रोल्पाको मोहनी

रोल्पाको मोहनी

यात्रा संस्मरण

देशाटनको रहर लाग्नु मानव रुचिको विषय हो । घुमघाम गर्दा संस्कार, संस्कृति, समाज बुझ्न र सिक्न पाइन्छ । त्यसका लागि सामथ्र्य, सम्पत्ति र संगत चाहिन्छ । यसपटक मेरो जीवनसाथि पनि साथ लागिन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजना र क्रान्तिकारी कम्युनिस्ट पार्टी प्युठानको सहयोमा कवि गोष्ठी तथा विमर्श कार्यक्रम थियो । प्युठानको जुम्री बजारको होटल आयुष्मा मिनीहलमा पुराना र नयाँ कविहरूका कविताहरू गुन्जिए । कला साहित्यका पारखी बिच कविता, सौन्दर्य बारे विमर्श भए । माघ २३ को चिसोदिन घाम ओह्रालो लागेपछि कार्यक्रम समापन भयो ।

प्युठानको जुम्रीबाट निस्कँदा साँझको पाँच बजिसकेको छ । हामी स्वर्गद्वारी हुँदै रोल्पाको होलेरी, दहवन जाँदै छौं । चेरनेटाको बजारबाट ओह्रालो लागेपछि मनभित्र धेरै भाव सल्बलाए । प्युठानलाई पेटभर हेर्ने रहर अधुरै रह्यो । एकातिर समयको अभाव र अर्कोतिर शारीरिक अस्वस्थता, धनेश्वर पोखरेलको अट्टालिबाट दक्षिणतिरको हरियाली फाँट र झिम्रुक नदिलाई हेरेर चित्त बुझाइयो । खैरा फाँटको हरियाली मनै लोभ्याउने थियो ।
उहिल्यै २०३५—०३६ सालतिर ‘झिमरुक नदी र चिभेचराको गीत’ कविता पढिएको थियो, यसपटक सो नदी देखियो । प्युठान एक चरण नेपालको वाम आन्दोलनको शीर्ष स्थानमा उभिएको स्थल हो । नेपालको कम्युनिस्ट आन्दोलन मूलधारबाट विभिन्न चिरामा विभाजित भएपछि मोहन बिक्रम सिंह र मोहन बैद्यले क्रान्तिकारी धारालाई अघि बढाउन केन्द्रीय न्युक्लस गठन गरी क्रान्तिकारी धारालाई जोगाएका हुन् र त्यसै धाराको एक हिस्सा अहिलेको क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न आइपुगेको छ । मनको तरङ्ग लम्बिदै गएको थियो, अचानक गइपुगिएछ चकचके बजार ।

चकचकेमा इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको माओली भाइ टीकाराम भुसालको आतिथ्यमा चियाको चुस्की लिएर बाटो लाग्दा रातले स्वागत ग¥यो । एउटा बोलेरो भित्र हामी तेह्रौँको सङ्ख्यामा कोचिएका छौँ । भिङ्ग्री बजारमा पुगेपछि गुरुजीले वाहनका लागि आहाराको व्यवस्था गरे । गुरुजीसँगको हाम्रो सम्झौता अनुसार हामी सिधै स्वर्गद्वारी जाने थियो तर रातिको समय सो स्थलमा आवासको समस्या हुने भएकोले सम्झौता अनुसारको मार्गमा केही सुधार भयो । गुरुजीको जिरह थियो यात्रु सङ्ख्या १० र गन्तव्य स्वर्गद्वारी–होलेरी–दहवन हुँदै घोराही तर हामी तेह्रजना पो भयौँ । हाम्रो टोलीले गुरुजीलाई घाटा नबनाउने वचन दियौँ ।

चकचके लिवाङ सडकमा केहीबेर गुडेपछि हाम्रो वाहन धनवाङ खोलाको मुहानतिर मोडियो । अचिनारू भूगोल दायाँबायाँको दृश्य कतै देखिँदैन, अगाडि निष्पट्ट अँधेरो छ । धुलेबाटो उँग्दै गीत सुन्दै हामी गइरहेका छौँ । घरी हिरामणि गीतको भावको आशय जोडेर हामी बुढाबुढीलाई व्यङ््ग्य गर्नुहुन्छ ।

