पाँच वर्षकी बच्ची जेविका श्रेष्ठसहित बन्द र मसाल जुलुसको क्रममा गिरफ्तार सम्पूर्ण कमरेडहरुलाई विनाशर्त रिहा गर्न जोडदार माग

पाँच वर्षकी बच्ची जेविका श्रेष्ठसहित बन्द र मसाल जुलुसको क्रममा गिरफ्तार सम्पूर्ण कमरेडहरुलाई विनाशर्त रिहा गर्न जोडदार माग

काठमाडौं । संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेल गौरवले मंगलबार एक वक्तव्य जारी गरी पाँच वर्षकी बच्ची जेविका श्रेष्ठ सहित आजको उपत्यका बन्द र हिजोको मसाल जुलुसको क्रममा गिरफ्तार हुनु भएका सम्पूर्ण कमरेडहरुलाई विनाशर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ । उहाँले वक्तव्यमा सुशीला कार्की सरकारको अत्यन्त अविवेकी, असहिष्णु तथा फासीवादी रवैयाको घोर निन्दा तथा भत्र्सना गर्नुभएको छ ।

वक्तव्यमा संयुक्त सङ्घर्ष समिति हिजो साँझको मसाल जुलुस र आजको उपत्यका बन्दको कार्यक्रममा खट्नुभएका ६ पार्टीका नेता, कार्यकर्ता तथा समर्थक र यस कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, सङ्गठन तथा व्यक्तित्वहरुलाई संयुक्त सङ्घर्ष समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । साथै, देश तथा जनताको पक्षमा आगामी दिनमा आयोजना हुने न्यायपूर्ण सङ्घर्षका कार्यक्रमहरुमा पनि निरन्तर सहभागिता, सहयोग र समर्थन रहनेछ भन्ने अपेक्षा गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “नेपालका ६ ओटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीच गठित संयुक्त सङ्घर्ष समितिद्वारा स्वाधीन जनसरकारको गठन र जनसंविधान निर्माणको तात्कालिक विकल्प सहित कथित संसदीय निर्वाचनको बहिष्कारको पक्षमा आज शान्तिपूर्ण उपत्यका बन्दको कार्यक्रम आयोजना गरिएको थियो । सुशिला कार्की नेतृत्वको कठपुतली सरकारले बन्दको पक्षमा कोटेश्वर वरिपरि पर्चा वितरण गर्दै हिँडनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सीसीएम कमरेडहरु सूर्य तिमल्सेना, झनक श्रेष्ठ तथा शोभा सेन्चुरी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सीसीएम कमरेडहरु रुपा सुनार तथा भुवन सेन्चुरी र ब्युरो सदस्य कमरेड लक्ष्मी सेन्चुरीलाई गिरफ्तार गरेको छ । यतिमात्र होइन, आफ्नो बुबा क. झनक श्रेष्ठको साथमा रहेकी उहाँकी ५ वर्षकी छोरी जेविका श्रेष्ठ पनि सुशीला कार्कीका प्रहरीको आँखामा खतरनाक ‘आतङ्ककारी’ हुन गई गिरफ्तारीमा परेकी छिन् । हाम्रो संयुक्त सङ्घर्ष समिति सुशीला कार्की सरकारको यस प्रकारको अत्यन्त अविवेकी, असहिष्णु तथा फासीवादी रवैयाको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै, पाँच वर्षकी बच्ची जेविका श्रेष्ठ सहित आजको बन्द र हिजोको मसाल जुलुसको क्रममा गिरफ्तार हुनु भएका सम्पूर्ण कमरेडहरुलाई विनाशर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछ ।

संयुक्त सङ्घर्ष समिति हिजो साँझको मसाल जुलुस र आजको उपत्यका बन्दको कार्यक्रममा खट्नुभएका ६ पार्टीका नेता, कार्यकर्ता तथा समर्थक र यस कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, सङ्गठन तथा व्यक्तित्वहरुलाई हाम्रो संयुक्त सङ्घर्ष समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, हामी देश तथा जनताको पक्षमा आगामी दिनमा आयोजना हुने न्यायपूर्ण सङ्घर्षका कार्यक्रमहरुमा पनि यहाँहरुबाट निरन्तर सहभागिता, सहयोग र समर्थन रहनेछ भन्ने अपेक्षा गर्दछौं ।”

Joint Press Statement