मानिसले आ–आफ्नो भोगाइ, बुझाइ, समय र सन्दर्भअनुसारको चिन्तन मनन् र ज्ञान प्राप्त गर्दछ । आ–आफ्नो परिस्थिति र पर्यावरण अनुसारको दर्शन तयार पार्दछ । त्यसैले हरेकको आ–आफ्नो रुचि, क्षमता र इच्छा हुने गर्दछ । यही कारण मानिसमा आ–आफ्नै किसिमको सौन्दर्यवोध हुने गर्दछ । त्यसैले यो संसारमा सौन्दर्य निरपेक्ष र सार्वभौम हुन सक्दैन । शुरुमा कला, साहित्यलाई हेर्ने सौन्दर्यशास्त्रको मात्र चर्चा भएको देखिन्छ । कला साहित्यको सौन्दर्य बारेको दर्शन अथवा सौन्दर्यशास्त्रको अवधारणा भने अठारौं शताब्दीपछि मात्र भएको हो । हेगेलले सौन्दर्यशास्त्रलाई सम्पूर्ण कलाको दर्शनका रूपमा स्थापित गरे ।
हेरेर, सुनेर खाएर र बुझेर अन्तर्हृदयले सुखानुभूती वा परख गरिने अवस्थालाई सौन्दर्य भनिन्छ । सौन्दर्यको परख जति सरल छ उति जटिल पनि छ । मन छुने साहित्य, कला, संस्कृति, रचनाहरू जसले समाजलाई सोच्न बाध्य बनाओस्, मनलाई विचार गर्न जागृत तुल्याओस्, मानवीय समवेदना झल्काओस्, इतिहास पढाओस् यी सबै सौन्दर्यशास्त्रका क्षेत्रहरू हुन ।
एउटै बस्तु कुनै अवस्थामा सुन्दर बन्छ । कुनै अवस्थामा असुन्दर बन्दछ । उदाहरणको लागि तपाईं भोको हुनुहुन्छ त्यस अवस्थामा रुखासुख्खा खानेकुरा पनि ज्यादै मीठो हुन्छ तर अघाएको अवस्थामा मिष्ठान्न पनि अरूची लाग्छ । सौन्दर्यबोधको अवस्था तह तहको हुन्छ । एउटा वस्तु हेर्नू छाम्नु र खानुको अनुभूती एकै प्रकारको हुँदैन । उदाहरणको लागि एकदाना पाकेको आँप लिऔँ । पाकेको आँप देख्नेबित्तिकै आँखाले एउटा अनुभूति गर्छ जुन सुन्दर हुन्छ अब पाकेको आँप हातले छुनुस त्यो गिलो छ अनि तपाईं हाम्रो मनको कल्पनामा मीठो अनुभूति जन्मिइसकेको हुन्छ । जब हामी पाकेको आँप खान्छौ नि त्यसको स्वादको अनुभूति अघि आँखाले देखेको र हातले छामेको भन्दा फरक हुन्छ । जब हामी पाकेका आँप खाइरहन्छौँ एक प्रकारको मीठो आनन्दानुभूती गर्दछौँ, यो बस्तुमा देखिने वा पाइने सौन्दर्य हो । हाम्रो पेट भरिएपछि पनि हामीले आँप खाइरह्यौँ भने त्यो अवस्थामा त्यही स्वादिलो आँप कुरूप लाग्न थाल्छ । एउटै वस्तु अवस्थानुसार सुन्दर र असुन्दर दुबै हुन्छ । मानौँ हामी गर्मीले भकभकी पाकेका छौँ र त्यस्तो बेलामा चिसो पानीमा डुबुल्की मार्दा कति सुन्दर लाग्छ तर त्यही पानी हो जब पुस माघको जाडोमा हामी त्यसरी डुबुल्की मार्न सक्दैनौँ । अर्थात सुन्दर र असुन्दरको द्वन्द्व यसरी बुझ्न सकिन्छ । यो प्रकृतिमा रहेको सौन्दर्य हो ।
सौन्दर्यको अध्ययन बिचार अभिब्यक्तिभित्र गरिनु पर्ने हुन्छ । यसको परिणाम कला साहित्यमा प्रकट हुन्छ । कला चेतना सामाजिक ब्यबस्थाका रूप हुन । साहित्य कलाको कुनै पनि रूपको उत्पत्ती, विकास, उत्कर्ष र पतनका घटनाहरू मानव समाजको विकास र त्योसित भएका घटनाहरूको सन्दर्भमा नै राम्ररी बुझ्न सकिन्छ । सौन्दर्यचिन्तन खासगरी साहित्य कलामा बढी प्रयोग हुने धारणा हो तर हाम्रो देशमा साहित्य कलाको क्षेत्रमा सौन्दर्यलाई बुझ्ने र अभिव्यक्त गर्ने परिपाटी बसिसकेको भने छैन । साहित्य कलाभित्रको सौन्दर्यलाई बुझ्ने धारणा माक्र्सवादी अध्ययनको क्षेत्रभित्रको मान्यता हो । यद्यपि गैह्र माक्र्सवादीहरूले पनि आ–आफ्नो दृष्टिकोण अनुसार बुझ्ने र व्याख्या गर्ने गर्दछन् ।
