रङ्गीचङ्गी लयमा
कर्णप्रिय स्वरमा
सुन्दर बस्त्र धारण गरेर
मनै लोभ्याउने बाचा सुनाउँदै
जोश उराल्ने भाका सुनाउँदै
स्याल आउँदैछ
रफ्तार गतिमा
तिम्रो सुन्दर बस्तीमा
जस्ले निसहाय
कुखुराहरूलाई भनिरहेछ
आकाशमा हेर चील आयो
तिमी र तिम्रा चिचिलाहरूको काल आयो
तिमीहरू सुरक्षित हुने हौ भने
मसँग दौतरी गाँस
म तिम्रै जीवनरक्षाको गीत गाउँछु
मेरो वरिपरि छमछमी नाच
आउ प्रेमलाप गरौँ
नयाँ सम्बन्ध गासाँै
तिम्रो रक्षा र उन्नतिका लागि
म नै निर्विकल्प शक्ति हुँ
म नै सत्य न्याय र इमानको भक्ति हुँ
मेरा प्रत्येक शब्दमा ताली ठोक
अपराधी चीलहरूलाई गाली ठोक
मेरो आदर्श बोक
मेरो आदेश बोक
र, मेरा वाचाहरू घोक ।
ओ अन्धभक्त मतिहिन
गतिहिन कुखुराहरू !
कर्णप्रिय गायक
सुन्दर वस्त्रधारी
मनै लोभ्याउने वाचाकारी स्यालको
मस्तिष्कमा अतिसय नीचता
कुरूपता र पाखण्डता छ
तर, उसको मुखमा
उसको वाचामा
अतिसय महानता
सुन्दरता र उदात्तता छ ।
आकाशको पखेटा फिजाएर उड्ने
मांशहारी चील
तिम्रा लागि जति घातक छ
धर्तिमा चारखुट्टाले हिड्ने
अर्को भिन्न रूपको
मांशहारी स्याल पनि
कम्ता घातक छैन
कम हिस्रक छैन र निकृष्ट खालको
कम कृतघ्न छैन ।
चीलबाट भड्किएर
स्यालसँग लहसिनु
कुनै बुद्विमानी होइन
कुनै विकल्प होइन
चील र स्याल
दुवै तिम्रा महाकाल
दुवैबाट बच्ने
जुन असल जुक्ति हो
त्यो तिमीले सोच्नै पर्छ
त्यस्तो मार्ग खोज्नै पर्छ
दुवैका विरूद्व लड्नै पर्छ
जब लड्न छोड्छौ
तिमीहरू सबै मर्छौ मर्छौ
जहाँसम्म लडिरहन्छौ
त्यहाँसम्म निसन्देह बाँचिरहन्छौ ।
रुँघा, रुकुम पश्चिम






























