सम्मान

सम्मान

कथा

‘शव जलिसक्न त अझ् एक घण्टा लाग्ला ।’ मनले अड्कल लगायो र लुसुक्क हिड्ने सुरले पाइला बाटो लाग्यो । दायाँ तर्फको सत्तलमा शवका आफन्त मलामीहरूले खचाखच थियो । बायाँतर्फ तीन वटा चिता जलिरहेथे । तिनै मौन भीड र चिताको राप छिचोलेर तिलगंगातर्फ मोडिएँ । मध्य मङ्सिरको चिसो त्यति नभए पनि आर्यघाटमा बसिरहँदा धेरै पटक जाडोले सताएको अनुभव छ । त्यसैले कुर्तामाथि ज्याकेट लगाएको थिएँ । समयको चाप र जलिरहेको रापले ज्याकेट खोलुँ खोलुँ भए पनि बसमा बसेपछि ठिकै हुने ठानेर खोलेको थिइनँ । जिपलक खोलेर बाहुला माथिमाथि सार्दै हिंडिरहेथेँ । ‘पुण्यसँग साटफेर गर्ने सामग्री’का छाप्रे लस्करमा रातो इन्डियन पाइजामा माथि हाफ ज्याकेट लगाएका केशव दाइ रुद्राक्षको माला मोलतोल गर्दै रहेछन् । उनले त देखेका थिएनन् म नै बोल्न खोजेँ “दाइ नमस्कार”

उनको हातमा रहेको फूल प्रसादको ढकीतिर मेरो नजर अडिएको थियो । एक्कासी मलाई देखेर कुनै चोरीमा समातिए झ्ैँ मतिर हेर्नु भयो । म पनि सामुन्यको वर्तमान र विगतको भ्रमको बिचमा अलमलिएको थिएँ । प्वाक्क बोलिहालेँ, “ए…! तपाईं त फूल प्रसाद पो लिएर …!”

मेरो कुराको वास्तै नगरी दाइले नमस्कार फर्काउँदै सोधे, “अनि तपाईं कता नि ?”

“म छिमेकीको दाहसंस्कारमा आएकी । काम सकिएकै छैन । बसिरहन नभ्याउने भएकोले फर्केकी ।” सोधे

“पौडेल जीलाई आराम छ नि ?”

हजुर ठिकै हुनुन्छ । जिल्ला जानु भएथ्यो, नौबिसे आइपुग्नु भो । साँचो मसँग छ, त्यसैले फर्किन हतार भएकी, “हात जोड्दै भनेँ, “धेरैपछि भेटभयो, खुसी लाग्यो ।

“त्यै त ।” विदाको भावमा बोकिरहेको ढकी दुबै हातले हल्का माथि उठाए ।

‘प्याच्चै भन्ने बानी आफैलाई मन पर्दैन कहिलेकाहिँ । नभनेको भा’नि हुनी, अप्ठेरो पो माने त ।’ फेरि आफैलाई भनेँ– ‘आ… तिनैले गति छाडेका त हुन्, जेसुकै भनुन् ।’ मनमा कुरा खेलाउँदै बाटो काटेर लागेँ बसतिर ।

‘रिङरोडको बस गौशालाबाट स्वयम्भू पु¥याउन एक घण्टा लगाउँछ ।’ सिटमा बस्दै गमेँ, ‘थाकेको मान्छेले कुर्नुपर्यो भने गाह्रो पो हुन्छ । साँचो कतै राखेर निस्कनु पर्ने रहेछ… तर जाम नपरे त ठिकै होला, थानकोट उक्लिन पनि एक घण्टा त लागिहाल्छ ।’
बसमा यात्रुहरू ओर्लने उक्लने क्रम चलिरहे तापनि झ्यालपटि बसेकीले म बिथोलिनबाट जोगिएको थिएँ । त्यसैले पनि केशव दाइलाई सम्झ्ँदै पूर्वस्मृतिमा डुब्न पुगेँ ।

यिनले हाम्रा बाहरूसँग सङ्घर्षको विषयमा कुराकानी गरिरहँदा म केही बुझ्दिनथेँ । माक्र्स, लेनिन, माओ, चे, जेनी, सामन्तवाद, समाजवाद, साम्यवाद… के के हो के के …ओ हो हो ! तिरिमिरि झ्याईं भए पनि सुन्दा आनन्द आउँथ्यो । यी अप्ठ्यारा नाम र कुराहरूका बिच बिचमा दुःखबाट पार लाउने उपाय, छोरी मान्छेहरूको जुनी फेरिने कुरा, गरिबका लागि न्याय, समानता, सबैका लागि शिक्षा आदि विषयले खुब आकर्षित गर्थे मलाई । मुलोछ्यानमा पढ्न बसेकी हुन्थेँ । बाहरू अगेना वरिपरि बसेर यिनका कुरामा मुन्टो हल्लाइरहन्थे । आमा भातभान्छाको काम सकेर तातोपानी चिसोपानी ओछ्यान आदिको तजबीजमा लाग्नुहुन्थ्यो । मेरो भने स्कुलको पाठ गर्नमा भन्दा यिनकै कुरामा ध्यान बढी जान्थ्यो । झ्ण्डै महिनैपिच्छे कहिले एक्लै कहिले साथीहरूसहित आइरहन्थे ।

