नेपालमा आसन्न निर्वाचनलाई लिएर व्यापक प्रचार–प्रसार गरिँदैछ। यसलाई “नियमित”, “संवैधानिक” र “लोकतान्त्रिक” प्रक्रिया भनेर जनतामाझ प्रस्तुत गरिएको छ। तर वस्तुगत यथार्थ यसको ठीक विपरीत छ। नेपाल कम्युनिस्ट पार्टी स्पष्ट रूपमा घोषणा गर्दछ , यो निर्वाचन नेपाल स्वाधीन राष्ट्रले आफ्ना नागरिकको सार्वभौम अधिकार प्रयोग गर्न आयोजना गरेको नियमित वैधानिक निर्वाचन होइन। यो जेन्जी विद्रोहको नाममा योजनाबद्ध घुसपैठ गराई, विदेशी शक्ति केन्द्रहरूको प्रत्यक्ष बल र निर्देशनमा स्थापना गरिएको अबैधानिक शुशिला सरकारद्वारा अघि सारिएको राजनीतिक परियोजनाको निरन्तरता हो।
यस निर्वाचनको परिणाम के हुने भन्ने कुरा मतदान हुनु अघि नै प्रष्ट भइसकेको छ। त्यसैले यस्तो निर्वाचनमा सहभागी हुनु न त राजनीतिक रूपमा अर्थपूर्ण छ, न त वैचारिक रूपमा सही। बैज्ञानिक दृष्टिकोणले स्पष्ट गर्छ, राज्य संयन्त्र स्वतन्त्र हुँदैन। राज्य सधैँ कुनै न कुनै वर्गको शासनको औजार हुन्छ। त्यसैले निर्वाचनलाई प्राविधिक वा कानुनी प्रक्रियाका रूपमा हेर्नु भ्रम हो। निर्वाचनको चरित्र राज्यसत्ताको चरित्रबाट निर्धारित हुन्छ। आज नेपालको राज्यसत्ता दलाल पूँजीवादी वर्ग र साम्राज्यवादी शक्ति केन्द्रहरूको संयुक्त नियन्त्रणमा रहेको अवस्थामा गराइने कुनै पनि निर्वाचन स्वभावतः प्रतिक्रियावादी हुन्छ।यहाँ नेपाली जनताले बुझ्नु पर्ने स्पष्ट कुरा यो हो कि, “जेन्जी विद्रोह” लाई जनताको विद्रोह, परिवर्तनको आन्दोलन र लोकतान्त्रिक उत्कर्षका रूपमा प्रचार गरियो। तर वास्तविकतामा त्यो प्रक्रिया जनताको स्वतःस्फूर्त राजनीतिक चेतनाबाट उत्पन्न विद्रोह थिएन। जनताको आक्रोश र असन्तोषलाई प्रयोग गरी, विदेशी शक्ति केन्द्रहरूले आफ्नो परियोजनाको दिशा तय गरे र त्यही अनुसार दलाल राजनीतिक एजेण्ट समूहहरूले नेतृत्व कब्जा गरे र अन्ततः राज्यसत्ताको रूपान्तरण होइन, साम्राज्यवादी हितअनुकूल पुनःसंरचना गरियो। यस अर्थमा जेन्जी विद्रोह जनविद्रोह थिएन, राजनीतिक घुसपैठको आवरण थियो।
यसै घुसपैठको परिणामस्वरूप आजको सरकार जन्मिएको हो। यो सरकार जनताको सार्वभौम निर्णयबाट बनेको होइन। यो विदेशी राजनीतिक, आर्थिक र सामरिक स्वार्थको उत्पादन हो। संविधान, कानुन र राज्यसंस्थामाथि बलपूर्वक थोपरिएको यो सरकार अवैधानिक छ। अवैधानिक सरकारले गराउने कुनै पनि निर्वाचन वैधानिक हुन सक्दैन,यो सामान्य बिषय मात्र होइन, वैचारिक रूपमा पनि निर्विवाद छ,आज गराइँदै गरिएको निर्वाचन जनताको अधिकार प्रयोग गर्ने प्रक्रिया होइन, सत्तामा बसेको समूह र उसको विदेशी संरक्षकहरूको परियोजना हो। विदेशी शक्ति केन्द्रहरूले आफ्ना दीर्घकालीन सामरिक, आर्थिक र राजनीतिक स्वार्थ सुरक्षित गर्न यस्तो निर्वाचन आवश्यक ठानेका छन्। त्यसैले निर्वाचनको समय, संरचना, वातावरण र परिणाम सबै मतदानअघि नै तय गरिएका छन्। यस्तो अवस्थामा “जनमत” को कुरा गर्नु राजनीतिक ढोंग मात्र हो। यो निर्वाचन जनमतको अभिव्यक्ति होइन, पूर्वनिर्धारित सरकार घोषणाको औपचारिक प्रक्रिया हो।