नेपालमा सौन्दर्यचिन्तनको अध्ययन र विमर्शको ऐतिहासिक परम्परा देखिँदैन । परन्तु साहित्य तथा कलाको अध्ययन, चिन्तन र समीक्षाको प्रक्रियामा भने सौन्दर्यचिन्तनको परम्परालाई पनि फेला पार्न सकिन्छ । नेपालमा सौन्दर्यचिन्तन सम्बन्धी अध्ययन समाजवादी यथार्थ परक ढङ्गबाट साहित्य लेखनको चर्चा हुन थालेपछि भएको हो । यस गहन विषयमा माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य, निनु लगायतले निकै धेरै काम गर्नुभएको छ । नेपालमा सौन्दर्यचिन्तनको क्षेत्रमा केन्द्रित रही अध्ययन गर्ने कुनै विशिष्ट ऐतिहासिक परम्परा देखिँदैन । परन्तु साहित्य तथा कलाको अध्ययन, चिन्तन र समीक्षाको प्रक्रियामा भने सौन्दर्यचिन्तनको परम्परालाई पनि फेला पार्न सकिन्छ । माक्र्सवादी सौन्दर्यचिन्तनका थुप्रै विषयहरूमा प्रगतिवादी स्रष्टाहरू अनभिज्ञ रहेको र यस किसिमको सैद्धान्तिक चर्चा परिचर्चाप्रति उनीहरूको उपेक्षा र अरूचीका कारणले पनि माक्र्सवादी सौन्दर्यशास्त्रको विकासमा अवरोध पुगेको धारणा अर्का सौन्दर्य चिन्तक निनु चापागाईंको रहेको छ, तर पनि नेपाली कला चिन्तनमा श्याम प्रसाद, कृष्णचन्द्र सिँह प्रधान, गोबिन्द भट्ट, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा. जगदीशचन्द्र भण्डारी, घनश्याम ढकाल, अमर गिरीहरू सौन्दर्यचिन्तनको क्षेत्रमा कृयाशील भएको पाइन्छ ।
सौन्दर्यको प्रयोग र अनुभूति कलाको माध्यमले प्राप्त हुन्छ । सिर्जनामा चातुर्य कौशल विशिष्टता आदि सम्पन्न गरिने कार्य नै कला हो । चित्रकला, वास्तुकला, कथा, कविता निबन्ध यी कला मापनका क्षेत्रहरू हुन । हरेक कला साहित्यमा विचारको विविधता रहेको हुन्छ । साहित्यमा सौन्दर्यको खोजी गर्दा प्रगतिवादी धारामा लेखिएका र समानान्तर वा यथास्थिती धारामा लेखिएका रचनाहरूको निक्र्याेल गर्नुपर्ने हुन्छ । साहित्य र कलामा परस्पर विरोधी दुई तत्व हुन्छन् । तिनीहरूलाई जीवनबोधी र जीवन विरोधी भनेर निक्र्याैल गर्ने गरिन्छ । मानव समाजको चेतनालाई बढोत्तरी हुनबाट रोक्ने सिर्जना जीवन विरोधी सिर्जना हुन । यस्ता सिर्जनामा ईश्वरीय शक्तिको उपासना वा व्याख्या गरेर भाग्य वा दैवीशक्ति नै अपराजेय छन् र यो सृष्टिमा जे जति गतिविधि हुन्छन् त्यो ईश्वरीय तागतले नै हुन्छ भन्ने भ्रम दिनु जीवन विरोधी सिर्जना हुन । त्यसमा स्वैरकल्पना र भ्रमको भारी लादिएको हुन्छ । यस्तो साहित्यले समाजमा हुने होची अर्घेली विभेदजन्य परिस्थिति ईश्वरीय देन हो भनेर जवर्जस्त बुझाउने दुस्सहास गर्दछ । यस्तो साहित्य कलालाई यथास्थितिवादी वा पुरातनवादी साहित्य भनिन्छ । यसको विरुद्ध अर्को पाटो पनि छ, यसले हरेक वस्तुहरूको वैज्ञानिक कारण खोज्छ । समस्याहरूको समाधान पनि पहिल्याउँछ । यस्तो साहित्य प्रगतिवादी साहित्य भनेर बुझिन्छ ।