स्कुल जाँदै गर्दा सरिताले एक दिन भनेकी थिई, ‘हाम्रा बाले भन्नु भा’को तिनीहरू त धर्म कर्म पनि मान्दैनन् रे । ईश्वर भन्ने त हुँदै हुन्न भन्छन् रे । तिनीहरू भँडाहा हुन्, गाउँ भाँड्न आएका कम्निसहरू ।’

‘ओइ यो कम्निस् भनेको चैँ के रै’छ ?’

मैले पनि खुब आफैले गर्ने झ्ैँ उसलाई अथ्र्याएथेँ– कम्निस्ट भनेको ठूलो–सानो, धनी–गरिब केही नहुने । सबै उस्तै हुने व्यवस्था हो । ‘ए हो र ! त्यसो भए त राम्रै होला…,’ उत्साहित हुँदै भनेकी थिई, ‘ती मान्छेहरू आएको दिनमा मलाई पनि भन् है ! तेरो घर पढ्न आउँछु ।’

बिस्तारै देशमा जनयुद्ध शुरु भयो । घरघरमा भेटघाट, छलफल र प्रशिक्षणहरू हुन थाले । गीत सङ्गीतका कार्यक्रम कम्ता रमाइला लाग्थेनन् ! गाउँ, घर, स्कुल, आफन्त जताततै कतै साउतीमा त कतै खुलेर, युद्धकै कुरा हुन थाल्यो । सदैव गाँस बास कपासको निम्ति असीमित सङ्घर्ष गरिरहेका जिन्दगीहरू सीमित युद्धबाट पार लाग्छ भने किन नलाग्ने भन्ने मनस्थितिले माओवादीप्रति झ्ुकाव र सहानुभूति ओइरियो । ठग र फटाहाहरूको दोहोलो काढियो । वाह, हुन्छ कि क्या हो कम्युनिस्टले भने झ्ैँ ! खुसी खुसी साथ दिइयो । आमाले त डालो भरि चामल हुँदा पनि ढिकीमा घान हाल्थिन् । ‘के था, राती भोकै आइपुग्छन् कि… आइज घान लाउन’ भन्दै । दुई डाला चामल कहिल्यै टुटाउनु भएन घरमा ।

केराबोटे साइँला बालाई माओवादीले उठबस गराएपछि कम्युनिस्टको निन्दा गर्ने सरिताका बा पनि हच्किएका थिए । केही नबुझ्ेका हामी ग्वाँचहरू नौला मान्छेसँग पनि आँखा जुधाएरै कुरा गर्नसक्ने भयौँ । कसैसँग दबिएर बस्न हुन्न रैछ भन्ने जान्यौँ । सङ्घर्ष के हो, कसरी हुँदो रहेछ, राज्यले कसरी दमन गर्दो रहेछ र युद्धमा होमिएकाले कसरी योगदान गर्दा रहेछन् सबै देखियो भोगियो बुझ्यिो । सङ्गठनमा काम गर्न थालेपछि आइपरेका चुनौतीहरूले अझ् धेरै सिकायो । अहिले जे जसो गरे पनि यत्तिको परिवर्तनसहित बुझ्ने र बोल्नसक्ने बनाउनमा त तिनै केशव दाइहरूको भूमिका थियो ।

अलि छिट्टै थाकेछन् । थाके पनि आफुले आर्जन गरेका ज्ञान विज्ञानका कुरालाई बाग्मतीमा बगाएर आफै डुब्न त नगएको भए हुने ! तर उनको त्याग र समर्पणलाई चाहिँ यो मनमा सदैव सम्मान नै रहन्छ । मनमनै उही बेलाका केशव दाइलाई नमन गरेँ । ‘सायद अर्को पुस्तालाई बाटो छाडे हुन्…’ मनको निष्कर्षले सन्तोष चाहिँ दिलाएन ।

