काठमाडौं । जेनजी विद्रोहपछि गठित सुशिला कार्की नेतृत्वको सरकारले विरोधी तथा फरक विचार राख्ने राजनीतिक पार्टीप्रति फासिवादी दमनमा उत्रने संकेत गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र रुपी संसदीय संविधान प्रदत्त विचार अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउँदै सुशिला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण रुपमा फागुन २१ को निर्वाचन बहिस्कारको पर्चा वितरण गर्दै हिडिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यलाई माघ १६ गते सिन्धुलीबाट गिरफ्तार ग¥यो । गिरफ्तार गरिएका नेता खड्कालाई गैरकानुनी रुपमा थुनामा राखी झुठा मुद्दा लगाउने षड्यन्त्र गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । दुईदिनदेखि रिहाइका लागि सिन्धुलीको जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पहल गर्दा पनि रिहाइ गरिएको छैन । स्रोतका अनुसार उल्टै राज्यविरुद्धको अपराधको मुद्दा दायर गर्ने षड्यन्त्र गरिरहेको छ । राज्यले यस्तो षड्यनत्र गरेपछि नेता खड्काको परिवार र सम्बन्धित पार्टीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको छ ।
आइतबार विहान पनि रिहाइका लागि पहल गर्दा माथिको आदेश भन्दै रिहाइ गर्न नमानेपछि ससम्मान रिहाइका लागि रिट दायर गरिएको अधिवक्ता फडिन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले पुर्ण बहादुर खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेकोले तुरून्त अदालत समक्ष सशरिर उपस्थित गराई गैरकानूनी थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो ।
दुधौली नगरपालीका वडा नं ९ खोरभनुज्याङको एक चिया पसलमा स्थानीय जनतासँग कुराकानी गरेर बसीराखेकै अबस्थामा बिनाकारण प्रहरीले पक्राउ गरेको थियो । हाल नेता खड्कालाई ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीको हिरासतमा राखिएको छ । प्रहरीले आगामी फाल्गुन २१ गते हुने संसदिय निर्वाचन बहिष्कार गर्नुपर्छ भनि बहिष्कारको पर्चा वितरण गरेकाले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशन र जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको आदेशमा पक्राउ गरिएको हो भन्ने मौखिक जवाफ मात्र दिने गरेको छ ।
नेता खड्कालाई प्रहरीले पक्राउ गरेलगत्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले तत्काल रिहाइ गर्न माग गर्दै वक्तव्य दिनु भयो । वक्तव्यमा भनिएको छ, “हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गर्ने राजनीतिक निर्णय गरेको विदितै छ । सोही निर्णय कार्यान्वयन गर्ने क्रममा आज पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज क. पूर्णबहादुर खड्कालाई कठपुतली बर्बरा सरकारको प्रशासनले सिन्धुली जिल्ला, दुधौलीबाट विना कारण गिरफ्तार गरिएको घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, १० नं. क्षेत्रीय व्यूरो घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार केन्द्रीय सदस्य कमरेड क. पूर्ण बहादुर खड्कालाई विना शर्त रिहाइको अनुरोध गर्दछ तथा चुनाव बहिष्कारको अपिल गर्न पाउने जनताको लोकतान्त्रिक नैसर्गिक अधिकारको सम्मान गर्न बार्बरा सरकार तथा प्रशासनलाई चुनौती सहित यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछु ।”
त्यसैगरी पूर्णबहादुर खड्कालाई बिनाशर्त तुरुन्त रिहाइ गर्न संयुक्त संघर्ष समितिले पनि गम्भीर चेतावनी दिएको छ । पाँच वटा वाम घटक सम्मिलित संयुक्त संघर्ष समितिको तर्फबाट संयोजक गौरवले एक वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो ।
वक्तव्यमा भनिएको छ, “हामी देशका पाँच कम्युनिस्ट पार्टीहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले जनजी विद्रोह पश्चात् बनेको कठ्पुतली सरकारले घोषणा गरेको एकथान संसदीय निर्वाचनबाट नेपाली समाजको आजको अन्तरविरोध हल हुँदैन भन्ने निष्कर्षसहित निर्वाचन बहिस्कार गर्न शान्तिपूर्णरुपमा संघर्षको कार्यक्रमहरु गर्दै आइरहेका छौं ।
