अमेरिकाको युद्ध ब्यापार र पतनका संभावनाहरु

अमेरिकाको युद्ध ब्यापार र पतनका संभावनाहरु

डा. केशव देवकोटा

अमेरिका र इजायलले इरानमाथि गरेको पछिल्लो आक्रमणबाट गत शनिबार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि कतिपयले तेश्रो बिश्व युद्ध हुनसक्ने आंकलन गरेका छन् । तत्काल तेश्रो बिश्वयुद्ध नभएपनि इरानमा भएको घटना सहजै सेलाउने कुनै संभावना देखिएको छैन । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोश्रो पटक निर्वाचित भएदेखि नै उहाँले अमेरिकाको राष्ट्रिय राजनीतिलाई नै ब्यापारिकरण गरेर ब्यापार युद्धको थालनी गरेको देखिएको छ । जसको शिकार बिश्वका बिभिन्न मुलुकहरु पर्दैगएका छन् । संसारमा ठूला र शक्तिशाली देशहरुले साना देशहरुमाथि गर्ने हैकम र बलजप्तीपूर्ण कार्यहरु निन्दनीय छन् तर अझै रोकिएका छैनन् । त्यसमाथि पनि अमेरिकाको साम्राज्यवादी चरित्र बिश्वसामु उदाङ्गोरुपमा प्रस्तुत हुनथालेको छ । जसले जुनसुकै बेला तेश्रो बिश्वयुद्ध भड्किन सक्ने र अमेरिका स्वयं तहसनहस हुनसक्ने संभावनालाई अगाडि ल्याएको छ । अमेरिकालेगर्ने प्रायः निर्णयहरुबाट विश्वको आर्थिक, राजनीतिक र सामाजिक भूगोलहरुमा ठूलो फाटो र विभ्रम फैलिँदो छ । आफूलाई फाइदा हुने कुराको लागि जुनसुकै देशमाथि जस्तोसुकै दबाब दिएर स्वार्थपूर्ति गराउने अमेरिका र अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति पछिल्ला दिनमा खतर्नाक देखिएको छ । पूँजीवादी देशहरुको पूँजीवादी संगठन र इस्लामिक देशहरुको इस्लामिक संगठनहरुले आआफ्नो स्वार्थ र उद्देश्यनुरुप कार्यगर्न खोज्दा विश्वको शान्तिनै खलबलिन पुगेको अवस्था छ । रुस र युक्रेनबीचको युद्ध तथा इजरायल र फिलिस्तिन गाजा समूहभित्रका हमास संगठनहरुले शुरुगरेका छापामार युद्धहरुबाट इजरायल फिलिस्तिन्लगायत सम्पूर्ण मध्यपूर्वका देशहरुमा देखिएका युद्धहरु उपरोक्त कुराका संकेतहरु हुन् । अमेरिकाले इरानको परमाणविक केन्द्रमाथि बम खसालेर ध्वस्तगर्ने योजना धेरै पहिलेदेखि बनाएको थियोभने इरानले पनि अमेरिकालाई परमाणु हमला गरेर ध्वंसगर्ने चेतावनीदिँदै आएको थियो ।
गत शनिबारको घटनाले अमेरिका र इरानबीचको बिवादलाई उत्कर्षमा पु¥याएको छ । इरानका परमाणु संयन्त्रहरु अमेरिकाका लागि ठूलो चिन्ताको विषय रहँदै आएको थियो । इस्लाम र यहुदी धर्मबीचको युद्ध तथा इस्लाम र इसाईबीचको युद्धले संसारमा तेश्रो विश्वयुद्ध निमत्याउन सक्ने संभावनाहरु बढेर गएका छन् । अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भैसकेको छ । खामेनीको मृत्युभएको त्यहाँको सरकारी टेलिभिजनले हिजो आइतबार औपचारिक घोषणा गरेको थियो । खामेनीसँगै उहाँका छोरी, ज्वाइँ, बुहारी र नाति पनि लगायत मारिएका छन् । अन्य हताहतीकाबारेमा पूर्ण बिवरण बाहिर आउन सकेको छैन । इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजले कतिपय बिवरणहरु बाहिर ल्याएको छ । गत शनिबारनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले खामेनी मारिएको दाबी गर्नुभएकाले अमेरिकाको अशली प्रयास स्पष्ट भएको छ । सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति खामेनीकै हातमा रहेको थियो । खामेनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासनगर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुनुभएको थियो । खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला भएको बताइन्थ्यो । सन् १९७९ को इस्लामिक क्रान्तिमा उहाँले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । सर्वोच्च नेता बन्नुअघि उहाँ इरानको तेश्रो राष्ट्रपतिकारुपमा कार्यरत हुनुहुन्थ्यो । इरान–इराक युद्धका बेलामा उहाँले इरानको नेतृत्व गर्नुभएकोभने सोही समयमा इरानी सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग उहाँको सम्बन्ध बलियो भएको मानिएको थियो । सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको छभने एक हप्ता सार्बजनिक बिदासमेत दिइएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अमेरिका र इजरेलको संयुक्त हवाई हमलापश्चात् कडा प्रतिक्रिया जनाएको छ । तेहरान तथा अन्य शहरहरुमा अमेरिकी तथा इजरायलको हमला जारीरहन सक्नेभन्दै उसले हाफ्ना नागरिकहरुलाई शान्त रहन र सम्भव भएसम्म सुरक्षित ठाउँमा जान भनेको छ । आवश्यकपर्ने सामग्रीको जोहो सरकारले गरिसकेको उसले जनाएको छ । जसलेगर्दा इरान थप आक्रामक हुने संकेतहरु देखिएका छन् ।
इरानले अमेरिकासँग आफूले कूटनीतिक प्रक्रिया जारीराखेकै बेला झुक्याएर आक्रमण भएको प्रतिक्रिया दिएको छ । जेनेभामा इरान र अमेरिकाबीचको तेश्रो चरणको अप्रत्यक्ष वार्ता गत फेब्रुअरी २६ मामात्र सम्पन्न भएको थियोभने आज (मार्च २) पछि पुनः वार्ता हुने भनिएको थियो । गत बर्षको मे महिनामा पनि ती दुई देशले पाँच चरणमा वार्ता गरेका थिए । छैठौँ चरणको वार्ताभने इजरायलले इरानमा आक्रमण गरेपछि रद्ध भएको थियो । त्यसपछि १२ दिनसम्म चलेको युद्धका बेला अमेरिकाले इरानका तीनवटा महत्वपूर्ण परमाणु केन्द्रहरुमा बमबारी गरेको थियो । इरानमा घटेको पछिल्लो घटनाका कारण विश्वभरका देशहरुले मध्यपूर्वमा तनाव बढ्ने चिन्ता व्यक्त गरेका छन् । बिश्वको अर्को शक्ति राष्ट्र रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई खतरनाक र विनाशकारीभन्दै त्यसको निन्दा गरेको छ । क्रेमलिनले बढ्दो तनाव र इरानमा सम्भावित अमेरिकी हस्तक्षेपको रिपोर्टको बीचमा संयम अपनाउन आह्वान गरिरहेको छ । युक्रेन आक्रमणका सन्दर्भमा तेहरान रुसको सबैभन्दा नजिकको सहयोगीकारुपमा रहेको छ । रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिनै जारीगरेर वाशिंटन र तेल अभिभले फेरि एक खतरनाक र विनाशकारी यात्रा शुरुगरेको टिप्पणी गरेको छ । रुसले अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र सन्तुलनमा आधारित शान्तिपूर्ण समाधानको खोजीमा योगदान दिन आफू तयार रहेको पनि बताएको छ । सन् २०२५ मा रुस र इरानले सैन्य क्षेत्रलगायत सम्बन्ध बलियो बनाउने उद्देश्यले रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसैगरी संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा गत शनिबार भएको हमलाको निन्दागर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले अमेरिका–इजरायल आक्रमण र इरानको प्रतिक्रियाको निन्दा गर्नुभएको छ । नेपालको छिमेकी चीनले सैन्य कारवाही तत्काल रोक्न आग्रह गरिसकेको अवस्था छ । चिनियाँ विदेश मन्त्रालयले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारलेसमेत आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दागरेको छ र आक्रमणको जवाफ दिने चेतावनीसमेत दिएको छ । युरोपेली संघ (इयू) की प्रमुख उर्सुला भोन डेर लेयनले अमेरिकाले इरानका आणविक क्षेत्रहरु निशाना रहेको संकेत गरेपछि आणविक सुरक्षा सुनिश्चितगर्नु महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ । त्यसैगरी नर्वेका विदेशमन्त्रीले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको बताउँदै पूर्वयोजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याएको बताउनुभएको छ । नेपालको अर्को छिमेकी भारतको विदेश मन्त्रालयले सबै राज्यहरुको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोडदिँदै वार्ता र कूटनीतिलाई पछ्याउनुपर्ने भनेको छ । भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले गतसाता मात्र इजरायलको भ्रमण गरेर बिभिन्न सहमति र संझौतामा हस्ताक्षर गर्नुभएको थियो । अर्कातिर बेलायत, फ्रान्स र जर्मनीले संयुक्तरुपमा इरानको जवाफी आक्रमणको निन्दागरेका छन्भने बेलायत सरकारले पनि स्थिति व्यापक क्षेत्रीय द्वन्दमा परिणत हुनसक्नेमा चिन्ता व्यक्त गरेको पाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले खतरनाक तनाव रोक्न आग्रहगर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठक बोलाउनुभएको छ। इरानमा अप्रत्याशितरुपमा घटेको घटनाकाबारेमा छिट्टै राष्ट्रसंघको सुरक्षा परिषदमासमेत छलफल हुनेभएको छ ।
त्यसैगरी लेबनानका प्रधानमन्त्री नवाफ सलामले इरानमा हालै घटेको घटनाले आफ्नो देशलाई युद्धमा नतान्ने बताउनुभएको छ । उता इरानका अन्तिम राजाका छोरा तथा तेहरानको वर्तमान सत्ताका प्रखर आलोचक रेजा पहलवीले गत शनिबारको आक्रमणपछि अन्तिम जित नजिक रहेको दाबी गर्नुभएको छ । उहाँको भनाईमा सबै मिलेर इरानलाई फिर्ता लिन र पुनर्निर्माणगर्न सक्छौं भन्ने रहेको पाइन्छ । पहलवी अमेरिकामा निर्वासित जीवन बिताइरहेको अवस्था छ । त्यसैगरी इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरुको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोडदिएको पाइएको छ । टर्कीको विदेश मन्त्रालयले द्वन्दले यस क्षेत्रको भविष्य र विश्वव्यापी स्थिरतालाई खतरामा पारेकोभन्दै सबै पक्षलाई तुरुन्त शत्रुता रोक्न आग्रह गरेको छ । जोर्डनको सरकारले तनाव कमगर्न आग्रह गरेको छ र आफ्नो सबै शक्तिकासाथ राज्यको हितको रक्षागर्ने चेतावनी दिएको छ । प्यालेष्टिनी लडाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको आक्रमणको निन्दा गरेको छ र यसलाई सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण भनेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको आतंकवादी शासनलाई सत्ताच्युतगर्ने अवसर सिर्जना गरेको बताउनुभएको छ । यसरी गत शनिबार इरानमा भएको घटनाले बिश्वजनमतलाई नै दुई धुरीमा बिभाजित गरेको देखिएको छ । एकातिर इरानमा सत्ता कब्जाका लागि आन्तरिक द्वन्द बढेको छभने अर्कातिर अमेरिका र इजरायलले इरानको सत्ता आफ्नो हातमा लिने प्रयास गरिरहेका छन् । इरानमा अमेरिकाले जे कदम चालेको छ, त्यसको परिणाम ज्यादै खतर्नाक र गंभिर हुने स्पष्ट संकेतहरु देखिएका छन् । सो घटनाले बिश्वका बिभिन्न मुलुकमा छरिएर रहेका लाखौं नेपालीहरुसमेत प्रभावित भएका छन् । इरान अमेरिका युद्धले नेपालमासमेत प्रत्यक्ष र परोक्ष दुबै खालका असरहरु पर्नसक्ने देखिएको छ । जुन आजको गंभिर बिचारणिय बिषय हुनपुगेको छ ।