गाडी गौशाला, चावहिल, चक्रपथ हुँदै माछापोखरी आइपुग्दा मेरो मनले उही घर–गाउँ, स्कुल बा, आमा, युद्धकाल संकटकाल हुँदै दैनिक विदेशिने छोराछोरी पुस्तासम्म विचरण गर्यो । त्यत्रो आशा र भरोसा गरेको पार्टी र नेताले मन बुझउने काम केही गरेनन् । सुधारको आधार त बन्यो तर गर्न सक्ने र गर्नै पर्नेतिर ध्यान दिएनन् । खबरदारी गर्दा गर्दै पनि नराम्रोसँग गति छाडे । उनीहरूको सेवा र संरक्षणमा बालबच्चासमेतलाई धरापमा राखियो । सम्झ्ल्यिाउँदा कटक्क दुख्छ मन । अहिलेको राजनीतिक गतिविधि र बेथिति देख्दा यो व्यवस्था र अहिलेका नेताहरू बढार्ने हुन्डरी आउनुपर्छ झ्ैँ लाग्छ । ढिलो चाँडो आउला आउन त…।

गाडी स्वयम्भू पुगेर रोकिएसँगै मनको तरङ्ग पनि मोडियो घरतिर । कति फुर्सदिला के मान्छेहरू । ओर्लिएर पनि कति अलमल गरिरहेका । फटाफट आआफ्नो बाटो लाग्नु नि ! अल्झउनेहरूप्रति मनमनै झ्र्को मान्दै बाटो लागेँ ।

“ए… तपाईं पो पहिला आइपुग्नु भएछ । गाडि रोकेरै हैरान पार्छन् ।” घडि हेरेँ, ठ्याक्कै सवा घण्टा भएछ बस चढेको ।

“केही छैन, नेट टिपिहाल्यो सिढीमा बसेँ । धेरै बेर भा’को छैन भर्खरै हो ।” उनले सन्तोषै माने ।

‘यिनको नाम मात्रै सितल हैन, मान्छे पनि सितल नै छन् र त सजिलै छ मलाई ।’ मनमनै भनेँ र जिज्ञासा राखेँ, “फोन नि गर्नु भएन त आइपुगेँ भनेर ।”

“अघि नै बसपार्क आइपुगेँ भनेथ्यौ आइपुगिहाल्छौ भनेर नगरेको ।” अनि प्रसङ्ग फेर्द भने, “त्यै त, बस्नेत बा बितेछन्, छोराछोरी आइपुगेका छैनन् होला ।”

च्यानल गेट खोल्दै भनेँ, “छैनन्, छोरा भोलि साँझ् आइपुग्छन् रे । छोरी त खै … ?”

“अनि छोरा पर्खेनछन् त जलाउनलाई !” जुत्ता खोल्दै उनले सोधे ।

“अँ, छोराछोरी नकुर्नू जसले जलाए पनि हुन्छ मलाई भनेथे रे पहिल्यै । आमाले हुन्छ लैजानू भनिछन् । बूढाले त काजकिरिया पनि गर्नु पर्दैन भनेका छन् रे , खै के गर्छन् … । गरेर हुने त केही होइन, लोकाचारको लागि आएर बस्ला कि छोरा । हुन त बस्नेत आमा पनि रुढीगत कुरामा लाग्ने मान्छे त हैनन् । छिमेकी र आफन्त हुन्छन् नि यसो गर र उसो गर, यसो गरेन र उसो गरेन भन्ने त । कसैले चासै नगर्नु नि ! परिवारलाई जे मन लाग्छ गर्न दिनु ।”

झाेला डाइनिङ टेबलमा राख्दै भने, “हो नि, परिवार शोकमा हुन्छन् । अरू सबै पण्डित ! सुधार्न खोज्नेले नि मेसो पाउँदैनन् ।

“झाेला भान्छामा लानु भो त, के छ ?”

“तिम्रो आमाले बोडी राखिदिनु भा’छ, झ्किेर कफी बनाउँदै गर । म फ्रेस भएर आउँछु अनि पिउँदै केलाएर पकाउनुपर्छ । बस्नेत आमाकोमा पुग्नु पर्ने… थाकेको छु, भोलि मात्रै जानु पर्ला ।”

“दिनेश त साँझ्तिर आइपुग्ने कुराथ्यो । एक बजे नै आइपुगेछ नि, म स्कुलबाट फर्किँदा पसेथेँ ।”

ए… राम्रै भएछ । म पनि जान्छु एकछिन् । “अफिसबाट फर्केको सितलले मोबाइल चार्जमा जोड्दै सोधे, “अनि किरिया बसेछन् कि नाईं ?” “भेटघाटलाई बस्न आँगनमा पाल हालेर कुर्सीहरू राखेकाछन् । माला लगाएको बा को फोटो छ । धूप दियो केही बालेका छैनन् फोटो अगाडि । आमाछोरा बाहिरै बसेर भेटघाट गरिरहेका रहेछन् । छोरा फुलबाउले गन्जी र टाउजरमा थ्यो । आमाको पनि लुगा त सदाको जस्तै छ । कोरा चैँ बस्याछैनन् ।” मैले बेलिबिस्तार लाएँ ।

