग्दो प्रतिरोधका साथै नवलपरासी जिल्ला बार र फडिन्द्र कार्की लगायत कानुन व्यवसायी मित्रहरूको ‘बन्दी प्रत्यक्षीकरण’ को रिट मार्फत भएको कानुनी प्रतिरक्षाले राज्यको स्वेच्छाचारी कदमलाई कडा चुनौती दियो। यसले के पुष्टि गर्यो भने जब राजनीतिक कार्यदिशा र कानुनी प्रतिरक्षा सँगसँगै अगाडि बढ्छन्, तब प्रतिक्रियावादी सत्ताका हत्कण्डाहरू असफल हुन्छन्।
आज देशैभरि हाम्रा कमरेडहरूमाथि झुट्टा मुद्दा लगाएर क्रान्तिको पदचापलाई रोक्न खोजिएको छ। तर, विचारलाई साङ्लोले बाँध्न सकिँदैन। करिब ४ दशक सम्मको उमेरमा ६ पटक सम्मको मेरो गिरफ्तारी र पछिल्लो १०० घण्टाको बन्दी जीवनले मलाई झन् दृढ बनाएको छ। अबका दिनमा हामी भ्रष्टाचार विरोधी अभियान र साम्राज्यवाद विरोधी आन्दोलनलाई एकाकार गर्दै हामी जनताको घरदैलोमा पुग्नेछौँ। हिरासतका ती अँध्यारा कोठाहरूले हामीलाई गलाउन सक्दैनन्, बरु ती कोठाहरूले नयाँ जनवादी क्रान्तिको खुड्किलो उक्लदै बैज्ञानिक समाजवादको उज्यालोतिर लाग्न थप ऊर्जा दिएका छन्।
अन्त्यमा, राष्ट्रिय स्वाधीनता र जनतन्त्रको पक्षमा हाम्रो आवाज थर्कने छैन। साम्राज्यवादीहरूको इशारामा चल्ने यो दलाल व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नै हाम्रो अन्तिम गन्तव्य हो। दमनको अँध्यारो जतिसुकै बाक्लो भए पनि क्रान्तिको सूर्योदयलाई कसैले रोक्न सक्ने छैन। त्यसैले साम्राज्यवाद बिरुद्वको मोर्चामा एकाकार भएर लडन यो निर्वाचनले हामीलाई सन्देस दिएको छ ।
क्रान्ति जिन्दावाद ! लेखक: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला सेक्रेटरी हुनुहुन्छ ।































