अधुरै भएपनि आज हामीले प्राप्त गरेको यस गणतन्त्रको संघर्षमा नेपाली जनताका हजारौँ छोरा छोरीहरुले ज्यान गुमाए | यसै मध्येको एउटा परिवार हो शहिद कमरेड रामवृक्ष यादवको परिवार | तराई मधेशमा, विशेष गरि धनुषा र सिरहामा कमरेड रामवृक्षको बढ्दो लोकप्रियताबाट त्रसित नेपाली कांग्रेसको नेताहरु र प्रशासनको मिलोमतोमा नेकाका स्थानीय नेताहरु, ग्रामीण भिजिलान्ते र भाडाका पेशेवर हत्याराहरुको समुहले उनको जन्मगाउँ बरमझियामा ०५१ साल भाद्र २ गते उनको हत्या गरिदिए |
जनयुद्धको क्रममा उनको छोरा कमरेड शेखर र ज्वाईपनि शहिद भए र उनको जीवन साथी कमरेड रामकुमारी यादवको एउटा दुर्घटनामा मृत्यु भयो | कमरेड रामवृक्ष यादवको सम्पूर्ण परिवार जनताकै निम्ति समर्पित भयो | भोलि भाद्र २ गते तिनै महान शहिद कमरेड रामवृक्षको शहदत दिवस हो |
नेपाली इतिहासमा नेपाली जनताले शोषणविहीन समाज निर्माणको लक्ष्य लिएर गरेको दसवर्षे महान जनयुद्धमा त्याग, बलिदान र उत्सर्गका यस्ता अनेकौं उदाहरणीय आख्यानहरु छन् | यस्तै एउटा महान आख्यान धनुषा, मिथिलेश्वरका कमरेड चंदेश्बर मण्डलको पनि हो | गरिब र उत्पीडित वर्ग र समुदायमा अत्यन्त लोकप्रिय क. चन्देश्वर मण्डललाई ग्रामीण भिजिलान्तेहरु र प्रहरीहरुले निर्मम हत्या गरे | आज उनको शहदत दिवस हो |
०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा युद्ध विरामको आफ्नै बाचा तोड्दै तत्कालीन सरकारको शाही सेनाले बैठक गरि रहेका २१ जना निहत्था माओवादी कार्यकर्तालाई पक्रेर निर्ममतापुर्वक हत्या गरे |
वर्तमान राजनीतिक परिप्रेक्ष्यमा सर्वहारा, उत्पीडित वर्ग, गरिब, मजदुर र किसानको हितको विषय सदन र सडक कतैतिर सुनिँदैन। यहाँ मधेसको बहस छ, पहाडको बहस छ, यहाँ धर्मकोे बहस छ, जातिको बहस छ, यहाँ पूर्वको बहस छ, पश्चिमको बहस, यहाँ अनेक थरी बहस छन् । संसद, सडक सबैतिर गुन्जायमान छ यस्तै यस्तै बहस। तर गरिब मजदुर र किसान, जसको मिहिनेतले यो जग ढाकेको छ, जसको श्रमले संसदको मोजमस्ती र शान, बजारको नाफा र जनजनको पेट भर्छ, तिनकै बहस छैन । जनयुद्धका महान सहिदहरुले यिनै गरिब मजदुर र किसानको श्रमको मूल्य र राज्यको सपना देखेका थिए।
ती महान सहिदहरुको सहादतको बलमा देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित छ । तर अफसोस! गरिबहरुको राज्य स्थापना गर्ने उनको मूख्य लक्ष्य र सपना अधुरै छ ।
तर यी महान शहीदहरु जनताको हृदयमा भने सधै जीवित छन् , रहनेछन र अधुरो सपना पूरागर्न थप संघर्षको निम्ति प्रेरित गरिरहनेछन् | र जीवित रहने छ ती महान शहीदहरुले देखेका श्रमिक राज्यका सपनाहरु |
जनताका सबैभन्दा सर्वोत्तम छोरा छोरीहरु ती सबै महान शहीदहरुप्रति कमरेड रामवृक्ष यादवको पंक्तिबाट हार्दिक श्रद्धान्जली ! :
रत रह संघर्ष मे जीवन संघर्ष है
या कुर्बान हो जा देश पे यहि तो उत्कर्ष है
दबके ना रहना कभी यहि तो निष्कर्ष है
वह वक्त हि महान है जहाँ कि उत्सर्ग है |































