(हाँक टुडे मंसिर २५, २०८२मा प्रकाशित–विक्रम थापाको उल्लेखित अन्तरवार्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मंसिर १६—१७ गते चीतवनको भरतपुरमा भएको केन्द्रीय समितिको चौथो पूर्ण बैठकव्दारा पारित फागुन २१को नीर्वाचन बहिष्कार गर्ने महान अभियानलाई ब्यापक जनतासमक्ष पुगोस भन्ने उद्येश्य राखि यहाँ प्रस्तुत गरिएको छ—सम्पादक)
० गत मंसीर १६ र १७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चौथो पूर्ण बैठक सम्पन्न भएको जानकारी प्राप्त भयो, चौथो बैठकको मुख्य उद्देश्य के थियो ?
– गत मंसीर १६ र १७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चोथौ पूर्ण बैठक सम्पन्न भएको छ । सुशिला कार्की नेतृत्वको सरकारले गराउने भनिएको निर्वाचनको विषयमा आफ्नो धारणा स्पष्ट गर्नु यस बैठकको मुख्य उद्देश्य थियो ।
० सबै राजनीतक दलहरु फागुन २१ को निर्वाचन तर्फ केन्द्रित भइरहेको बेला निर्वाचन बहिष्कार गर्ने निर्णय गर्नु भएछ, निर्वाचन बहिष्कारको औचित्य पुष्टि गर्ने आधारहरु के के छन् ?
– हो । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते गर्ने भनिएको निर्वाचन सशक्त रुपले बहिष्कार गर्ने निर्णय गरेको छ । पहिलो कुरा त, यो सरकार अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारा र योजनामा बनेको सरकार हो । दर्जनांै आइएनजिओहरुमा आफ्नो संलग्नता रहेका मन्त्री परिषद्का सदस्यहरुको सहभागीताले पुष्टि गरेको छ । दोश्रो, जेनजीहरुको आन्दोलनको म्याण्डेट् विपरीतका कामहरु भएका छन । उनीहरुका माग अनुसार भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने कामबाट सरकार पछि हटेको छ । तेश्रो, कठपुतली र पराधीन सरकार भएकोले यसले गराउने निर्वाचन र निर्वाचनमा आउने नतिजाले हाम्रो राष्ट्रियता झनै कमजोर हुने र शक्ति राष्ट्रहरुको प्रभाव झनै बढेर जाने भएकोले एक जिम्मेवार र देशभक्त पार्टीले यो निर्वाचनलाई सशक्त रुपले बहिष्कार गर्ने निर्णय गर्दै आम जनताको साथ, समर्थन र ऐक्यवद्धताको लागि हार्दिक अपिल गर्दछ ।
०चुनाव प्रतिष्पर्धा गर्न नसकेर बहिस्कारको बहानामा चुनावबाट भागेको भनेर पनि तपाइहरुका आलोचकहरुले तपाइँहरुप्रति आलोचना गरेको सुनिन्छ, के त्यस्तै हो र ?
– विल्कुल त्यस्तो होइन । परिस्थितिको सही विश्लेषण गर्न नसक्दा आज देशले थुप्रै समस्या झेलिरहेको छ । जब जनतामा उच्च प्रकारको राजनैतिक चेतनाको विकास हुन्छ, त्यति बेला मात्रै हामीले गरेको निर्वाचनको वहिष्कारको पुष्टि हुनेछ । बरु त्यतिबेलासम्म राष्ट्रको परिस्थिति कुन तहसम्म बिग्रिसकेको हुने हो यो निकै चिन्ता र बहसको विषय बनेको छ ।
० निर्वाचन बहिष्कारको मोडेल कस्तो हुने छ ?
– मूलतः शान्तिपूर्ण र सशक्त हुन्छ । सरकारले हामीप्रति कस्तो रबैया अपनाउँछ त्यसमा निर्भर गर्दछ । लोकतन्त्रमा कुनै पनि राजनीतिक दलले आफ्नो नीति र कार्यक्रमलाई जनतासामु लाने र आफ्ना एजेन्डामा ऐक्यबद्धता गराउँदै जनताको साथ समर्थनको लागि जान पाउँछ र जान्छ । त्यो काम हामी वर्तमान बुर्जुवा व्यवस्थाले निश्चित गरेको परिधि भित्रै रहेर प्रभावकारी रुपले गर्छौं ।
० गत भाद्रको जेनजी विद्रोहको प्रभाव कास्कीमा कस्तो रह्यो ?
