काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डा र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएको छ।
उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध अब केही बेरमै इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’
अमेरिका(इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको खबरलगत्तै उक्त चेतावनी दिइएको हो।
खामेनीको निधनको शोकमा इरानी सरकारले ४० दिनको शोक घोषणा गरेको छ।

इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले इजरायल(अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको उल्लेख गरेका छन्।
शनिबार गरिएको हवाई हमलाबाट आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
जवाफमा इरानले पनि शनिबारै इजरायलमा झन्डै ४०० क्षेप्यास्त्र प्रहार गर्यो भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डालाई निसाना बनायो। साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि क्षेप्यास्त्र हानेको छ।
यसबाट भएको क्षतिको विवरण भने अहिले आइसकेको छैन।
अमेरिका–इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मारिएपछि त्यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रश्न बनेको छ–अब उनको स्थानमा को ? यो प्रश्न किन पनि टड्कारो बनेको छ भने इरानमा सर्वोच्च नेता पद राष्ट्रपतिभन्दा बढी शक्तिशाली हुन्छ।
इरानले अहिलेसम्म नयाँ सर्वोच्च नेताको नाम घोषणा गरेको छैन, तर सरकारी सञ्चारमाध्यम फार्ससहित इरानका धेरैवटा मिडिया रिपोर्टअनुसार उनका छोरा मोज्तबा खामेनी अब उक्त पदमा निर्वाचित हुन सक्छन्।
किनिक उनलाई सर्वोच्च नेता पदमा नियुक्ति गर्ने तयारी दुई वर्षदेखि नै भइरहेको छ। इरानमा सर्वोच्च नेतालाई ‘रहबर’ भनिन्छ, जसको अर्थ ‘मार्गदर्शक’ अर्थात् ‘बाटो देखाउने’ हो। त्यहाँ ८८ धर्मगुरुको भेलाले सर्वोच्च नेता चयन गर्छ।
इरान र भ्याटिकन सिटी मात्र संसारका त्यस्ता देश हुन्, जहाँ धार्मिक नेता सबैभन्दा बढी शक्तिशाली हुन्छन्।
इरानमा सर्वोच्च नेताको हैसियत भ्याटिकनमा पोपको जस्तै छ।
इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता खामेनी मारिएका हुन्। उनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’































