काठमाडौं । फागुन २१ को निर्वाचनको मुखैमा देशका विभिन्न भागमा शंकास्पद वस्तु फेला परेको सुरक्षा निकायले जनाएको छ । सर्खेत, कञ्चनपुर, विराटनगर लगायतका क्षेत्रमा शंकास्पद बस्तु फेला परेको जनाइएको छ ।
प्राप्त जानकारी अनुसार सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो । सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के।सीले जानकारी दिए । ‘सडक किनारमा शंकास्पद वस्तु भेटिएको सूचना आएपछि तत्काल सुरक्षा घेरा बनाइएको छुउनले भने ।
प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेरामा राख्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।
त्यस्तै, कञ्चनपुरको पूर्वपश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ। कृष्णपुर नगरपालिका २ वाणीस्थित राजमार्गमा २ वटा शंकास्पद झोला भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार फेला परेका झोलाभित्र के छ भन्नेबारे अझै एकिन हुन सकेको छैन।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीसहित सशस्त्र प्रहरी, नेपाल आर्मीको टोली परिचालन गरिएको छ।
रार्जमागमा आफूले झोला राखेको बताउने शंकास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले शंकास्पद वस्तुको जाँच गरिरहेका छन्।