“ए हो !” उत्साहित हुँदै सोफामा सँगै बसे उनी र भने, “देख्यौ महिलाले चाह्यो भने कति सजिलै सुधार हुन्छ । बस्नेत आमाले हुन्न किरिया बस्नै पर्छ भनेको भए त्यो छोरो उम्किनै सक्थेन । उसले मात्रै गर्नु पर्दैन गर्दिन भनेको भए विदेश बसेर सडेको बाउको किरिया पनि गर्दिन भन्यो भन्थे । आमाको चित्त बुझउन पनि बस्दिनै पथ्र्यो । आमा नै सुझ्बुझ्को हुनाले दिनेशलाई सजिलो भयो । टोल समाजमा मान्य व्यक्ति नै हुन् बस्नेत बा । जीवनभर संस्कार संस्कृति र परिवर्तनको विषयमा लेखेर बोलेर हिँडे । अहिले छोराले परम्परागत ढंगबाट किरिया गरेको भए के अर्थ रहन्थ्यो र ! बस्नेत बा को विचारको कदर–सम्मान भएछ, खुसी लाग्यो । बस्नेत आमाको यो निर्णयले समाजमा राम्रै प्रभाव पार्ला कि …” बोल्दै भान्छामा पुगेका सितलले पानी पिए र भने, “म पुगेर आउँछु ।”

“अघि बस्न भ्याइन यसो आउनेलाई चिया बनाइदिन पनि हुन्छ, म पनि जान्छु” भन्दै सँग निस्किएँ म पनि ।

भर्खर गाउँबाट आइपुगेका दिनेशका माइला बा सहित पाँच सात जना चिया पिउँदै थिए । दिनेशले बसिरहेको कुर्सीबाट उठेर नमस्कार गर्यो ।

“नमस्कार बाबु, बस बस ।” शितल पनि कुर्सी तानेर बसे ।

बस्नेत आमा कि भदैनी चिया लिएर निस्किइन् । भित्रको काममा भदैनी देखेपछि म पनि बसेँ त्यहीँ ।

“अनि एक्लै आयौ कि …?” सितलले दिनेशलाई सोधे ।

“हजुर, यहाँ यसो व्यवस्था मिलाएर आमा लिएर जाने सल्लाह गरेर एक्लै आएको ।” दिनेशको कुरा नसकिँदै माइला बा भित्रभित्रै मुर्मुरिँदै बोले, “कहिले ? भोलि नै जान्छस् कि ? गतिछाडा, बाउ बाजेको संस्कार त धान्नु पर्छ नि ! भाउजु पनि उस्तै, सम्झउनु पर्दैन यसलाई …?”

दिनेस केही बोलेन । “जाने बुझ्ेकै गरेको हो बाबु” आमाले यति मात्रै भनिन् ।

“नरिसाउनुस् हजुर, यो सब तपाईंकै दाइको इच्छा अनुसार भा’को छ ।” परिवारबाट बस्नेत जी को विचार र भावनाको सम्मान भएकोमा हामी त खुसी छौँ । यसमा हजुरहरूले पनि चित्त नदुखाउनु होला, हामी छिमेकीले पनि यस्तो र उस्तो भन्नु हुँदैन । सकारात्मक परिवर्तनलाई सदर गर्ने तपाईं हाम्रो नै काम हो ।” बस्नेत बाकै दमाली सेवानिवृत्त शिक्षक भण्डारीले वस्तुस्थिति बुझउने प्रयत्न गरे । “हो नि !” भण्डारी सरकै कुरामा सितल लगायत अरूले पनि सही थापे ।

आमाले उठेर बत्तीको स्वीच अन गरिन् र भनिन्, “रात पर्यो, सावित्री जान्छे होली, जाऊ बाबु अलिकति खाना बनाऊ ।”

दिनेश भित्र पस्यो । आमा फेरि उही कुर्सीमा उसै गरि बस्नेत बाको फोटोतिर मुन्टो फर्काएर बसिन् ।

“हजुरले जे गर्नु भा छ, बस्नेत बाको सम्मान नै भएको छ । हामी समाजले यसको सिको गर्नुपर्छ । अरूले यसो उसो भने भनेर चित्त नदुखाउनु आमा । चलेको गलत चलनलाई मासेर नयाँ बसाउन धेर–थोर साह्रो गाह्रो हुन्छ नै । जगतै यस्तै छ ।” ढाडस दिने प्रयासमा सितलले भने । “अहिले हामी जान्छौँ । केही परेमा नजिकै छौँ, डाकीबोलाउनु होला ।” मैले थपेँ ।

अरू निस्किसकेका थिए । दिनेशका माइला बातर्फ विदाको भावमा हात जोड्दा उनी हामीलाई आँखा तरेर हेर्दै थिए । हामी निस्कियौँ ।