गीत प्रेमील छ, ‘झ्याप्पै आए बाहुनदाई जनै लाएर ।’ गाडीभित्र तागाधारी समुदायका तर जनै फालेका हामी आठजना छौँ । गीतका शब्दहरूले अन्तर समुदायको प्रेम बोल्छ तर हामी बुढाबुढीलाई घरिघरि झटारो झर्छ । झण्डै रातको ९ बजे हामी वीरबहादुर थापाको होमस्टेमा पुग्यँौं । वीर बहादुर प्युठानको क्रान्तिकारी कम्युनिस्ट पार्टीको सेक्रेटरी हुनुहुन्छ । उहाँको सौजन्यतामा हामी यहाँ आइपुगेका हौंँ । रैथाने उत्पादनको खानापछि रातको विश्राम गरियो । बिहान फेरि उकालोको यात्रा सुरू भयो । धनवाङ गाँउ सुन्तला उत्पादनको पकेटक्षेत्र रहेछ तर फल निख्रने याम

भइसकेकोले बोटहरू खालिखाली देखिन्थे । झण्डै दशबजे हामी स्वर्गद्वारीको फेदी धरमपानीमा उत्रियौँ ।
स्वर्गद्वारी एकसय तीस वर्षअघिदेखि धार्मिकस्थलको रूपमा चिनिएको ठाँउ रहेछ । डाँडाको उच्च भागमा रहेको र झण्डै डेढ किमि उकालो चढ्नुपर्दा रोगी र वृद्धलाई कठिन हुने रहेछ । त्यसैले हामी दम्पत्तिले घोडाको सहारा लियौं । स्वर्गद्वारी पुग्न उकालोको अत्यासले घोडाको सहारा लिनु परेकोमा मन एक प्रकारले उद्विग्न भयो तर समस्या के रह्यो भने म चढेको घोडा त म जस्तै बूढो रहेछ । मलाई हीनताबोध भयो । पहिलो पटक घोडाको सवार छ तर एकातिर बूढो घोडा र घोडा डो¥याउने बाबू पन्ध्रवर्षे किशोर छन् । नाउँ सन्तोष बि.क. बताए । उनी कक्षा पाँच उत्तीर्णपछि तिर्थालुहरूलाई घोडामा चढाएर आफू सयसको काम गर्दा रहेछन् । प्रति सवारी रू. एकसय उनको हात पर्ने रहेछ । माथि उक्लिएपछि प्राकृतिक सुन्दरताको दृश्यावलोकनले मन शान्त पार्ने रहेछ ।

नेपालका धेरैजसो धार्मिक पिठहरूमा माग्नेहरूको लहर देखिन्छ तर त्यहाँ मागेर जीवन चलाउने कुनै पनि मगन्ते देखिएन । न त आश्रम वरपर कुनै पसलहरू नै देखिए । धर्मको आडमा कमाउधन्धा गर्नेहरूलाई बर्जित गरिएको पो थियो कि । आश्रमको विशेषता आगन्तुक पाहुनाहरूलाई सशुल्क खाना र आवासको व्यवस्था रहेछ । हामीले बिहानको खाना त्यहीँ खायौँ । आश्रमबाट ओर्लिएर हामी होलेरिका लागी गाडी चढ्यौँ । ‘अब हामी रोल्पाको होलेरी जाँदै छौं’ हिरामणिको काशन थियो ।

