एक बसवराजु मारेपछि
अर्को बसवराजु जन्मिन्छ
श्रमको रगतबाट, पीडाको गर्भबाट
फेरि उठ्छ, फेरि बोल्छ
नझुक्ने माटो जस्तै !
हो, आज खुशी छ साम्राज्यवादको पाल्तु कुकुर
हो, आज हाँस्दैछन् ती कुलीन निर्दयी हत्याराहरू
जसको खुशी रक्तपातमा फुल्छ
अनि सड्किन्छ निर्दोषको चित्कारमा ।
हिजो चे गोयभारा लडाईंमा ढल्छ
आज बसवराजु सहिद हुन्छ
महलहरू, फाइभ–स्टारका झ्यालहरूमा
सामन्ती सास चलमलाउँछ
र देह लुटिन्छ फेरि
असक्त नारीका आवाज चिथोरिन्छ ।
हो, तेरा जयघोषमा आत्मसम्मान हार्छ
समानता नाङ्गिन्छ, अधिकार लाजले ढाकिन्छ
तेरो “शान्ति” भनेको
हत्या ढाक्ने मास्क,
दमन लुकाउने धर्मको खोस्टो ।
बसवराजु त मरेनन्
तँ सिध्याउन खोज्छस्
तर बुझ
बसवराजु लाखौं छन्, करोडौं छन्
एक अर्ब बीस करोड त
तेरो घरको छायाँमा बसिरहेछन् ।
तँ भन्थिस्– ऊ आतङ्ककारी !
तर ऊ त सर्वहारा थियो
श्रमजीवी, किसान, मजदुरहरुको
उज्यालो भविष्यको सपना देख्ने मान्छे
वर्गविहीन समाजको साँचो उत्तराधिकारी ।
बसवराजु मरेन
ऊ उठ्नेछ हरेक चोकमा
हातमा घाउ लिएर होइन
अधिकारको बाण बनेर उठ्नेछ
तेरो पाखण्ड जलाई राखमा मिलाउनेछ ।
बसवराजु मरेको होइन
ऊ फैलिएको छ अर्ब जनतामा
जङ्गलमा होइन
तेरो वरिपरि, तेरै सहरमा,
तेरो तानाशाही समयको सासमा
मानवताको उज्यालो
वर्गविहीन समाजको सार थियो
बसवराजु क्रान्तिकारी ज्वारभाटा थियो ।






