यसै सन्दर्भमा यही माघ १६ गते सिन्धुलीको दुधौलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्कालाई शान्तिपूर्ण कार्यक्रम सकेर फर्कदै गर्दा गिरफ्तार गरिएको घटनामा संयुक्त संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारसँग शान्तिपूर्ण संघर्षका कार्यक्रममा हस्तक्षेप नगर्न र कमरेड पूर्णबहादुर खड्काको बिना शर्त तुरुन्त रिहाइ गर्न संयुक्त संघर्ष समिति गम्भीर चेतावनी दिन चाहन्छ ।”
यस्तो छ बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाऊँ भनि सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन
श्री सर्वोच्च अदालतमा पेश गरेको
निवेदन–पत्र
विषय ः– बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाऊँ ।
बागमती प्रदेश‚ दोलखा जिल्ला साविक मालु गा.वि.स.वडा नं.५ को परिवर्तित ऐ. तामाकोशी गाउँपालिका वडा नं. ४ घर भई हाल प्रहरी चौकी दुधौली‚ सिन्धुलीको गैरकानुनी हिरासतमा रहेका क्रान्तिकारी कम्यूनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य वर्ष ६७ को पूर्ण बहादुर खड्काको हकमा निजको छोरा दोलखा जिल्ला साविक मालु गा.वि.स.वडा नं.५ को परिवर्तित ऐ. तामाकोशी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को भगवान खड्का मोबाईल नं. ९८४४३९९८४६………………………………………………..१
विरुध्द
नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार‚ काठमाडौ…………………………..१
प्रहरी प्रधान कार्यालय‚ नक्साल काठमाडौ………………………………………१
जिल्ला प्रशासन कार्यालय‚ सिन्धुली……………………………………………..१
ऐ. का प्रमुख जिल्ला अधिकारी…………………………………………………..१
श्री जिल्ला प्रहरी कार्यालय‚ सिन्धुली…………………………………………….१
ऐ. का प्रमुख………………………………………………………………………….१
ईलाका प्रहरी कार्यालय‚ डकाहा‚ सिन्धुली ……………………………………..१
ऐ.का प्रमुख…………………………………………………………………………..१
म निवेदक निम्लिखित व्यहोराको निवेदन गर्दछु ः–
१. म निवेदक नेपालको संविधानको धारा १६ (१), धारा १७ (१) र (२) को (क) (ख), (ग), (ङ), (च), धारा १८ (१), धारा २० (१), (२), (३), (५)‚ (८), धारा २२, धारा ४६, धारा १३३ (२) र (३), न्याय प्रशासन ऐन, २०७३ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३३, ३४ र ३७ समेतका आधारमा अन्य वैकल्पिक एवं प्रभावकारी उपचारको विकल्पको अभावमा गैह्र कानूनी रुपमा थुनामा राखिएको व्यक्ति पूर्ण बहादुर खड्का मेरो पिता भई सरोकारका व्यक्ति भएको हुँदा उहाँको हकमा प्रस्तुत निवेदन लिई उपस्थित भएको छु ।
२. गत मिति २०८२÷१०÷१६ गते शुक्रबारका दिन क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय कार्यक्रम अनुसार पार्टीका केन्द्रीय सदस्य‚ दोलखा जिल्ला इन्चार्ज तथा तथा १० नम्बर ब्यूरो सचिवालय सदस्य पूर्ण बहादुर खड्का पार्टीकै निर्देशन र अनुमतिमा सिन्धुली जिल्लाको दुधौली क्षेत्रमा जनतासँगको भेटघाट कार्यक्रममा जानुभएको हो । यसरी म निवेदकका बुबा पूर्ण बहादुर खड्कालाई आयोजक पार्टीको केन्द्रीय सदस्यको हैसियतले जनतासँगको भेटघाट कार्यक्रममा सहभागी भई पर्किने क्रममा सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं.९ खोरभनुज्याङ बजारको एक चिया पसलमा स्थानीय जनतासँग कुराकानी गरेर बसिरहेकै अवस्थामा उक्त दिन अं.१२ः३० बजेको समयमा प्रत्यर्थी महानगरीय प्रहरी प्रभाग दुधौलीबाट खटिई आएका केही प्रहरीहरुद्वारा पक्राउ गरियो । हाल निज बुबा पूर्ण बहादुर खड्कालाई प्रहरी चौकी दुधौली‚ सिन्धुलीको हिरासतमा राखिएको थाहा जानकारी भयो । उक्त प्रहरी कार्यालयमा गई वहाँलाई पक्राउ गरिएको कारण सम्बन्धमा जानकारी माग्दा वहाँ क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका केन्द्रीय स्तरका नेता भएको र घर तथा बजार पसलमा गई त्याहाँको समग्र जनताको जनजिविका र आगामी मिति २०८२ साल फाल्गुन २१ गते हुने निर्वाचन बहिष्कार