काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पवनमान श्रेष्ठको संयोजकत्वमा २८ सदस्यीय सम्मेलन आयोजक कमिटि चयन गरेको छ ।
ललितपुरको कुपण्डोलमा पानसमा बत्ति बालेर भेलाको उद्घाटन गर्दै महासचिव गजुरेलले नेपालको आर्थिक, सांस्कृतिक, सामाजिक, र राजनैतिक परिवर्तनको आन्दोलनहरुमा नेवा समुदायको अग्रणी भूमिका रहेको बताउनु भयो । अरु भाषिक समुदायभन्दा सबै हिसाबले अगाडि भएर पनि त्यो खालको अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनु हुँदै उहाँले नेपालको यथास्थितिको राजनीतिलाई अग्रगामी दिशामा लैजान पनि यो समुदायले भूमिका खेल्नुपर्ने समय आएको बताउनु भयो ।
उहाँले नेपालको मात्रै नभएर विश्वमै कला संस्कृतिमा चर्चित रहेको नेवा समुदाय शिक्षा स्वास्थ्य लगायत व्यापार व्यवसायको क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै आएको तर हिजोआज इण्डियाबाट आएका दलाल पुँजीपति वर्गको कारण आफ्नै मुलुकमा विस्थापनको मार खेप्नुपरेको धारणा पनि राख्नुभयो ।

वर्गीय तथा देशभक्तिपुर्ण आन्दोलन राष्ट्रिय मुक्ति आन्दोलनमा अझ नेतृत्वदायी भुमिका निभाउन पर्ने दायित्व आएको भन्दै उहाँले सबै हिसाबले अग्रणी र आदिवासी भएकोले त्यो दायित्व पुरा गर्ने गरी नेतृत्व गर्न सक्ने आत्मगत क्षमताको चौतर्फी विकास गर्दै जाने विश्वाससहितको भेला सफलताको शुभकामना दिनुभयो ।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षता, मोर्चाका महासचिव शिव श्रेष्ठको सञ्चालन र सुरेश श्रेष्ठले स्वागत मन्तव्यसहित सुरु भएको भेलालाई सम्बोधन गर्दै नेवा जातिका अगुवा डा महेशमान श्रेष्ठले हिजो संसदीय दलहरु मार्फत –आफ्नो रणनीतिक स्वार्थी पुरा गर्थे तर हिजो आज भु–राजनीतिक अन्तरविरोधले जेन्जीको आडमा आईएनजीओ एनजिओहरुद्वारा सिधै ईन्डो अमेरिकनहरुले शासन प्रणाली हातमा लिएको टिप्पणी गर्दै नेवा मोर्चाले भाषिक र सभ्यताको सचेतना अभियान चलाएर व्यापक भन्डाफोर गरी अगाडि बढ्न बढाउन अपिल गर्नुभयो ।

क्रान्तिकारी किसान संघका अध्यक्ष सिताराम तामाङले नेवार जाति तात्यो कि केहि न केही परिवर्तन हुने गरेको इतिहास सम्झाउँदै नेवा जातिलाई अग्रगामी भुमिका निभाउन प्रेरित गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भरत बुर्झा मगर, क्रान्तिकारी महिला संघकी शारदा महत, तामाङ मुक्ति मोर्चाका शुरेश तामाङ, अखिल क्रान्तिकारीका संयोजक महेश श्रेष्ठ लगायतका अथितिहरुले शुभकामना मन्तव्य व्यक्त गरेपछि उद्घाटन सत्र समापन गरिएको थियो।
शुभास चन्द्र श्रेष्ठको अध्यक्षतामा शुरेश श्रेष्ठ, अमिर मैया रञ्जितसहित तीन सदस्य अध्यक्ष मण्डल चयन गरी शुरेश श्रेष्ठको सञ्चालनमा बन्द सत्र सुरु गरियो । बन्दसत्रमा पवनमान श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनको विस्तृत व्याख्या र छलफलपछि उक्त प्रतिवेदन पारित गरिएको थियो।
बन्दसत्रले राजन श्रेष्ठको स्थानमा चन्द्रमान श्रेष्ठलाई पदस्थापन गर्दै पवनमान श्रेष्ठको संयोजकत्वमा २८ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरी भेला सम्पन्न गरिएको थियो ।
