निष्पक्ष निर्वाचनको न्यूनतम शर्त पनि आजको अवस्थामा अस्तित्वमा छैन। प्रशासन सरकारको नियन्त्रणमा छ, सुरक्षा निकाय सरकारको आदेशमा छन्, निर्वाचन संयन्त्र सरकारकै कब्जामा छ र सञ्चार माध्यमहरू विदेशी एजेन्डा र शासक वर्गको प्रचारक यन्त्र बनेका छन्। यस्तो अवस्थामा स्वतन्त्र मत अभिव्यक्ति सम्भव छ भन्ने मान्यता स्वयं सैद्धान्तिक रूपमा असम्भव छ।
यस्तो निर्वाचनमा सहभागी हुनुको अर्थ अबैधानिक सरकारलाई वैधता दिनु हो, विदेशी हस्तक्षेपलाई स्वीकार गर्नु हो, जनतालाई भ्रममा पार्नु हो र साम्राज्यवादी, प्रतिक्रियावादी राज्यसत्ताको अंग बन्नु हो। यो रणनीतिक गल्ती मात्र होइन, गम्भीर वैचारिक विचलन हो। त्यसैले नेपाल कम्युनिस्ट पार्टी यस्तो निर्वाचनमा सहभागी हुन सक्दैन। निर्वाचनको अस्वीकारलाई कतिपयले निष्क्रियता वा पलायनका रूपमा चित्रण गर्लान। तर मार्क्सवादी–लेनिनवादी दृष्टिकोणमा निर्वाचन अस्वीकार विशेष परिस्थितिमा सक्रिय राजनीतिक प्रतिरोधको रूप हुन्छ र यसलाइ कमरेड लेनिनले कार्यनैतिक प्रश्न भन्नू भएको छ जसले रणनैतिक उदेश्यको सेवा गरोस। यो प्रतिक्रियावादी राज्यव्यवस्थाको वैधता अस्वीकार गर्ने सचेत हस्तक्षेप हो। यसमार्फत जनतालाई चुनावी भ्रमबाट मुक्त गर्दै वैकल्पिक क्रान्तिकारी राजनीतिको दिशातर्फ उन्मुख गराइन्छ।
यो निर्वाचन स्वाधीन राष्ट्र र जनताको वस्तुगत आवश्यकताबाट जन्मिएको होइन। आज देश परनिर्भर अर्थतन्त्रमा जकडिएको छ, वैदेशिक शक्तिकेन्द्र हरुकोसर्त स्वीकार गरिएको छ, उत्पादन ध्वस्त पारिएको छ, युवा विदेश धपाइएका छन्, किसान ऋणमा डुबेका छन् र श्रमिक वर्ग असुरक्षित छ। यी कुनै पनि समस्याको समाधान यो निर्वाचनले गर्दैन। त्यसैले यो निर्वाचन राष्ट्रिय आवश्यकता होइन, नव–औपनिवेशिक व्यवस्थापनको औजार मात्र हो।
यस अर्थमा सम्पूर्ण विश्लेषणको निष्कर्ष स्पष्ट छ। यो निर्वाचन नियमित होइन, वैधानिक होइन, स्वाधीन होइन र जनताको पक्षमा छैन। त्यसैले यो निर्वाचन अस्वीकार्य छ।
नेपाल कम्युनिस्ट पार्टीले संसद्को भण्डाफोर गर्न र चुनावलाई कार्यनैतिक रुपमा उपयोग वा बहिस्कार गर्ने नीति लिदै आएको छ। यसै सन्दर्भमा हाम्रो बाटो जनसंगठन, जनसंघर्ष, जनसहकारी, उत्पादन र आत्मनिर्भरता, जनसत्ता अभ्यास हुँदै नयाँ जनवादी कार्यभार पूरागर्दै वैज्ञानिक समाजवादी राज्यसत्ताको निर्माण हो। मतपेटिकाबाट होइन, संगठित वर्गसंघर्षबाट मात्र इतिहास बदलिन्छ। यसकारण नेपाल कम्युनिस्ट पार्टी यो निर्वाचनलाई अस्वीकार गर्दछ, यसको वैधता मान्दैन र सम्पूर्ण देशभक्त जनतालाई यो अबैधानिक निर्वाचन अस्वीकार गर्दै राष्ट्रिय स्वाधीनता, वर्गीय मुक्ति र नयाँ जनवादी क्रान्तिका कार्यभारहरु पूरा गर्दै वैज्ञानिक समाजवादको संघर्षमा एकताबद्ध हुन आह्वान गर्दछ।निर्वाचन होइन,क्रान्तिकारी रूपान्तरण हाम्रो बाटो हो।




























