काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल वर्तमान कठ्पुतली सरकारलाई विघटन गरेर स्वाधीन संयुक्त सरकार निर्माणको माग गर्दै संघर्षमा होमिएको छ । वर्तमान सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको कठ्पुतली सरकारको संज्ञा दिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो सरकारले फागुन २१ का लागि घोषित संसदीय निर्वाचन बहिस्कार गर्ने घोषण गरिसकेको छ र चरणबद्ध रुपमा संघर्षका कार्यक्रम समेत ७ गते सार्वजनिक गरिएको छ । पार्टीको हालै काठमाडौंमा सम्पन्न स्थायी समितिको बैठकले मंसिर १६–१७ को चितवन बैठकले लिएको निर्णय अनुसार निर्वाचन बहिस्कारका कार्यक्रम पौक्ष ७ गते सबै जिल्लाहरुमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
पार्टीका महासचिव सीपी गजुरेल गौरवको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले संसदीय निर्वाचन बहिष्कारको मुल नारा — “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं !” भन्ने तय गरेको छ । साथै, आगामी संसदीय निर्वाचन बहिष्कारको कार्यक्रमलाई प्रभावकारी बनाउन र उल्लेखित नारालाई आम जनताका बीचमा कार्यान्वयनका लागि तीन चरणबद्ध संघर्षका कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो । सो निर्णय सबै जिल्लामा पत्रकार सम्मेलन गरी जनसर्वसारणमा सार्वजनिक गरिएको छ ।
घोषित कार्यक्रम अनुसार पहिलो चरणमा : पुष ७ गते सबै जिल्ला सदरमुकामहरुमा पत्रकार सम्मेलन गर्ने, पुष ८ गतेदेखि देशव्यापी भित्तेलेखन सुरु गर्ने, पुष ११ गते माओ दिवसका दिन काठमाण्डुमा केन्द्रित जनसभालाई भव्य रुपमा सफल पार्ने, पुष १६ गतेदेखि देशव्यापी पर्चा वितरण गर्ने, पुष २० गते स्थानीय परिस्थिति अनुसार देशव्यापी अन्तक्र्रिया गर्ने, पुष २५ गते देशव्यापी कोणसभाहरु गर्ने, पुष २६ र ३० का बीचमा जवस तथा मोर्चाका तर्फबाट निर्वाचन बहिष्कारको पक्षमा वक्तव्य दिने आदि कार्यक्रम तय गरिएको छ ।
समाचार स्रोतका अनुसार त्यसैगरी दोस्रो चरणमा ः माघ २ गतेबाट पर्चा सहित जनभेटघाट तथा घरदैलो कार्यक्रम गर्ने, उमेदवारी दर्ताको दिन माघ ६ गते सबै ब्युरोका प्रमुख शहरहरुमा बहिष्कार ¥याली गर्ने, माघ ७ गतेदेखि १२ गतेसम्म नगर वा गाउँपालिकामा कोण सभाहरु आयोजना गर्ने, माघ १५ गते जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रभावकारी मशाल जुलुस निकाल्ने, माघ २० देखि २७ गतेका बीचमा संसदीय निर्वाचन बहिष्कारको प्लेकार्ड सहित सबै ब्यूरोका प्रमुख शहरहरुमा मोटरसाइकल ¥याली गर्ने कार्यक्रमहरु तर्जुमा गरिएको छ ।
पार्टीको स्थायी समिति बैठकले तेस्रो चरणको कार्यक्रम भने परिस्थितिको विकास हेरी कार्यक्रमहरु पछि निर्णय गरी सम्प्रेषण गर्ने निर्णय लिएको छ । सो पार्टीले ‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौं !, स्वाधीन संयुक्त सरकार गठन गरौं !!’ शीर्षकमा एक अपील समेत जारी गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयले तयार पारेको अपिलमा भनिएको छ, “अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको दलाल सुशीला कार्कीको नेतृत्वमा बनेको कठपुतली सरकारले आगामी फागुन २१ गते संसदीय निर्वाचन गराउने घोषणा गरेको छ । यो निर्वाचन संसदवादी राजनीतिक पार्टीका भरपर्दा दलाल नेताहरू र जेनजी विद्रोहको आडमा पैदाभएका नयाँ दलालहरूलाई वैधानिक ढङ्गबाट सत्ताका ठेकेदार बनाएर मुख्यतः अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हैकम विस्तारगर्ने प्रपञ्च हो । यतिबेला यो निर्वाचनबाट सत्तामा पुग्नका लागि पुराना र नयाँ दलालहरू साम्राज्यवाद तथा विस्तारवादको आशिर्वाद थाप्न तछाड– मछाडमा लागेका छन् । अर्कोतिर, मजदुर, किसान लगायत आम उत्पीडित वर्ग, जाति, लिङ्ग तथा क्षेत्रका जनता सहित देशभक्त, प्रगतिशील वामपन्थी राजनीतिक पार्टीहरू यो निर्वाचनबाट बन्ने सरकारले पनि जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताका समस्या समाधान गर्नेछ भन्नेमा विश्वस्त छैनन् ।
