दशौं वर्ष प्रवेशको अवसरमा विशेष प्रकाशकीय तथा सम्पादकीय 

दशौं वर्ष प्रवेशको अवसरमा विशेष प्रकाशकीय तथा सम्पादकीय 

वर्गदृष्टि मिडिया प्रा.लि.द्वारा प्रकाशित ‘वर्गदृष्टि साप्ताहिक’ र सञ्चालित ‘मूलबाटो डटकम’ २०८२ असारबाट ९ बर्ष पूरा गरी १० औं वर्षमा प्रवेश ग¥यो । ९ वर्षका अमूल्य अनुभवसहित दशौं वर्ष प्रवेशको यो अवसरमा हामी सबै आदरणीय पाठक, ग्राहक, विज्ञापनदाता, प्रकाशन परिवारलगायत प्रत्यक्ष परोक्ष रूपमा हाम्रो प्रकाशनको यात्रालाई निरन्तर रूपमा सहयोग पु¥याउनुहुने सबै महानुभावहरू, सङ्घ, संस्था तथा सङ्गठनहरू सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं । र, सबैमा खुशी साट्दै हाम्रो प्रकाशनको आगामी यात्राको लागि शुभकामना प्रदान गर्नुहुने सबैप्रति कृतज्ञता जाहेर गर्दछौं ।
मिडियाहरूको भीडमा हाम्रो प्रकाशनको फरक उद्देश्य छ, पृथक पहिचान छ । हामीले हाम्रो प्रकाशन यात्राका थालनी बुर्जुवा मिडियाहरूले जस्तो ‘नाफा’ र ‘फाइदा’ अर्थात् ‘शुभलाभ’का लागि गरेका होइनौं, थिएनौं । हाम्रो उद्देश्य त निकै महान र युगान्तकारी थियो र छ । त्यो भनेको आवाजविहीनहरूको आवाज बन्ने, बर्षौैदेखि सीमान्तकृत बनाइएका, हेपिएका, चेपिएका, थिचिएका, शोषित, पीडित वर्ग र समुदायको हक, हित र अधिकारको पक्षमा आवाज उठाउनु, उनीहरूले गरेका हरेक आन्दोलन र सङ्घर्षमा साथ दिनु अर्थात् नेपालमा श्रमजीवी शोषित उत्पीडित जनताको वास्तविक ‘सङ्घीय जनगणतन्त्र’को स्थापनाका लागि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरूमा पहरेदारको भूमिका निर्वाह गर्नु हो । नवौं वर्षको अनुभवले हामीलाई आफ्नो लक्ष्यमा अझ निखारिन र तिखारिन धेरै सहयोग पु¥याएको छ । र, हाम्रो यो महान यात्रा र अभिभारा निरन्तर जारी छ, जारी रहिरहने छ ।
हामी हाम्रो जनपक्षीय पत्रकारिताको यात्रा सुरु गर्दैगर्दा नेपालको कम्युनिस्ट तथा जनपक्षीय आन्दोलनमा चारैतिर अवसरवादीहरू, संशोधनवादीहरू र प्रतिक्रियावादीहरूको चर्को घेराबन्दी थियो । देश र जनताको पक्षमा, सत्य र न्यायको पक्षमा, शोषित उत्पीडित जनताको आमूल परिवर्तनका पक्षमा उभिनेहरूलाई प्रतिक्रियावादी राज्य, दलाल पुँजीपति वर्ग र दलाल संसदवादीहरूको निकै ठूलो हेलाहोचो थियो । यस प्रकारको घेराबन्दी र हेपाहा प्रवृत्ति अध्यावधी कायमै छ । मिडियाको आलोचनात्मक चेत मृत प्रायः थियो । सत्ता, शक्ति र बहुराष्ट्रिय कम्पनीहरूको भजनमण्डलीमा परिणत भएको थियो । शक्तिकेन्द्रकै दलालीमा दिनरात व्यतित गरिरहेको थियो । पत्रकारहरूको तीव्र दलालीकरण भइरहेको थियो । सत्य र न्यायपूर्ण आवाजहरू मूलधारका मिडिया भन्नेहरूमा हराउँदै गएका थिए । मिडिया तथा पत्रपत्रिकाहरू खातापिता वर्गको मुखपत्रमा परिणत भएका थिए । तर, यो देशका आम श्रमजीवी वर्ग, गरिखाने वर्ग, यो वर्गको पक्षधर राजनीतिक आन्दोलनका विचार