अमेरिकामा ट्रम्पको फासिवादका विरुद्ध देशव्यापी प्रदर्शन, ट्रम्पको कार्यशैली मन नपराउने नागरिक ५८ प्रतिशत

अमेरिकामा ट्रम्पको फासिवादका विरुद्ध देशव्यापी प्रदर्शन, ट्रम्पको कार्यशैली मन नपराउने नागरिक ५८ प्रतिशत

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली ‘राजा जस्तो’ हुँदैगएको भन्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । राजधानी वाशिंटन डिसीसहित न्यूओर्क, सिकागो, मिआमी, लस एन्जलससहितका शहरमा हजारौं नागरिकहरू ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक विशाल प्रदर्शनमा उत्रिएका हुन् । शनिबार न्यूयोर्क सिटीको प्रसिद्ध टाइम्स स्क्वायर र वरिपरिका सडकहरू हजारौँ प्रदर्शनकारीले भरिएका थिए ।

‘डेमाक्रेसी नट मोनार्की’ अर्थात् राजतन्त्र होइन लोकतन्त्र र ‘द कन्सिच्युसन इज नट अप्सनल’ अर्थात् संविधान ऐच्छिक विषय होइन लेखिएका प्लेकार्डहरू बोकेर उनीहरूले राष्ट्रपति ट्रम्पको कार्यशैलीप्रति आक्रोश पोखेका थिए ।

प्रदर्शनलाई मध्यनजर गर्दै प्रायजसो सबै राज्यमा राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) तयारी अवस्थामा राखिएको थियो । यद्यपि प्रदर्शन शान्तिपूर्ण भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले राज्य प्रमुखहरूको विरोधका बाबजुद कार्यकारी आदेशमार्फत् संघीय सरकारका केही निकाय विघटन गर्दै अमेरिकाका प्रमुख शहरहरूमा नेशनल गार्ड परिचालन गरेका छन् ।

Anti-Trump protesters take part in a demonstration against the second State Visit of US President Donald Trump on 16th September 2025, in London, England. (photo by Claire Doherty/In Pictures via Getty Images)

आफ्ना राजनीतिक शत्रुहरूलाई कानूनी कारबाहीमा तान्न प्रशासनका उच्च अधिकारीहरूलाई ट्रम्पले निर्देशन समेत दिएको बताइन्छ । ट्रम्पले आफूलाई ‘तानाशाह’ वा ‘फासिस्ट’ को आरोपलाई खारजे गर्दै देश पुनर्निर्माणका लागि यस्तो कदम चाल्नुपर्ने बताउँदै आफ्नो बचाउ गर्ने गरेका छन् । तर उनका आलोचकहरूले यी कदमहरू असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको चेतावनी दिँदै आएका छन् । शहरभर करिब १ लाखभन्दा बढी मानिस भेला भएको न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले जनाएको छ । तर, कसैलाई पनि पक्राउ नगरिएको विभागले भनेको छ ।
प्रदर्शनमा सहभागी लेखक बेथ जास्लोफले भनिन्, ‘हामी फासिस्ट शासनतर्फ जाँदैछौँ भन्ने डरले म यहाँ आएको हुँ । मलाई यो शहरको माया लाग्छ, र यस्ता हजारौँ मानिससँग हुनु आशाको कुरा हो ।’ ६८ वर्षका इटालीका मूलका अमेरिकी नागरिक मास्सिमो मास्कोलीले भने, ‘अमेरिका पनि इटालीले विगतमा लिएको गलत बाटोमा हिँड्दैछ ।’ उनले ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण नीति र स्वास्थ्य सेवामा कटौतीबारे चिन्ता व्यक्त गरे ।

प्रदर्शनमा सहभागी सिनेटका अल्पमत नेता चक शुमरले अमेरिकामा कुनै पनि तानाशाही स्वीकार्य नहुने भन्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्र कमजोर पार्न खोजेको आरोप लगाए । प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनले भने, ‘अमेरिकामा कुनै तानाशाह हुँदैन, र हामी ट्रम्पलाई लोकतन्त्र कमजोर पार्न दिँदैनौँ ।’

प्रदर्शनका दौरान कयौँ सत्तारुढ रिपब्लिकन गभर्नरहरूले नेशनल गार्ड तयारी अवस्थामा राखेको देखेर टेक्सासका शीर्ष डेमोर्क्याट जीन वूले शान्तिपूर्ण प्रदर्शनमा सशस्त्र सेना पठाउनु तानाशाहको काम भन्दै कडा शब्दमा आलोचना गरे । टेक्सासका गभर्नर ग्रेग एबटले त्यसैको प्रमाण दिएको उनको आरोप छ ।

यसैबिच, अमेरिकी जनमतको सर्वेक्षण गर्दै आएका समाचार संस्था रोयटर्स र इप्सोसले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पको स्वीकृति दर हाल ४० प्रतिशतमा खुम्चिएको र ५८ प्रतिशत नागरिक उनीसँग असन्तष्ट रहेका छन् । यो उनको पहिलो कार्यकालको औसत लोकप्रियतासँग मिल्दोजुल्दो भए पनि जनवरीमा दोस्रो कार्यकाल सुरु गर्दा रहेको ४७ प्रतिशतभन्दा कम हो । सर्वेक्षणअनुसार अमेरिकी इतिहासमा अधिकांश राष्ट्रपति कार्यकाल बित्दै जाँदा अलोकप्रिय बन्दै गएका छन् । सन् २०२१ जनवरीमा जो बाइडेनको समर्थन दर ५५ प्रतिशत थियो, जुन त्यही वर्षको अक्टोबरमा घटेर ४६ प्रतिशतमा झर्‍यो ।