– सम्भवतः देशको राजधानी काठमाडांै पछि कास्की जिल्लामा जेनजी विद्रोहको असर राम्रैगरी प¥यो । प्रदेशकै राजधानी पोखरा भएकोले पनि बढी प्रभावित रह्यो । प्रदेश मातहतका मन्त्रालयहरु, नगरपालिका र वडा कार्यालयहरु, अदालत, प्रहरी कार्यालय, व्यावसायिक प्रतिस्ठान आदिमा ठूलो मात्रमा क्षति पुगेको थियो ।
० कास्की जिल्लामा कम्युनिस्ट आन्दोलनको इतिहासलाई फर्केर हेर्दा कसरी मूल्याङकन गर्नु हुन्छ ?
– कास्की जिल्ला शुरु देखि नै कम्युनिस्टहरुको प्रभाव रहेको जिल्ला हो । एतिहासिक पक्षलाई अध्ययन गर्दा विशेष गरि चौथो महाधिवेशनको प्रभाव राम्रो रहेको पाइन्छ र वर्तमानमा पनि कम्युनिस्ट आन्दोलनको भूमिका राष्ट्रियस्तरमा समेत प्रभावकारी देखिन्छ ।
० कास्की जिल्लाको वस्तुगत विवरण पनि जानकारी गराउनु न । त्यहाँका मजदुर र किसानहरुको अवस्था , पर्यटन व्यवसाय उद्योग कारखानाको स्थिति के छ ? कास्की जिल्लाको वर्गीय अन्तरविरोधहरुलाई केलाउनु पर्दा केभन्नु हुन्छ ?
– कास्कीको पोखरा पर्यटनको राजधानी पनि भएकोले पर्यटनको सम्भावना बोकेको जिल्ला हो । त्यस सँगसगै उत्पादनको तहमा औद्योगिक क्षेत्र समेत भएको शहर भएकोले सानै संख्यामा भए पनि औद्योगिक मजदुरहरु, पर्यटन मजदुर, निर्माण मजदुरहरुको राम्रै संख्या रहेको छ । स्थानीय किसानहरुका साथै अहिले युवाहरुको सहभागिता कृषि तथा पशुजन्य उत्पादनमा समेत उल्लेख्य मात्रामा रहेको छ र वर्गीय अन्तर्विरोध पनि पेचिलो रहेको छ । विभिन्न पार्टीहरु र त्यस अन्तर्गतका मोर्चाहरुको हित अनुकुलका र बिरोधका कार्यक्रम प्रायः भैरहने पोखरा क्षेत्रमा अन्यत्र भन्दा राजनैतिक संस्कारको नमुनाको राम्रै अनुभव गर्न पाइन्छ ।
० तपाइँ बाग्लुङ जिल्लाबाट आफ्नो अध्ययन तथा राजनीति प्रारम्भ गरी कास्की जिल्लालाई कार्यक्षेत्र बनाउनु भएको छ । राजनीतिक जीवनको प्रारम्भदेखि आजसम्मको स्थितिलाई सरसर्ती मूल्याङकन गर्दा के भन्नुहुन्छ ?
– २८÷३० वर्षको पोखरा बसाइ र राजनीतिक संलग्नतालाई मुल्यांकन गर्दा इमान्दार र निष्ठावान राजनीति गरे जस्तो लाग्छ । आफ्नो आलोचनात्मक चेतको आधारमा सहिलाई सहि र गलतलाई गलत भन्ने स्वभाव भएको कारण आफ्नै प्रकारको विशिष्टताले काम गरेको पाउँछु ।
० हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
– हाँक पत्रिकाको आफ्नै गरिमा, इतिहास र प्रभाव छ । मूलतः सर्वहारा वर्गीय आन्दोलन, राष्ट्र, राष्ट्रियता र जनजीविकाको क्षेत्रमा पत्रिकाले विगतदेखि नै खेलेको भूमिकाप्रति विशेष धन्यवाद दिन चाहन्छु र पत्रिकाको निरन्तरता सँगै प्रगतिको शुभकामना दिन चाहन्छु ।






