प्रगतिवादी साहित्य कलाको दार्शनिक आधार माक्र्सवाद हो । साहित्य कलामा सुन्दर र असुन्दरको भेद यसैबाट छुट्याउनुपर्ने हुन्छ । प्रगतिवादी साहित्य कला रुढिवादको विरुद्ध र वैज्ञानिक चेतनाको पक्षमा सिर्जना गरिएको हुन्छ । प्रगतिवादी दृष्टिमा साहित्य जीवनमूल्यको आदर्शीकरण होइन बरू त्यहाँभित्रका ग्राह्य र त्याज्य पक्षको अन्वेषण गरि ग्राह्य तत्वलाई नवीन मूल्य प्रदान गरि पुरातन मूल्यलाई नवीनताले प्रतिस्थापन गर्नु हो । सौन्दर्य साहित्यमा अन्तरनीहित उपयोगी गुण हो । साहित्यले जीवन चाहन्छ । त्यो जीवनमुखी हुनुपर्छ । जीवनमुखी भन्नु नै सर्वहारावर्गीय साहित्य हो । किनभने संसारको सिर्जना सर्वहाराबाट भएको हो । तिनै सर्वहाराको पसिनामा मानव जातिको सुख र सुविधा उत्पन्न भएको हो । वुर्जुवाहरू यसप्रकारको यथार्थतालाई स्वीकार गर्न नसकेर प्रगतिवादीहरूलाई नारावादी लेखन भन्दछन् । तिनीहरू स्वैरकल्पना र यौनको केन्द्रमा कोल जस्तै घुमेर त्यही परिधिबाट संसार देख्दछन्, जुन संसार उसको संसार हो । उनीहरू साहित्य कला भनेको निजी आनन्दानुभूती मात्र मान्छन् । समाजमा मानव जातिको श्रम खाने एकाथरी वर्ग छन् उनीहरू जनविरोधी हुन र उनीहरू त्यो यथार्थलाई स्वीकार गर्न सक्दैनन् त्यो वुर्जुवा साहित्यको प्रवृत्ति हो । तर प्रगतिवादीहरू नारा मात्र लेख्दैनन् उनीहरू सभ्य र सौम्य जीवन पनि लेख्छन् नारामा उज्यालो खोज्ने तिनीहरूको उद्देश्य हुन्छ । सुन्दर समाजको विकसित रूप प्रगतिवादीहरूको उद्देश्य हुन्छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने सामाजिक अस्तित्वबाट पृथक गरेर मानवीय कृयाकलापलाई बुझ्न सकिँदैन । साहित्य कलाको कुनै पनि रूपको उत्पत्ती, विकास, उत्कर्ष र पतनका स्थिति मानव समाजको विकास र त्यसमा भएका ऐतिहासिक घटनाहरूको सन्दर्भमा राम्रोसित बुझ्न सकिन्छ । ‘समाज विकासको आन्तरिक नियमहरूको आधारमा मात्र साहित्य कलाको सहि ज्ञान प्राप्त गर्न सम्भव हुँदैन भन्ने माक्र्स र एङ्गेल्सको अवधारणा यहाँनेर मननीय देखिन्छ । उनीहरूको दृष्टिकोणमा साहित्यको सार त्यसको आधारशिला विकास र सामाजिक भूमिका केवल सामाजिक प्रणालीको समग्र विश्लेषणका आधारमा मात्रै बुझ्न सकिन्छ भन्ने रहेको छ । सामाजिक प्रणालीभित्र पनि आर्थिक तत्वले नै निर्णायक भूमिका खेल्दछ । साहित्य कला पनि सामाजिक चेतनाको एउटा प्रारूप भएकाले त्यसमा हुने परिवर्तनको कारणले पनि मानिसहरूको अस्तित्व खोज्नु पर्दछ भन्ने मान्यता रहेको छ । उनीहरूका अनुसार साहित्य र कला परिस्थितिबाट मात्र प्रभावित हुँदैन बरु यसले परिस्थितिलाई पनि प्रभावित पार्दछ । यसले क्रान्ती र पुनःनिर्माणमा महत्वपूर्ण कार्य गर्दछ । आर्थिक उत्पादन र राजनीतिको वर्गचरित्र अनुसार कला सिर्जनाको अन्योन्यास्रित सम्बन्ध हुन्छ । तसर्थ हामीले के बुझ्नु पर्दछ भने साहित्य कलामा यथार्थको प्रतिबिम्बन अनिवार्य हुनु आवस्यक पर्दछ । मानिसलाई सबै किसिमका उत्पीडन र शोषण मुक्त जीवनको दिग्दर्शन गराउने हुनाले कला इतिहासमा यसको गौरवशाली भूमिका रहेको छ ।
पछिल्लो चरणमा स्थापित भएको नयाँ यथार्थभित्रको सौन्दर्यको नविनता पुरानो समाजले अनुभूत गरेको सौन्दर्यबोध भन्दा फरक छ । सामाजिक गति बदल्न भए गरेका सामरिक शारीरिक र मानसिक प्रकार्यबाट प्राप्त सौन्दर्य जीवन सङ्गातिको उच्चतम अवस्थिति हो ।