मेरो चेतनामा रोल्पाले पहिलो प्रवेश पाएको २०३८ को चुनाव बहिष्कारले हो । त्यस अघि आकलझुकल नाउँ सुने पनि रोल्पासित जोडिएको भावना र आस्था थवाङले देखाएको निष्ठाले हो । मैले कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि सिकेको कुरा वस्तुको रूप वा सार बदल्न वल प्रयोगको सिद्धान्त अनिवार्य हुन्छ भन्ने हो । खास गरेर समाजमा विद्यमान रहेको राज्य व्यवस्थाका कुरूप विधि र नीतिलाई वर्गसङ्घर्षको माध्यमले बदल्न सकिन्छ भन्ने माक्र्सवादी मान्यतामा रोल्पाले देखाएको बाटो सही थियो । त्यसैलाई पच्छयाउँदै देशैभरी वर्गसङ्घर्षको आगो दन्किएको थियो ।

२०३८ पछिका केही गीतहरूले रोल्पाको बिम्ब झन् गहिरो हुँदै आयो । लेखराज रेग्मीले रचना गरेका ‘त्यो काख जलजलाको फौजी परेड खेल्दा होस्’ या कुलानन्द गिरीको रचना खुसिरामाले गाएको ‘हाम्रो रोल्पामा पुलिसहरू पसेर झिटिझ्याम्टा गरिबका लगे लुटेर’ भन्ने गीतले होस् रोल्पाप्रति श्रद्धा र माया जागेको थियो । त्यो गीत मैलेपनि धेरै पटक गाएको थिएँ । साथै रोल्पालाई बिम्ब मानेर लेखिएका कयौं कविता र संस्मरणले वर्गबैरीप्रतिको आक्रोश चुलिएको थियो । मैले पनि नाउ सुनेकै आधारमा रोल्पाका केही ठाउँहरूको बिम्ब प्रयोग गरेको छु । रोल्पालाई अन्तरवस्तु वा बिम्ब बनाएर गीत, कविता, कथा र निबन्ध लेख्ने श्रष्टाहरू थुप्रै छन् । कृष्णसेन, ऋषिराज बराल, मणि थापा, यज्ञ डाँगी, हिरामणी दुःखी, अनिल श्रेष्ठ, नविन विभाष र अरूहरू । केही श्रष्टाहरूले शाहदत लिए भने कोही आन्दोलनबाट पर छन् । हो, कतिपय श्रष्टाहरू अझै आन्दोलनमा छन् ।
धरमपानीदेखि पश्चिम लागेपछि केही दुरी कालोपत्रे सडक थियो, सायद त्यो स्वर्गद्वारीको भूभाग हुँदो हो । स्वर्गद्वारी नपा समाप्तिपछि रुण्टिगढी गाँउपालिका प्रवेश गरियो । स्वर्गद्वारी आश्रमका संस्थापक खत्री बाजेको जन्मस्थल (महाप्रभु जसको नाम नारायण गौतम) त्यही रुण्टिगढी रहेछ । कुन शक्ति वा लहडले उनलाई त्यो चुचुरोमा पु¥यायो हामीले त्यहाँ सोधिखोजी गर्न पनि उपयुक्त पात्र भेटेनौ र हामी धर्मको चेष्टाले नभै प्राकृतिक र ऐतिहासिक दृश्यावलोकन गर्ने पर्यटक थियौँ । बाटोमा कतै सल्लाघारी कतै पातलो वस्ती हुँदै कच्चिबाटोको धुलो उडाउँदै हामी गुडिरहेछौँ । हाम्रा पथप्रदर्शक हिरामणी हाम्रा जिज्ञासाको उत्तर दिइरहनुभएको छ । रुण्टिगढिको थुम्काथुम्कीमा ठिङ्ग उभिएका खोटेसल्लाका बोटहरू मन्द गतिमा बहेको वायुसित वयेली खेलिरहेका छन् । सल्लाका पातहरूको मीठो सुसाइले मन लोभ्याउँछ । कतै देखिएका पातला घरहरूको अघिपछि हिउँदे बालिको रमाइलो दृश्य देखिन्छन् । आलु, काउली पिँडालु र अदुवा अनि गहुँ बालिले हाम्रो निर्वाहमुखि उत्पादनको झल्को दिन्छ । यहि त हो गाउँ हुनुको सौन्दर्यको लय । यी प्यारा गाउँ र गाउँलेहरूको सुन्दरता सलाम गर्न लायक छ ।