लामो समयदेखि देश र जनताले भोग्दै आएका समस्याहरु आजसम्म समाधान नभएको यो भन्दा पहिला निर्वाचन नै नभएर होइन । २०१५ सालको संसदीय निर्वाचन, पञ्चायती कालमा भएका निर्वाचनहरु, २०३६ सालको जनमत सङ्ग्रह, २०४७ पछि संवैधानिक राजतन्त्र अन्तर्गतका संसदीय निर्वाचनहरु, २०६४ र २०७० मा गरिएका संविधान सभाका दुईओटा निर्वाचनहरु र २०७१ मा सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण भएपछि गरिएका संसदीय निर्वाचनहरूले किन समस्या समाधान गर्न सकेनन् ? यी सबै निर्वाचनपछि राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या किन झन–झन विकराल बन्दै गए ? यी प्रश्नहरूको जवाफ नखोजी गरिने आगामी निर्वाचनबाट देश र जनताको परिस्थिति सुध्रिने होइन अझ गम्भीर बन्ने कुरा निश्चित छ । यो इतिहास सिद्ध तथ्य हो ।
राजनीतिक पार्टीहरुको नेतृत्वमा सञ्चालित सङ्घर्षमा नेपाली जनताले सधैं साथ दिँदै आएका छन् । तर विडम्बना के भयो भने आजसम्म जसका विरुद्ध जनताले सङ्घर्ष गरे नेतृत्वले साम्राज्यवाद र विस्तारवादको दवावमा त्यही शक्तिसँग सम्झौता गर्यो । ती आन्दोलन पछि शासन सत्तामा केही अनुहार त बदलिए तर नेपालको राज्यसत्तामा कुनै फेरबदल भएन । २००७ सालदेखि आजसम्मका यावत सङ्घर्षहरुले जनताको अपेक्षा र देशको आवश्यकता अनुसार परिणाम दिन नसक्नु बरु उल्टो समस्या झन–झन विकराल बन्दै जानुको कारण यही हो ।
नेपाली जनताका समस्याको मूलजड वाह्यरूपमा मुख्यतः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको स्वार्थको रक्षागर्ने प्रतिक्रियावादी राज्यसत्ता हो । यो सत्ताले यी दुई थरी शक्तिको स्वार्थ रक्षागर्न नेपाली जनतामाथि उत्पीडन गर्दै आएको छ । सर्वहारा वर्गको नेतृत्व र आम उत्पीडित जनताको अधिनायकत्वमा व्यक्त हुने नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी सर्वहारा वर्गको नेतृत्व तथा अधिनायकत्वमा व्यक्त हुने वैज्ञानिक समाजवादले मात्र देश र जनताले भोग्दै आएका यावत समस्या समाधान गर्नेछ र जनता देशका मालिक बन्नेछन् । यसले कठोर र सिद्धान्तनिष्ठ सङ्घर्षको माग गर्दछ ।
यो समग्र स्थितिलाई ध्यानमा राखेर हाम्रो पार्टीले साम्राज्यवाद र विस्तारवादको पकडलाई अझ बलियो बनाउनका लागि दलालहरूलाई सत्तारोहण गराउने यो निर्वाचनको वहिष्कार र साम्राज्यवाद तथा विस्तारवाद विरोधी सम्पूर्ण राजनीतिक दल, सङ्गठन, समूह एवम् व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन, उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार र संघीय जनगणतन्त्रमा आधारित नयाँ संविधानको निर्माण नै आजको तत्कालीन राजनीतिक निकास हो भन्ने ठहर गरेको छ । यो स्थितिमा, आगामी निर्वाचनलाई सशक्त ढङ्गले बहिष्कार गर्न र बहिष्कार आन्दोलनलाई स्वाधीन संयुक्त सरकारको निर्माणका लागि आधार तयार पार्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी राजनीतिक शक्तिहरु सहित आम मजदुर, किसान, न्यून वैतनिक कर्मचारी, साना तथा मझौला व्यापारी लगायत राष्ट्रिय पुँजीपति वर्गलाई हार्दिक अपील गर्दछ ।”
































