जानकादेवीको निधनमा इच्छुक प्रतिष्ठानद्वारा श्रद्धाञ्जली व्यक्त

जानकादेवीको निधनमा इच्छुक प्रतिष्ठानद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं÷२५ बैशाख
वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यको आमा जानकादेवीको निधनमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज एक वक्तव्य जारी गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीद्वारा जारी वक्तव्यमा भनिएको छ – ‘यस इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक तथा पूर्व अध्यक्ष मोहन वैद्य (चैतन्य) मातृशोकमा पर्नुभएको छ । वि.सं. १९८३ पुस १५ गते जन्मनुभएकी आमा जानकादेवी उपाध्याय १०० वर्ष पुग्नुभएको थियो । अस्पतालबाट डिस्चार्ज गरि घोराही रतनपुर स्थित आफ्नै निवासमा लगिएको आधा घण्टापछि बेलुका ५ ः ३० बजेको समयमा निधन भएको हो । आमाको दुःखद निधनमा यस इच्छुक सांस्कृतिक प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दै आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै आमाको निधनबाट शोकमा पर्नुभएका संरक्षक चैतन्य र उहाँको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव समेत रहनुभएका मोहन वैद्य(किरण)को साहित्यिक नाम चैतन्य हो । उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष र हाल संरक्षक रहनुभएको छ । चैतन्यको आमाको जन्म वि.सं.१९८३ पुस १५मा प्युठानमा भएको हो । विवहपश्चात् उहाँ प्युठानकै खैरामा जीवनको आधा समय विताएपछि उहाँको परिवार बीसको दशकमा दाङमा बसाइँ सरेदेखि दाङको अस्परीमा रहँदै आउनुभएको थियो । छोराहरु सबै घोराहीमा बसाइँ सरेपछि उहाँ घोराही उपमहानगरपलिका १५ रतनपुरमा छोराहरु हेमराज वैद्य र मधुसूदन वैद्यसँग बस्दै आउनुभएको थियो । जानकादेवीको कोखबाट सात जना छोराहरु क्रमशः मोहन वैद्य, वामदेव पोख्रेल, नारायण पोख्रेल, दामोदर पोख्रेल, गोपाल वैद्य, हेमराज वैद्य र मधुसूदन वैद्य तथा एक छोरी रमा पोख्रेलको जन्म भएको छ ।

विगत केही महिनादेखि उहाँ विरामी पर्दै आउनुभएको थियो । उहाँलाई अस्पतालमा उपचार गराउँदै घरमा ल्याउँदै गरिरहेकोमा २३ गते पुनः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघनकक्षमा राखेर उपचार गराएकै अवस्थामा स्वास्थ्यमा कुनै सुधार नआएपछि परिवारले घरमै लैजानुभएको थियो । हिजो २४ गते अस्पतालबाट घरमा लगेको आधा घण्टापछि आमा जानकादेवी उपाध्यायको निधन भएको पारिवारिक श्रोतबाट जानकारी भएको छ । आमाको करिब अन्तिम अवस्था भएपछि आफू पनि लामो उपचारपछि आराम गरिरहनुभएका मोहन वैद्य आफ्नी जीवनसाथी सुष्मा सहित २३ गते काठमाडौंबाट दाङ जानुभएको थियो । हिजै आमाको अन्त्यष्टी रजेना स्थित शङ्खपिपल घाटमा गरिएको छ । उहाँलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका जेठो छोरा मोहन वैद्य चैतन्यले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । अन्त्यष्टी कार्यमा पार्टीका चार नम्बर व्युरोका सदस्यस्हरु, दाङको जिल्ला पार्टीका सदस्यहरु सहित परिवार, आफन्त, सुभेच्छुक, उद्योगी, व्यापारी लगायतको ठूलो उपस्थिति रहेको थियो ।