कमला नेपालीका दुई कविता

कमला नेपालीका दुई कविता

कविता

म श्रीमती

म श्रीमती हुँ,
नामभन्दा पहिले
जिम्मेवारीले चिनिने।
विवाहपछि
सम्मान एकैचोटि हराउँदैन,
बिस्तारै
बोलाइबाट झर्छ।
पहिले मेरो कुरा सुन्नुहुन्थ्यो,
अहिले बीचमै काट्नुहुन्छ।
पहिले आँखा पढ्नुहुन्थ्यो,
अहिले शब्द पनि भारी लाग्छन्।
म धेरै माग्दिनँ,
न सुनको सपना,
न ठूलो दरबार—
मलाई त
दुई शब्द आदरका
र थोरै साथ चाहिन्छ।
म चुप बस्छु भने
कमजोर होइन,
सम्बन्ध जोगाइरहेकी हुँ।
तर सम्झनुहोस्,
माया मात्रले होइन,
सम्मानले घर टिक्छ।
एकदिन
यदि मेरो मौन टुट्यो भने,
त्यो रोएको आवाज होइन,
आफ्नो मूल्य सम्झिएको
श्रीमतीको गर्जो हुनेछ।

हाम्रो आवाज

हामी श्रीमान् विदेश पठाउन चाहँदैनौँ,
हामी घरमै भविष्य चाहने महिला हौँ।
काख रित्तो पारेर
देश धान्ने जिम्मा
हामीले लिएका होइनौँ।
श्रीमान् परदेशमा छन्,
यहाँ घर, बच्चा र प्रतीक्षा
मेरो काँधमा छ।
यो बलियोपन होइन,
यो बाध्यता हो।
नेताले परिवर्तन भने,
तर हाम्रो जीवनमा
अझै बाटो कुराइ छ।
भाषण धेरै सुनेँ,
काम अझै देखिनँ।
हामीलाई दया चाहिँदैन,
हामीलाई
घरमै रोजगारी चाहिन्छ।
टिकट होइन,
सम्मानित जीवन चाहिन्छ।
यो मेरो मात्रै होइन,
हजारौँ महिलाको गर्जो हो—
देश बनाऊ,
हाम्रो घर नफुटाऊ ।