पुस ८, कास्की । २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति कास्कीको आयोजनामा पत्रकार सम्मेलन पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्की जिल्ला सेक्रेटरी विक्रम थापाको अध्यक्षता र आकाश गौतमको सञ्चालनमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राम सिंह श्रीसले साम्राज्यवादद्वारा प्रायोजित फागुन २१को संसदीय निर्वाचनलाई “जनविरोधी षड्यन्त्र”को संज्ञा दिँदै त्यसलाई सशक्त बहिष्कार गर्न, आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुन जनतालाई आव्हान गर्नु भयो ।
सम्बोधनको क्रममा उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इशारामा सञ्चालन हुने निर्वाचन प्रक्रियाले दलाल, नोकरशाही पुँजीपति र सामन्तवादी शक्तिलाई सत्तामा टिकाइराख्ने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । नेपालमा गरिएका यस्ता चुनाव जनताको अधिकार खोस्ने औजार मात्रै बनेका छन्, र यसबाट राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको कुनै समाधान सम्भव छैन ।”
नेता श्रीसले विगतका सबै संसदीय निर्वाचनहरू जनताको पक्षमा असफल भइसकेको दाबी गर्दै अब पनि त्यही प्रक्रियाबाट परिवर्तनको आशा गर्नु आत्मघाती भ्रम भएको बताउनु भयो । । उहाँले निर्वाचन बहिष्कारलाई केवल नारामा सीमित नगरी शक्तिशाली जनआन्दोलनको रूप दिनुपर्नेमा जोड दिनु भयो ।
श्रीसका अनुसार वर्तमान राजनीतिक संकटको निकास भनेको साम्राज्यवाद तथा विस्तारवाद विरोधी शक्तिहरूको सहभागितामा स्वतन्त्र स्वाधीन संयुक्त सरकार गठन र संघीय जनगणतन्त्रमा आधारित नयाँ संविधान निर्माण हो । नेपालमा “वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन,” उहाँले स्पष्ट पार्नु भयो । पत्रकार सम्मेलनमा पार्टीका अन्य नेताहरूले पनि मजदुर, किसान, युवा, बुद्धिजीवी तथा सम्पूर्ण देशभक्त र प्रगतिशील शक्तिलाई ‘साम्राज्यवादीको निर्देशनमा गरिने चुनाव बहिष्कार गर्दै क्रान्तिकारी संघर्षमा उत्रिन आह्वान गर्नु भएको थियो ।






























