काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले अहिले नेपालको राजनीतिमा सिद्धान्त र विचारमाथि ठूलो हमला भइरहेको बताउनु भएको छ । काठमाडौंको रत्नपार्कमा आयोजित १३३ औं माओदिवस समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले माओवादमाथि ठूलो हमला भइरहेको र विचारको विकास गर्नेभन्दा पनि विचार छाड्नेमा आफूलाई कम्युनिस्ट भन्ने पार्टीबिचमा प्रतिस्पर्धा चल्ने गरेको पनि बताउनु भएको छ । उहाँले फागुन २१ को निर्वाचन साम्राज्यवादी डिजाइनमा आफ्ना नयाँ दलाललाई सत्तासिन गराउन हुन गइरहेको भन्दै देश र जनताको हितमा नरहेकाले आफ्नो पार्टीले सशक्त बहिस्कार गर्ने पनि उद्घोष गर्नुभएको छ ।
उहाँले सम्बोधनको क्रममा भन्नुभयो, “सिद्धान्त र विचारको रक्षा अहिले हरेक देशको क्रान्तिको लागि महत्वपूर्ण प्रश्न बनेको छ । सिद्धान्त नभई विचार हुँदैन, विचार नभइ क्रान्ति हुँदैन । सिद्धान्तको महत्व कहिले पनि कम हुँदैन । क्रान्ति सम्पन्न भइसकेपछि पनि सिद्धान्तको महत्व हुन्छ । क्रान्तिकारीहरुले सिद्धान्त र विचारलाई धेरै महत्व दिनुपर्दछ । नेपालमा अहिले माओवादमाथि चौतर्फी रुपमा हमला भइरहेको छ । माओवादको थप विकासका लागि कम्युनिस्टहरुबिच प्रतिस्पर्धा हुनुपर्ने हो तर सिद्धान्त छोड्नेमा प्रतिस्पर्धा भइरहेको छ । माओवाद छाड्यो भने त्यसले स्याबासी पायो । कतिपयले त माक्र्सवाद भने पुग्छ, लेनिनवाद पनि किन भन्ने समेत भन्न थालेका छन् । कतिपयले त समाजवाद भन्नलाई त समाजवाद पनि मान्न पर्ने रहेनछ, विपीले पहिल्यै भनिसकेका थिए समेत भन्न थालेका छन् । यो भनेको माक्र्सवाद–लेनिनवाद–माओवादमाथिको ठूलो हमला हो । यस्तो बेला हामी तमासे बनेर बस्न सक्दैनौं । सिद्धान्त र विचारको रक्षा नगरे यो संसारमा उन्नति प्रगति सम्भव हुँदैन । क्रान्ति हुने सम्भावना पनि हुँदैन । त्यसकारण यो सिद्धान्त र विचारलाई बचाउनका निम्ति हामीले वैचारिक क्षेत्रमा ठूलो लडाइँ लड्नुपरेको छ । अहिलेको हाम्रो यो संघर्ष यो उद्देश्यका लागि पनि हो । माओको महत्व यहीनेर छ कि तुरुन्त क्रान्ति नहुँदा लामो धैर्यता चाहिन्छ । क्रान्तिका लागि लामो तयारी गर्नुपर्छ । विश्व कम्युनिस्ट आन्दोलनमा माओले दिएको योगदानको राम्रो अध्ययन गर्नुपर्दछ ।”
उहाँले निर्वाचन बहिस्कारका लागि जनसमक्ष आव्हान गर्दै भन्नुभयो, “सुशिला कार्की साम्राज्यवादको डिजाइनमा प्रधानमन्त्री भएकी हुन् । नयाँ कठ्पुतली (दलाल)लाई वैधानिकता दिन चुनावी नौटंकी चलिरहेको छ । जनता र राष्ट्रको लागि चुनाव भइरहेको छैन । त्यसकारण हामीले यो चुनाव सशक्त रुपमा बहिस्कार गर्नुपर्छ । जनताले चुनाव बहिस्कार गरेपछि सत्ताको आयु छोटिन्छ । शासकहरुलाई म रोल्पाको चुनावको इतिहास सम्झन आग्रह गर्छु ।”
































