इरानको सार्वभौमिकतामाथि अमेरिका–इजरायलले गरेको ठाडो हस्तक्षेपको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर निन्दा

इरानको सार्वभौमिकतामाथि अमेरिका–इजरायलले गरेको ठाडो हस्तक्षेपको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर निन्दा

काठमाडौं । अमेरिकी साम्राज्यवादको संरक्षकत्वमा इजरायलले इरानमाथि गरेको भीषण सैन्य आक्रमणलाई इरानको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिंदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोर निन्दा गरेको छ ।

पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादको संरक्षकत्वमा इजरायलले इरानमाथि गरेको भीषण सैन्य आक्रमण पछि मध्यपूर्व भयानक युद्धको चपेटामा परेको छ र सर्व साधारण जनता युद्धको शिकार भएका छन् । सर्वप्रथम हाम्रो पार्टीे इजरायली सैन्य आक्रमणलाई इरानको सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप मान्दछ र त्यसको घोर निन्दा गर्दछ ।

पछिल्लो केही समयदेखि विश्वमा अन्तर साम्राज्यवादी अन्तरविरोधहरु चर्केर गएका छन् । पुरै विश्व विध्वंशक युद्धको भुंवरीमा फस्दै गएको छ । पछिल्लो इजरायल इरान युद्धमात्र होइन, रुस युक्रेन युद्ध पनि छिटै अन्त्य हुने संकेत देखिंदैन । विश्वमा साम्राज्यवादी तथा विभिन्न शक्ति केन्द्रहरुका बीचको ध्रुवीकरण बढेर गएको छ । युद्धका नयाँ मोर्चाहरु खोलिने र पुरा विश्व तेस्रो विश्वयुद्धको भुँवरीमा फस्ने खतरा थप टडकारो बनेको छ । यो सबैका पछाडि साम्राज्यवादी शासकहरु जिम्मेवार छन् र त्यसमा प्रमुख भूमिका अमेरिकी साम्राज्यवादको रहेको छ ।

यस स्थितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु महान संभावना र गंभीर खतराका बीचमा खडा छन् । क्रान्तिका दुश्मनहरुका बीच युद्धहुनु भनेको क्रान्तिका लागि अनुकूल परिस्थिति निर्माण हुनु हो । यो स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरु एउटा साम्राज्यवादी शक्तिका विरुद्ध अर्को साम्राज्यवादी शक्तिको पछि लागेर होेइन क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिहरुका बीच संयुक्त मोर्चा गरी साम्राज्यवादी युद्धका विरुद्ध खडा हुनु र क्रान्तिको तयारीमा लाग्नु अहिलेको आवश्यकता हो । क्रान्तिकारी कम्युनिस्टहरुसँग महान संभावनालाई यथार्थमा बदल्ने यो बाहेक अर्को विकल्प छैन ।”