नेपालको अहिलेको राजनीतिको केन्द्रमा व्यक्ति खराब भए अमूक व्यक्तिको ठाउँमा अर्को अमूक व्यक्तिलाई स्थापित गरेपछि मुलुकमा विद्यमान सबै यावत समस्या जादुमय रुपमा हल हुन्छन् भन्ने भाष्य सुनियोजित रुपमा स्थापित गरिएको छ । राजनीतिमा सामान्य ज्ञान राख्नेहरुदेखि आफूलाई विज्ञ दावी गर्नेहरुले पनि यही भाष्य निर्माणमा भूमिका खेलिरहेका छन् । व्यक्ति परिवर्तनको राजनीतिले नेपालमा अहिले ‘व्यक्तिवाद’ र ‘पुँजीवादी लोकप्रियतावाद’लाई हावी गराएको छ । बहस प्रणालीमा भन्दा व्यक्तिमा केन्द्रित गरिएको छ । जुन आम जनतालाई सत्य, तथ्य र यथार्थबाट ध्यान अर्कोतिर मोडेर मुठ्ठिभर अभिजतावर्गीय व्यक्तिहरुले सत्ता र व्यवस्थामा हाली मुहाली गरिराख्ने खेल हो ।
वास्तवमा समस्या व्यक्तिमा होइन प्रणालीमा छ, संसदीय व्यवस्थामा छ । विगत ३५ वर्षदेखिको संसदीय व्यवस्थाको अभ्यासले पटक पटक स्थापित भइसकेको छ कि व्यक्तिमा होइन, व्यवस्थामा समस्या छ । दशवर्षको जनयुद्ध यही व्यवस्था परिवर्तनका लागि भएको थियो तर यो पनि घुमाइफिराइ व्यक्ति परिवर्तनमै सिमित हुन पुग्यो । जनयुद्धको जनादेश अनुसार पुरानो सत्ता र व्यवस्था बदलिएन । व्यवस्थाका अवयवको रुपमा रहेको सेना, कर्मचारी प्रशासन, न्यायालय र समग्र उत्पादन प्रणाली, अर्थतन्त्रमा कुनै बदलाव आएन । परिणामतः राष्ट्रघात र जनघातका श्रृंखलाहरुमा बढोत्तरी हुँदै गयो । शासनसत्ताको नेतृत्व फेरिदैमा सत्ता र व्यवस्था जनमुखी हुन सक्दैन भन्ने कुरा दिनको घामझै छर्लङ्ग भइसकेको छ । यसलाई चरितार्थ हुने गरी नेपाली समाजमा एउटा उखानै स्थापित भएको छ कि ‘जुन जोगी आएपनि कानै चिरेको’ ।
भदौ २३ र २४ मा भएको जेनजी विद्रोह संसदीय व्यवस्था र संसदवादी दलहरुको असफलताको परिणाम थियो । यो असफलताका कारण स्वतःस्फूर्त जनता सडकमा आउने परिस्थिति बन्यो । जेनजी विद्रोहको मूल जनादेश भनेको सत्ता, संविधान र व्यवस्था परिवर्तन हो तर साम्राज्यवादी, विस्तारवादी र तिनका घरेलु दलालहरुले यो विद्रोहलाई व्यवस्था परिवर्तनतर्फ जान नदिन हाइज्याक गरे र संसदीय व्यवस्थालाई नै फेरि पनि कायम राख्ने खेलहरु भए । त्यही संसद र संविधान यथावत राख्ने भए किन यत्रो विध्वंश मच्चाउनु पर्दथ्यो । केपी ओलीको सरकार ढाल्नका लागि मात्र जेनजी विद्रोहको डिजाइन गरिएको थियो भन्ने कुरा स्थापित भएको छ । फेरि पनि एक थान चुनावको नौटंकी गरेर यथास्थितिलाई कायम राख्ने र अग्रगामी परिवर्तनलाई रोक्ने अनेकन षड्यन्त्र भइरहेका छन् । समाज विज्ञानको इतिहासले पुष्टि गरेको छ कि कुनै पनि समाजलाई यथास्थितिमा अल्झाउन, रोक्न सकिन्न ।
समाज गतिशील हुन्छ र परिवर्तन अपरिहार्य बन्दछ । नेपालमा अग्रगामी र जनपक्षीय राजनीतिक प्रणालीको आवश्यकता ऐतिहासिक रुपमा टड्कारो बनेको छ । यो परिवर्तनका निम्ति यो देशका सच्चा कम्युनिस्ट क्रान्तिकारी र देशभक्तहरुले यसको लागि पहलकदमी गरिरहेका पनि छन् । व्यवस्था नफेरी जनताको अवस्था फेरिन्न भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा क्रान्तिकारी कम्युनिस्टहरुले फागुन २१ को देशघाती र जनघाती कथित निर्वाचनको बहिस्कार गर्दै देशमा स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको निर्माणको लक्ष्य राखेर संघर्षमा होमिएका छन् ।
अब देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा यही क्रान्तिकारी देशभक्त राजनीतिक शक्तिबाट मात्रै सम्भव देखिन्छ । तसर्थ, वर्तमान दलाल संसदीय व्यवस्थामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरी नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगणतन्त्र र जनसंविधान स्थापनार्थ सम्पूर्ण देशभक्त जेनजी युवाहरु पनि लागिपर्न जरुरी छ । समस्या एकातिर समाधान अर्कोतिर खोज्नु मुर्खता हो । समस्या जहाँ हो समाधान पनि त्यही खोज्न र हुन जरुरी छ । तसर्थ, ‘अवस्था फेर्न व्यवस्था फेरौ’ भन्ने मूल नारामा विश्वभर छरिएर रहेका सबै देशभक्त र क्रान्तिकारी युवाहरु, स्वाभिमानी नेपालीहरु एकताबद्ध भएर यो जनसंघर्षलाई राष्ट्रिय प्रतिरोध संघर्षमा उठाउँदै लक्षित गन्तव्य हासिल गर्न अविचल रुपमा अगाडि बढ्न जरुरी छ ।






























