काठमाडौं । २८ पुसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग टोली काठमाडौं चन्द्रागिरि नगरपालिका ८ स्थित अन्नपूर्ण मिनरल वाटर इन्डस्ट्रिज पुग्यो ।
अनुगमन क्रममा उपभोक्ताले ‘शुद्ध’ भन्दै पैसा तिरेर पिउने पानीका जारहरू फोहोर र अस्वस्थकर भेटिए । पुराना, जताततै कोत्रिएका र भित्र लेउ जमेका ४० थान जारमा पानी भरेर बजार पठाउने तयारी भइरहेको थियो ।
विभाग टोलीले ती जार तत्कालै नष्ट त गर्यो, तर त्यसअघि कति हजार लिटर ‘लेउ र फोहोरयुक्त पानी’ उपभोक्ताको पेटमा पुगिसक्यो होला ? यसको हिसाब कसैको डायरीमा छैन । यो केवल एउटा उद्योगको लापरबाही मात्र होइन, नेपाली बजारमा व्याप्त अखाद्य र गुणस्तरहीन वस्तुकोे साम्राज्यको एउटा कुरूप तस्वीर हो ।
पछिल्लो समय विभागले गरेका शृङ्खलाबद्ध अनुगमनका प्रतिवेदन केलाउने हो भने डरलाग्दो तथ्य बाहिर आउँछ( नेपाली बजारमा दैनिक उपभोग्य वस्तुमा अखाद्य र गुणस्तरहीनताको दबदबा छ ।
तरकारीका नाममा दिनहुँ भान्सामा पाक्दै विषादी
पछिल्लो १५ दिनका घटनाक्रम सरसर्ती हेर्ने हो भने उपभोक्ताले पैसा तिरेर दिनहुँ ‘स्लो प्वाइजन’ मन्द विष खाइरहेको पुष्टि हुन्छ । उपभोक्ताले ‘ब्रान्ड’ भनेर विश्वास गर्ने वस्तुहरू नै सबैभन्दा बढी असुरक्षित देखिएका छन् ।
२५ पुसमा काठमाडौं चन्द्रागिरि १२ स्थित महालक्ष्मी दालमोठ उद्योगबाट उत्पादित ‘भालेश्वर ब्रान्ड’ को २ हजार ५ सय ९८ प्याकेट दालमोठ विभागको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा खाल्डो खनेर पुरेको छ ।
झट्ट हेर्दा आकर्षक प्याकेजिङ, लोकप्रिय नाम र बजारमा सहजै उपलब्ध हुने त्यो दालमोठ प्रयोगशालामा परीक्षण गर्दा ‘न्यूनस्तर’ को र अखाद्य प्रमाणित भएको थियो ।
३० पुसमा विभागले झापा कमल गाउँपालिकास्थित ‘हाइजेन प्याक्स नेपाल’ को ‘हाइजेन रुस’ म्यांगो ड्रिंक ब्याच एनएमआर १०७ एम १ लाई बजारबाट फिर्ता गर्न निर्देशन दियो । कारण थियो( त्यसमा हुनुपर्ने ‘कुल घुलनशील ठोस पदार्थ’ को मात्रा सरकारले तोकेको मापदण्ड भन्दा कम हुनु ।
त्यतिमात्र होइन, २५ पुसमा सार्वजनिक प्रतिवेदन अनुसार काठमाडौंको ‘रेबोट स्प्रिङ्स मिनरल वाटर’ को जुस र बर्दियाको ‘आनन्द ड्रिंकिङ वाटर’ को जारको पानी पिउनै अयोग्य भेटिए । झापाको ‘रोयल आसाम’ चिया ९ब्याच डब्लुसी३३०पी० गुणस्तरहीन पाइएपछि यसको बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
‘अर्गानिक’ र ‘इलाम’ का नाममा ठगी
बजारमा अहिले ‘अर्गानिक’ शब्द व्यापार गर्ने सजिलो अस्त्र बनेको छ । २४ पुसमा पुरानो बानेश्वरको शनिबारे हाटबजारमा भएको अनुगमनमा ‘इलामको नौनी’ भन्दै लेबलविहीन घिउ बिक्री भइरहेको थियो । न उत्पादकको ठेगाना, न ब्याच नम्बर, न त उपभोग्य मिति । उपभोक्तालाई ‘गाउँको शुद्ध उत्पादन’ भन्दै झुक्याएर अखाद्य बोसो वा रसायन मिसाइएको सामग्री भिडाउने काम भइरहेको छ ।
गत २५ मंसिरमा विभागले गरेको अनुगमनमा नाङ्लो बेकरीको ‘क्रोइसेन्ट’ स्वास्थ्यका लागि जोखिमपूर्ण भेटियो । नाङ्लोको ब्याच नम्बर १ को क्रोसन्टमा सरकारले तोकेको सीमाभन्दा बढी ‘ट्रान्स फ्याट’ पाइएको थियो ।




























