काठमाडौं । १३३ औं माओदिवसको सन्दर्भ पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वृहत् जनसभा गर्दैछ । काठमाडौंको रत्नपार्कस्थित खुल्ला मञ्चमा जनसभाको आयोजना गरेर क्रान्तिकारी कम्युनिस्ट पाटीृ नेपालले फागुन २१ मा गर्ने भनिएको संसदीय निर्वाचन बहिस्कारको सशक्त उद्घोषसहित जनसभा गर्न लागिएको सो पार्टीका महासचिव सीपी गजुरेल गौरवले जानकारी दिनुभएको छ ।

जनसभाको तयारीका लागि आवश्यक निर्देशन दिन मंगलबार पार्टी कार्यालय कुपण्डोलमा आयोजित पार्टीका जबस मोर्चा प्रमुखहरुको बैठकमा उहाँले इतिहासमा ठूलो पार्टी सोनो भएको र सानो पार्टी ठूलो भएका थुप्रै दृष्टान्त रहेको भन्दै संख्या नभएर स्पष्ट विचार र राजनीतिसहितका एजेण्डाहरुको महत्वले विशेष अर्थ राख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका साथै जनतन्त्र र जनजीविकाका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीले अगाडि सारेका एजेण्डाहरुको ऐतिहासिक रुपले विशेष अर्थ र महत्व छ । संख्या सानै भएपनि देशको विषम परिस्थितिमा पार्टीले राख्ने अडान, बोक्ने एजेण्डा र दिने राजनीतिक सन्देशको ऐतिहासिक महत्व हुन्छ ।”
जेनजी विद्रोहपछि बनेको सुशिका कार्की नेतृत्वको कठ्पुतली सरकारले गराउने भनिएको संसदीय निर्वाचनको कुनै अर्थ र औचित्य नभएको भन्दै यो कथित चुनावी नौटंकीले साम्राज्यवादी र विस्तारवादी शक्तिका दलाल चाटुकारहरुलाई मात्र बैधानिकता दिन खोजेको आरोप लगाउनु भयो । विगतमा भएको जनयुद्ध, जनआन्दोलन हुँदै पछिल्लो जेनजी विद्रोहसम्मले संसदीय व्यस्थाको अग्रगामी विकल्प खोजी गरेको भन्दै त्यो अग्रगामी विकल्प भनेको जनगणतन्त्र भएको पनि स्पष्ट पार्नु भयो ।
अग्रगामी विकल्पतर्फको निकास नदिई फेरि पनि संसदको निर्वाचन वा संसदको पुनःस्थापनाको गोलचक्करमा मुलुकलाई अल्झाउन खोजे देशमा अझ ठूलो जनविद्रोह हुने र त्यो विद्रोहको नेतृत्वका सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्तिले गर्ने पनि बताउनु भयो । उहाँले जनसभालाई भव्य रुपमा सफल पार्न जनपरिचालनसहितको महत्वपूर्ण जिम्मेवारी बहन गर्न सम्पूर्ण जवस मोर्चाका नेताहरुलाई विशेष निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागरले पौष ११ गते शान्तिबाटिकामा दिनको ११ मा जम्मा भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सुन्दरा सहिदगेट, न्यूरोडगेट, वीरअस्पतालहुँदै खुल्लामञ्चमा पुगेर जनसभामा परिणत हुने जानकारी दिनुभयो । उहाँले खुल्लामञ्च खुल्ला भएपछिको पहिलो कार्यक्रम नै माओदिवस तथा जनसभा भएको पनि जानकारी दिनुभयो । बैठकमा सबै जवस मोर्चा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नयाँ र पुराना संसदवादी दलहरु निर्वाचन कि विघटित संसदको पुनस्र्थापनाको बहसमा अल्झिरहेको बेला संसदीय व्यवस्थाको अन्त्य गरी मुलुकमा संघीय जनगणतन्त्रको स्थापना गर्नुपर्छ भनेर अगाडि बढिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भने संसदीय निर्वाचन बहिस्कारको तयारीमा जुटेको छ । यो पार्टीले जेनजी विद्रोहपछि विकसित राजनीतिक परिस्थितिमा वर्तमान कठ्पुलती सरकारको विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने माग अगाडि सारेको छ ।






