गर्नुपर्छ भनी बहिष्कारको पर्चा वितरण गरेकाले प्रत्यर्थी निकायहरु गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशन र जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको आदेशमा पक्राउ गरिएको हो भन्ने मौखिक जवाफ दिईयो । हाल उल्लेखित प्रत्यर्थीहरुको प्रत्यक्ष निर्देशन र आदेशमा म निवेदकको बुबा निज पूर्ण बहादुर खड्कालाई बिना आधार, विना कारण पक्राउ गरी पक्राउपुर्जी समेत नदिई गैरकानुनी थुनामा राखी हामी परिवारका सदस्य र आफन्तलाई समेत सहज रुपमा भेटघाट गर्न दिईएको छैन । उहाँलाई शारिरिक तथा मानसिक यातना दिइएको आशंका समेत रहेको छ ।
३. प्रत्यर्थीहरुद्वारा म निवेदकका बुबा पूर्ण बहादुर खड्कालाई आजका मितिसम्म पनि गैरकानुनी हिरासतमा राखिएको छ । वहाँलाई झुठ्ठा आरोप लगाई अनुसन्धानको लागि भनी नियन्त्रणमा लिई हिरासतमा राखिएको छ । वहाँलाई के कुन कसुरमा पक्राउ गरिएको हो ? हालसम्म के कति अनुसन्धान कार्य सम्पन्न भयो ? भन्ने समेत जानकारी दिइएको छैन । आजका मितिसम्म पनि निज बुबा पूर्ण बहादुर खड्काका विरूद्ध कुनै मुद्दा दायर गरेको थाहा जानकारी छैन ।
४. पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी निज बुबा पूर्ण बहादुर खड्कालाई क्रान्तिकारी कम्यूनिष्ट पार्टी, नेपालमामा आबद्ध भई फरक विचार र आस्था राखेकै आधारमा चिया पसलमा चिया खाँदै गर्दा प्रत्यर्थीहरुद्वारा पक्राउ गरिएको हो । निज बुबाले कुनै पनि गैरकानूनी काम गर्नु भएको छैन । प्रत्यर्थीहरुको गैरजिम्मेवार काम कारबाही हेर्दा निज बुबालाई हिरासतमा मानसिक एवं शारिरिक यातना दिई राखिएको आशंका विद्यमान हुँदा प्रस्तुत निवेदन लिई सम्मानित अदालत समक्ष उपस्थित भएको छु ।
५. विचार र आस्थाकै आधारमा म निवेदकका बुबा पूर्ण बहादुर खड्कालाई पक्राउ गर्ने प्रत्यर्थीहरुको उल्लेखित कार्य राज्यशक्तिको दुरुपयोग र बदनियत र प्रवृत्त भावनाबाट प्रेरित रहेको प्रष्ट देखिन्छ । बिना आधार र कारण पक्राउ गरी थुनामा राख्ने प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय, सिन्धुली समेतका प्रत्यर्थीहरुको गैरकानुनी कार्यबाट म निवेदकको बुबा पूर्ण बहादुर खड्काको नेपालको संविधानको धारा १६(१), धारा १७ (१) र (२) को (क), (ख), (ग), (ङ), (च), धारा १८ (१), धारा २० (१), (२), (३), (५) (८), धारा २२, समेत द्वारा प्रदत्त मौलिक हक अधिकार कुण्ठित हुन पुगेको छ ।
६. म निवेदकका बुबा पूर्ण बहादुर खड्कालाई बिना कारण पक्राउ गरी गैरकानूनी थुनामा राखेबाट निजको संविधानद्वारा प्रदत्त वैयक्तिक मौलिक हकको हनन भएकोले निजलाई तुरून्त सम्मानित अदालत समक्ष सशरीर उपस्थित गराई गैरकानूनी थुनाबाट मुक्त गर्न उल्लेखित प्रत्यर्थीहरूका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ को (क) र (ख) समेतका आधारमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाऊँ ।
७. प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्र पर्दछ ।
८. यस सम्बन्धमा अन्य कुनै पनि अदालतमा निवेदनपत्र पेश गरेको छैन ।
९. हाल कानून वयवसायी नियुक्त गरेको छैन ।
१०. यस विषयमा अन्यत्र उजुर गरेको छैन ।
११. निवेदनसाथ संलग्न कागजातहरु ः
(क) क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय समितिले जारी गरेको विज्ञप्तिको प्रतिलिपि १ प्रति ।
(ख) क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १० नम्बर ब्यूरोले जारी गरेको विज्ञप्तिको प्रतिलिपि १ प्रति ।
(ग) जन बिहानी डिजिटल पत्रिकामा प्रकाशित समाचारको स्क्रिनसर्टको प्रतिलिपि ३ प्रति ।
(घ) नेपाली नागरिकताको प्रतिलिपि २ प्रति ।
१२. यसमा लेखिएको व्यहोरा ठिक साँचो छ‚ झुठ्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदक
पूर्ण बहादुर खड्काको हकमा निजको एकाघरको छोरा भगवान खड्का…………
इति सम्वत २०८२ साल माघ महिना १८ गते रोज १ शुभम् ……………………………………..।
































