कविता : होसियार ! होसियार ! होसियार !

कविता : होसियार ! होसियार ! होसियार !

हुकुमबहादुर सिंह

ए भोका नांगा उत्पीडित नेपालीहरु !
झुसिल्कीराझै लाम लागेर कहाँ जादैछौ ?
के पाउने आशामा लाम लागेका छौ ?
किन भरयाङग बनिरहेका छौ ?
वर्गीय शत्रुलाई माथि माथि पुराउन ।
जसका पछाडि लाम लागेका छौ
त्यो तिम्रो मित्र होइन ।
त्यसका पछाडि लागेर
तिम्रो र तिम्रो वर्गको मुक्ति सम्भव छैन ।

संसदीय व्यवस्था तिम्रो बाटो होइन
तिम्रो लागि त्यो तिम्रो सत्ताको व्यवस्था होइन
किन समय वर्वाद गर्दैछौ ए भोका नांगाहरु !
आफनो मुक्तिका लागि चिन
को हुन ? मित्र शक्ति
को हुन ? तिम्रा वर्गीय मित्रहरु र
को हुन ? तिम्रा वर्गीय सत्रुहरु

त्यो तिम्रो खलियान होइन
जहाँ तिमि नयाँ पौधा उमार्न पाउने छौ ।
यो तिम्रो वर्ग नै होइन
जसबाट तिमीले वर्गीय मायाँ पाउने छौ ।
जहाँ तिमी स्वतन्त्रतापूर्वक हिंडन पाउने छौ

तिमी त एउटा उत्पीडित जाति हौ
उत्पीडित लिंग हौ, उत्पीडित क्षेत्रका हौ
तर किन वर्गीय पक्षधरताभन्दा तल झरेर
उत्पीडकको लागि भरयांग बनेर दौडिरहेका छौ ?

अमेरिका र भारतका पूँजीपति बर्गका दलाल
नेपाली दलालहरुलाई किन सहीछाप गरेर दिन्छौ
नेपाल र नेपालीको स्वाभिमान र अस्तित्व ध्वस्त पार्न
झुसिल्कीराझै लाम लागेर
स्वागतका लागि बुख्याँचा झै खडा छौ जताततै
फागुन २२ पछि तिमलाई तिनीहरु कसैले वास्ता गर्ने छैन ।

संसदीय निर्वाचनको नौटंकीमा आफ्रूलाई समाहित गरेर
आखिर के पाउँछौ ? त्यसो गरेर
चिन आफ्नो वर्ग चिन
आफनो वर्गका लागि काम लाग्ने सिद्धान्त रोज, विचार रोज
पुँजीपतिको विचार र सिद्धान्त — संसदीय व्यवस्था बोकेर
कसरी मुक्ति मिल्छ ? एउटा गरीव किसान मजदुरको लागि

एउटा गरीव किसान मजदुरका लागि त
वेग्लै विचार छ, वेग्लै सिद्धान्त छ
छ वेग्लै पार्टी र सत्ता
अहिलेको सरकार र सत्ता तिम्रो लागि होइन,
यो त नेपालका दलाल पुँजीपति वर्गका लागि हो ।
किनभने संसदीय व्यवस्थाको सरकार र सत्ता त
सधैभरी दलाल पुाजिपति वर्गका लागि बनेको हुन्छ ।
त्यसैले त तिम्रा लागि माक्र्सवाद अजय बनेर खडा छ
लेनिनवाद र माओवाद जन्मेको छ ।

हुनत माक्र्सवाद भन्दै संसदीय आहालमा लैजान लागेका
आफ्रूलाई कम्युनिस्ट भन्नेहरु नी छन् त्यहाँ ।
लेनिनवाद र माओवाद हाम्रो विचार र सिद्धान्त हो भन्दै
त्यही संसदीय आहालमा बर्षौदेखि डुवुल्की मार्दै
आएका कम्युनिस्ट भन्नेहरु पनि छन् ।

संसदीय आहालमा पौडी खेल्दै क्रान्तिको
भ्रम छर्नेहरुबाट जोगिन झन कठिन छ ।
कुनैपनि बाहनामा संसदीय आहालमा
लैजान खोज्नेहरुबाट होसियार
सानै भएनी कमजोर देखिएनी
संसदीय व्यवस्थाका विरुद्ध गर्जने कम्युनिस्टहरु नै
तिम्रा मित्र हुन,साथी हुन , हुन अनि तिम्रा कमरेडहरु

हो नेकाँका गगन थापाले भन्दै छ
नेकाँ गरीवको पार्टी होइन
खाना नपुग्नेको पार्टी होइन
यो त धनीको पार्टी हो
घोडा गाडी चढनेको पार्टी हो ।
त्यस्तो पार्टीलाई तिमीजस्ता गरीव किसानले किन भोट हाल्ने ?
चाहे काँग्रेस, चाहे कम्युनिस्ट चाहे राप्रपा वा रास्वपा
संसदीय आहालमा पौडी खेल्न रमाउनेहरु
त्यसमा रमाएरनी
क्रान्तिको भ्रम दिन खोज्नेहरुदेखि होसियार !
होसियार ! होसियार ! होसियार !
२०८२ फागुन ४ बागडोल लपु