क्रान्तिको कार्यभार पूरा गर्न अब सच्चा क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्छौं : सीपी गजुरेल

क्रान्तिको कार्यभार पूरा गर्न अब सच्चा क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्छौं : सीपी गजुरेल

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव तथा संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेल गौरवले फागुन २१ को संसदीय निर्वाचन बहिस्कारको कार्यक्रम मूलतः सफल भएको बताउनु भयो । उहाँले देशैभर भएका बहिस्कार सम्बन्धी संघर्षका कार्यक्रम, राज्यले चलाएको दमनकारी अभियान, नेता कार्यकर्ताहरुको गिरफ्तारी, न्यायिक र प्रचारको क्षेत्रबाट भएका कामहरुकै प्रभावका कारण निर्वाचनमा ४५ बर्षयताकै सबैभन्दा कम मतदान भएको बताउनु भयो । र, पाँचवटा जिल्लाका ७ वटा मतदान केन्द्रमा स्थानीय जनताले मतदान बहिस्कार गरेको प्रसंगमा पनि उहाँले चर्चा गर्नुभयो ।


निर्वाचनपछि नेपालमा साम्राज्यवादी शक्ति हावी हुन पुगेको विश्लेषण गर्दै देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको निम्ति सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरुबिच सदृढ एकता आजको आवश्यकता बनेको पनि स्पष्ट पार्नुभयो ।


उहाँले विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिमा अब सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, भन्नुभयो ।

तीनवटा महिला संगठनहरु क्रान्तिकारी महिला संगठन नेपाल, अखिल नेपाल महिला संगठन र वैज्ञानिक समाजवादी महिला संगठनले संयुक्त रुपमा आठ मार्चको सन्दर्भमा आयोजित ‘आठ मार्चको महत्व : महिला मुक्तिको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गजुरेलले आफूले क्रान्तिको दायित्व नछाडेको बताउनु हुँदै आठ मार्च पनि केवल दिवस नभएर क्रान्तिको उपलब्धि भएको स्पष्ट पार्नुभयो । र, क्रान्तिकारी आन्दोलनबिना महिला मुक्ति पनि असम्भव रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “वर्गमुक्तिसँगै श्रमिक महिलाहरुको पनि मुक्ति हुन्छ । त्यसका लागि श्रमिक महिलाहरु क्रान्तिकारी आन्दोलनमा संगठित भएर अगाडि बढ्न जरुरी छ ।”


त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतिले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विकसित नवीन परिस्थितिको ठोस विश्लेषण गर्दै क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन विचार मिल्ने कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सापेक्षिक रुपमा अहिलेको प्रतिकूल परिस्थितिमा बहिस्कार आन्दोलन मूलतः सफल भएको विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको अगाडि खडा चुनौतीको सामना गरेर अगाडि बढ्न वैचारिक रुपमा व्यापक बहसको खाँचो रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पनि क्रान्तिकारी कम्युनिस्टहरुबिचको एकतामा जोड दिनुभयो ।


क्रान्तिकारी महिला संगठन नेपालकी सहसंयोजक शारदा महतको अध्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुकु रणपालले गर्नुभएको थियो । कार्यक्रममा वैज्ञानिक समाजवादी महिला संगठनकी संयोजकले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने स्वागत मन्तव्य क्रान्तिकारी महिला संगठन नेपालकी सहसंयोजक मनु विकले राख्नुभएको थियो ।कार्यक्रममा महिला मुक्ति आन्दोलनको विषयमा अखिल नेपाल महिला संगठनकी सहसंयोजक प्रतिमा बजगाईले पनि बोल्नु भएको थियो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पार्टी कार्यालय कुपण्डोलमा भएको आठ मार्चको कार्यक्रममा तीनवटै महिला संगठनहरुले ‘दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध सम्पूर्ण महिलाहरु एक होऔं, ११६ औं श्रमिक महिला दिवस सफल पारौं’ भन्ने मूल नारा गरेका थिए । कार्यक्रममा तीनवटै महिला संगठन तथा पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा अघि बढाइएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको बताउनु भएको थियो ।


वक्तव्यमा भनिएको थियो, “यो बहिष्कार कार्यक्रममा कठपुतली सरकारको व्यापक दमनका बावजुद बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अभिवादन तथा धन्यवाद ज्ञापन गर्दछ । यो कार्यक्रमको दौरानमा गिरफ्तार हुनुभएका केन्द्रीय समितिको पोलिटब्यूरो सदस्यहरु सोमानसिंह तामाङ तथा सिताराम बुढाथोकी र केन्द्रीय समिति सदस्यहरु कर्णबहादुर बिसी, टिकाराम पौडेल र डिल्ली बोहोरा, वैकल्पिक केन्द्रीय सदस्यहरु नारायण न्यौपाने, रत्न ओली, बीरबहादुर पुन, रवि पाण्डे लगायत विभिन्न जिल्लाका प्रहरी हिरासतमा रहनुभएका सम्पूर्ण कमरेडहरुको यथाशीघ्र रिहाइको लागि जोडदार माग गर्दछौँ ।”