आँखाको पट्टी खोल, दिमागको बत्ती बाल
भावनामा होइन, विचारमा गढिएर कदम चाल
पतिङ्गर होइन, आँधीले नहल्लाउने सतिसाल बन
छेपारेहरु धोकेबाज हुन्छन्, आफ्नो बाटो आफै खन
छद्म–व्यापारीहरु फेरि गाउँ छिरेका छन्, बिकाउ माल नबन
चटकेहरुबाट साबधान, आफै जाकिने खाल्डो नखन
विषाक्त हावाहुरी चलेको छ, झ्याल ढोका बन्द राख
बैरीको लालचमा नफस, बचाउँ आमाको न्यायो काख
लड्नै बाँकी छ एउटा लडाइँ, गरिखानेको सुदिन ल्याउन
स्वाधीन र आत्मनिर्भर जनसत्ता, सुन्दर क्षितिज चिहाउन
विदेशी हस्तक्षेप र स्वदेशी दलाल जनवैरी हुन्, बेलैमा चिन्नैपर्छ
जनताको तागत अजेय हुन्छ, दलालको हातबाट सत्ता छिन्नैपर्छ





