सार्वजानिक यातायातको नाउँ बस र त्यसभित्रको सिट भएर पनि उभिएर यात्रा गर्नुपर्ने हामी नेपालीहरूको वाध्यता छ । सो बाध्यता जस्तै हाम्रो वाहनमा पनि उभिएर यात्राको सकस व्यहोर्न बाध्य अनिल श्रेष्ठ र नारायण शर्मा विपिनको कष्ट हामी बुझ्दैनौ । न त नन्दीश अधिकारीको ढाड दुखाईको पीडा नै बुझेका छौँ । गाडीभित्र मित्रलाल र जगदीशको अन्तर संवाद घ्यारघ्यार आवाजले खाइदिएको छ । आँखाले खालि रोल्पाको सौन्दर्यमा मोहित पान गर्छ ।

रोल्पा, एकयुगसम्म सत्ताको आतङ्क बन्यो भने मुक्तिकामी जनताको सुन्दर बिम्ब । नेपाली धर्तिमा वर्गसङ्घर्षको थालनी रोल्पा र रुकुमले ग¥यो र त वर्तमानले सीमित प्राप्ती लियो । भलै, अझै अरू लिनु छ र त्यसको सुरुआती पनि रोल्पाले गरोस् । होलेरी बजारको बिच सडकमा उभिएर उत्तरतिर नजर लगाउँछु र चुनु गुरुङले लेखेर गाएको गीत सम्झन्छु ‘तिमीसित गहिरो माया बस्यो जलजला …..’ । मलाई रोल्पाका प्रत्येक गाउँ डुल्ने र ती महान् सहिदहरूका बा–आमाहरूलाई भेट्ने रहर छ तर मसङ्ग त्यो समय, उमेर र ताकत सबै छैन । केवल जिजीवीषा मात्र बाँकी छ । ‘किन चाउरिस मरिच आफ्नै पिरोले’ जस्तो भएको छु ।

रोल्पाले हिजो देखेको सपना खण्डिकृत भएपछि अहिले अरूहरू झैँ भौंतारिन थालेको छ होला ? हिजोका ती लडाकु योद्धाहरू पराय मुलुकमा रोजिरोटिका लागी धाएका होलान् । यो तथ्याङ्क कसले लिएको होला र ! हिजोका भिषण द्वन्द्वमा छापामारहरूलाई पोल्टामा मकै भटमास पोको पारेर जङ्गलको ओढारमा पु¥याउने आमा दिदीहरूको चित्तले के ठान्दो हो ! अचानक तुहिएको सपना देखेर । ती वर्गसङ्घर्षका दिनहरूमा यस्तै सोचेका थिए होलान् र ? त्यतिबेला बन्दुक उठाउने हातहरू अहिले कुन मुलुकमा श्रम बेच्दै होलान् ? त्यो दमन र गोली बारुदको धुवाँ पचाएका ती सहिद बेपता घाइते परिवारको धैर्यको बाँध भत्कियो भने फेरि अर्को भुमरी नउठ्ला भन्न कहाँ सकिन्छ र ।

मनमा उत्साह भएर पनि शरीरले साथ नदिदा कयौँ रहरहरू अधुरा हुने रहेछन् । साथीहरू होलेरीको सेरोफेरो डुल्न गए । सम्पदा बनेर उभिएको पुरानो चौकी पुगेर फर्किए । हामी बुढाबुढी बजारछेउमा उभिएर उत्तरी पहाडसित आँखा जुधाएर एकछिन मौन रह्यौँ । त्यो प्यारो थवाङ र जेलवाङ कृष्णसेनले कवितामा उल्लेख गर्नुभएको दारबोटको जङ्गल सबै छलिए, सबै छोडिए । पैताला होलेरी बजारमा अडिए । समय घर्किदै गएकाले उता दहवन नपुग्दै घोराही झर्नुपर्ने भयो । होलेरी ! तिमीले शिल्यानास गरेको यात्रामा एउटा इटाको टुक्रा मैले पनि थपेको थिएँ । तिम्रो वीरताको इतिहास अजम्बरी होस् ।