र समाचारहरू कथित मूलधारका मिडियाहरूले ‘ब्ल्याक आउट’ गरे । आमूल परिवर्तनकारी तथा क्रान्तिकारी राजनीतिक शक्तिलाई उनीहरूले ‘सचेत वेवास्ता’ गरे । विचार, राजनीतिक एजेण्डा, सङ्गठन र सङ्घर्षका मुद्दाहरूलाई उनीहरूले कहिल्यै स्थान दिएनन्, स्थापित हुन दिएनन् । कथित मूलधारका मिडियाले सँधै योजनाबद्ध रूपमा यो शक्तिमाथि ‘वक्रदृष्टि’ बनाइरहेको थियो । यहाँसम्म कि विज्ञापनका स्रोतहरूमा पनि एकहिसाबको ‘सिन्डिकेट’ खडा गरिएको थियो । यस्तो प्रतिकूल परिस्थितिमा एउटा अग्रगामी र क्रान्तिकारी विचार र राजनीतिसँग निकट रहेर निश्चित मिसन हाँसिल गर्ने उद्देश्यमा स्पष्ट भएर पत्रकारिताको थालनी गर्नु, त्यसलाई निरन्तरता दिनु र दशक लामो यात्रा तय गर्न सक्नु आफैमा निकै चुनौतीपूर्ण काम थियो ।
निकै ठूल्ठूला अभाव, समस्या र परिस्थितिका असाधारण प्रतिकूलताहरूलाई क्रान्तिकारी आशावादले पराजित गर्दै प्रकाशनलाई आजको दिनसम्म ल्याइपु¥याउन र निरन्तर रूपमा अगाडि बढाउन प्रकाशन टिममा कार्यरत एकाध व्यक्तिहरूबाट मात्र सम्भव थिएन र हुँदैन पनि ।
जनपक्षीय पत्रपत्रिका तथा मिडिया साँचो अर्थमा जनताका सम्पत्ति हुन र हुनु पनि पर्दछ । आम श्रमजीवी जनताको सहयोगका बिचबाट मात्रै यस्ता मिडियाहरू बाँच्छन् र हुर्कन्छन् । श्रमजीवी जनतासँगको सुमधुर सम्बन्ध, प्रगाढ र न्यायो सम्बन्ध जनपक्षीय मिडियाहरूका अपरिहार्य सर्त हुन् । विशाल क्रान्तिकारी जनपङ्क्ति नै जनपक्षीय मिडियाका जीवन हुन् । आम जनता नै यसका सञ्चालक, आम जनता नै यसका वास्तविक सञ्चालक हुन् र हुनुपर्दछ । यो स्प्रिटलाई हामीले अझैपनि गहिरोगरि समात्न सकेका छैनौं । आम जनताको बिचमा पु¥याउन सकेका छैनौं । विगतबाट पाठ सिक्दै, हाम्रा सीमा कमजोरीहरूबाट शिक्षा लिँदै आगामी दिनमा ‘वर्गदृष्टि साप्ताहिक’ र ‘मूलबाटो डटकम’ साँचो अर्थमा जनताको ‘मिडिया’ र आमूल परिवर्तनको संवाहक बनाउनका लागि निकै कठोर मिहनेत गर्न जरुरी छ । र, साँच्चिकै जनपक्षीय पत्रकारिताको क्षेत्रमा एउटा नमूनायोग्य वैकल्पिक मिडियाको रूपमा स्थापित गर्न आमूल परिवर्तनको लागि लडिरहेका व्यक्ति, समूह र शक्तिहरूले पनि त्यही रूपमा स्थापित गर्न प्रत्यक्ष परोक्ष रूपमा भूमिका खेल्न जरुरी छ ।
अन्त्यमा, दशौं वर्ष प्रवेशको यो सुखद् अवसरमा हामी आमूल परिवर्तनका पक्षधर सम्पूर्ण व्यक्ति, समूह तथा राजनीतिक शक्ति, आमूल परिवर्तनका पक्षधर विशाल जनपङ्क्ति, हाम्रा सबै आदरणीय पाठकहरू, विज्ञापन दाता, प्रकाशन परिवार र हामीलाई प्रत्यक्ष परोक्ष रूपमा निरन्तर रूपमा साथ दिंदै आउनु भएका महानुभावहरूप्रति पुनः हार्दिक आभार प्रकट गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं । सबै आदरणीय पाठकहरूबाट मूल्यवान सुझाव सल्लाहहरू प्राप्त हुने आशा अपेक्षा पनि राख्दछौं । धन्यवाद !
               –प्रकाशन परिवार