वसवराजु प्रति श्रद्धान्जली

वसवराजु प्रति श्रद्धान्जली

कविता

उस्तै उस्तै हुने रहेछ माटोको सुगन्ध
चाहे लीमाको होस् चाहे थबाङको,
छत्तिसगढको होस् वा लेनिनग्रादको
उस्तै उस्तै हुने रहेछ घामको राप
चाहे यनानको होस् चाहे बेथानको,
दन्तेबाडाको होस् वा पेत्रोग्राडको ।

असमानताका खाडलहरू राखिरहने र पूर्ण खोज्नेहरू बीच
हुँदोरहेछ सधैँ सधैँ घम्साघम्सी
अन्यायको जातो फाल्ने र राख्न चाहनेहरूको बीचमा
चल्दो रहेछ सधैँ सधैँ तानातानी ।

उस्तै उस्तै हुने रहेछ सङ्गीतको सरगम
पेरुका वस्तीमा इनकलाबी गीत गाउँदै हिँडेका मान्छे
र मुडभरामा मादल ठोक्दै हिँड्ने जनकलाकारहरू
वा जकार्ताका गल्लीहरूमा गाउँदै गरेका जीवनहरू ।

उस्तै उस्तै हुने रहेछन् पानीका कलकल
चाहे भोल्गामा बगोस् वा गङ्गामा वा अमेजनमा
नाइलमा बगेको होस् वा बगेको होस् भेरीमा
स्वतन्त्रता उत्तिकै प्यारो हुँदो रहेछ
भारतको होस् वा प्यालेस्टाइनको
मुक्ति उत्तिकै प्रिय हुँदो रहेछ
बेइजिङको होस् वा होस् अफ्रिकाको ।

उस्तैउस्तै हुँदोरहेछ बलिदान स्वाभिमानीहरूको
चाहे रूसी हुन् चाहे होऊन् प्यालेस्टाइन
रक्तनाता उस्तैउस्तै लाग्ने रहेछ,
कसिने मुठ्ठी झन् दर्विला हुने रहेछन्
कृष्ण सेनको सहादतको होस् वा होस् वसवराजुको
यो बेला आँसु झर्ने भन्दा उठ्दो रहेछ आक्रोशको आँधी ।

छेक्दो रहेनछन् उद्वेलित भावनाहरूलाई
एन्डिजका शृङ्खला वा हिमालयका टाकुराहरूले
बग्दो रहेछन् आँखाहरू अनायास अनायास
बोकेर बदलाभाव र जित्नका लागि दृढता
सहादतको मर्म उस्तै उस्तै हुँदो रहेछ
अभिजात विरुद्ध उठेका मुठ्ठी उस्तै उस्तै लाग्दारहेछन्
नेपालका होऊन् वा होऊन् भारतीय फासिवाद विरुद्ध उठेका स्वरहरू
उस्तै उस्तै हुने रहेछन् चराका कलरव
चाहे गाउन सुदुर ब्रुनाईको जङ्गलमा वा सेलवाजमा
चाहे रमुन दण्डकारण्यमा वा कर्णालीको पिलीमा
उस्तै उस्तै सुनिने रहेछ
कोइलीको गीत र नाइटिङ्लको गीत
स्वप्न कथा एउटै भएपछि ।

२०८२/२/१९ घोराही दाङ
(नाम्बाला केशव राव ‘वसवराजु’ केही दिन अघि भारतीय सत्ताबाट गैरन्यायिक हत्या गरिएका भारतीय कम्युनिस्ट पार्टी माओवादीका महासचिव हुन्)