काठमान्डौ ।
अमेरिकाले इजरायलसँग मिलेर इरानी जनतामाथि गरिएको सैन्य आक्रमणका विरुद्ध प्राध्यापक तथा सांस्कृतिक सङ्गठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बिराेध जनाएका छन् ।
अाज जारी गरिएको संयुक्त विज्ञप्तिमा उनीहरुले अमेरिकी सरकारले गरेको सार्वभौम मुलुक इरानमाथि गरिएको कारवाही यस शताब्दीकै क्रूर र अमानवीय कार्य हो भनेका छन् । एउटा सार्वभौम मुलुक इरानमाथि गरिएको यस्तो बर्बर हस्तक्षेप र दमनको विरुद्धमा वक्तव्य जारी गर्नेहरुमा नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र साे सम्वद्ध अाङ्गिक सङ्गठनहरु अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ लगायत रहेका छन् । त्यसैगरी इच्छुक सांस्कृतिक प्रतिष्ठान र माक्र्सवादी सांस्कृतिक मोर्चाद्वारा पनि उक्त आक्रमण र हस्तक्षेपको विरोधमा एक संयुक्त वक्तव्य प्रकाशित गरिएको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयाेजक हीरामणि दुःखी, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष मित्रलाल पंज्ञानी, अखिल नेपाल जनकलाकार सङ्घका संयाेजक असल पाख्रिन, अखिल नेपाल ललितकला सङ्घका संयाेजक अग्नि पाैडेल तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहट्टा र माक्र्सवादी सांस्कृतिक मोर्चाका संयोजक इस्मालीद्वारा हस्ताक्षेरित संयुक्त वक्तव्यमा आफ्नो पिठ्ठु इजरायलसँग मिलेर इरानी जनतामाथि गरिएको सैन्य आक्रमण यस शताब्दीकै क्रूर अमानवीय कार्य हो भनिएको छ । वक्तव्यमा अगाडि उक्त कदमकाे बिराेध गर्दै सन्की विक्षिप्त तानाशाहका रूपमा देखिएका कथित प्रजातन्त्रवादी ट्रम्प र उनको समूहको विध्वंसात्मक एवम् आततायी कर्मले संसारभरिका सभ्य र सुसंस्कृत मानवजातिलाई नै लज्जित तुल्याएको छ र जति निन्दा र भ्रत्सना गरे पनि कम नै हुन्छ भनिएको छ ।
वक्तव्यकाे अन्त्यमा “हामी आतंककारी साम्राज्यवादी अमेरिकाको विरद्धमा दुनियाँभरिका उत्पीडित शान्तिप्रेमी राष्ट्र र सचेत समुदायलाई एकताबद्ध भई आवाज उठाउन आह्वान गर्दछौं” भनिएको छ ।





























