आगामी १८ गते अर्थात मे एकका दिन नेपाललगायत विश्वभरनै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर प्रत्येक बर्ष श्रमिक दिवस मनाइदै आएको हो । उक्त आन्दोलनकाक्रममा सिकागोको हेय मार्केटभन्ने स्थानमा बम बिष्फोट भएको थियो । सो बम बिष्फोट कसले गराएकोभन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरहरुमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागेर सातजना मजदुरहरुको मृत्यु पनि भएको थियो । उक्त प्रहरी दमनका बाबजुद पनि मजदुर आन्दोलनले सफलता हाशिल गरेको थियो । इतिहासलाई हेर्दा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन तथा श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको पाइन्छ । त्यसयता सन् १८९० देखि हरेक बर्ष अंग्रेजी महिनाको मे एक तारिखमा श्रमिक दिवस मनाइदै आएको छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वकारुपमासमेत लिँदैआएका छन् र आफ्ना पिर मर्का र हक,अधिकारका कुराहरु उठाउने गरेका छन् । पछिल्लो समयमा नेपालमा सरकारीस्तरबाट समेत अन्तराष्ट्रिय श्रमिक दिवसलाई मान्यता दिइएको छ र श्रमिकहरुका पक्षमा बिभिन्न प्रतिबद्धताहरु ब्यक्तगर्ने गरिएको छ । तर नेपाल लगायतका विश्वभर नै श्रमिकहरुले अझै पनि आफ्नो हक, अधिकार र सुरक्षा प्राप्तगर्न सकिरहेका छैनन् । अझैपनि विश्वभर बिभिन्न किसिमका मजदूर आन्दोलनहरु भैरहेका छन् । मजदूरहरुले आफ्नो हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिनका लागि बिभिन्न कार्यक्रम गर्नुपरिरहेको छ । नेपालमा ००७ सालमा विराटनरगमा भएको मजदुर आन्दोलनसँगै अन्तराष्ट्रिय मजदूर दिवश मनाउन थालिएको पाइएको छ । ०४६ सालको राजनीतिक परिवर्तन अघिसम्म मजदूर दिवस मनाउनसमेत प्रतिबन्धजस्तै थियो । ०४६ सालको आन्दोलनमा मजदूरहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । आन्दोलन सफल भएपछि नेपालमा पनि सो दिवसमा सार्वजनिक बिदा दिन थालियो । त्यसपछि अखिल नेपाल ट्रेड यूनियन महासंघ, नेपाल ट्रेड यूनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ लगायतका मजदुर संगठनहरु खुलेर बाहिर आएभने औपचारिक र खुल्लारुपमै बिभिन्न स्थानमा सभालगायतका बिविध कार्यक्रमगरी मे दिवस मनाउन लागियो । संसारभर मजदूरहरु पनि बिबिध प्रकारका रहेका छन् । सबैका आआफ्नो पेशा अनुसारका बिबिध समस्याहरु रहेका हुन्छन् । त्यसैले सबै प्रकारका श्रमिकहरुको हक अधिकारको सुरक्षाका लागि आवाज उठाउनु मे दिवसको मूल उद्देश्य रहने गरेको छ । नेपालमा ०७२ सालको संविधानमै श्रमिक अधिकारको व्यवस्था गरिएको भएपनि त्यसको सही ढंगले कार्यान्वयनभने हुनसकेको छैन । उक्त संवैधानिक व्यवस्था कार्यान्वयनगर्न सरकारले ल्याएको श्रम ऐन–०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा पनि ल्याएको छ तर त्यो केवल औपचारिकतामामात्र सीमित रहने गरेको पाइन्छ ।
आफ्नो श्रम बेचेर मेहनतको कमाई खाने श्रमिकको पर्वकारुपमा रहेको मे दिवसलाई श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामूहिकरुपमा बुलन्दगरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोगगर्ने र सम्पूर्ण श्रमिकहहरुको एकता, वीरता र संघर्षको प्रतीककारुपमा मान्ने गरिन्छ । पूँजीपति बर्गले मजदुरलाई मेशिनझै चौबिसै घण्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहारगर्ने परिपाटीका विरुद्ध संगठित भएका ट्रेड यूनियन आन्दोलनहरुका बारेमा मे दिवसका दिन विशेष चर्चा पनि गर्नेगरिएको पाइन्छ । पछिल्ला दिनमा नेपालको सरकारको गलत नीति र बिद्यमान राजनीतिक ब्यवस्थाको त्रुटीका कारण उद्योग तथा कल कारखानाहरु बन्द हुँदैगएका छन् । यतिबेला झण्डै ५० लाख नेपाली श्रमिक विश्वका बिभिन्न मुलुकमा कामको खोजीमा भौतारिएको अवस्था छ । झण्डै एक हजार नेपाली श्रमिकहरु विश्वका बिभिन्न जेलमा थुनामा रहेका छन् । बिभिन्न घटनामा परी मृत्युहुने नेपाली श्रमिकहरुको संख्या प्रतिबर्ष झण्डै २०० भन्दा माथि रहने गरेको छभने अंगभंग भएर नेपाल फर्कनेहरुको अवस्था र संख्या पनि बढ्दो छ । पछिल्लो समयमा यहाँको लोकतान्त्रिक भनिएको सरकारले नेपालमा उद्योग÷ब्यवसाय सञ्चालन गर्ने÷गराउने र नेपालीलाई आत्मनिर्भर बनाउनेभन्दा पनि विश्वका बिभिन्न मुलुकमा श्रम संझौता गरेर नेपाली श्रमिकको निर्यातगर्ने कार्यलाई प्रमुखता दिनेगरेको छ । जसलेगर्दा पछिल्ला दिनमा नेपालमा मजदूर आन्दोलन पनि कमजोर हुँदैगएको देखिएको छ । बिभिन्न पार्टीका मजदुर संगठनहरु भएपनि उनीहरुकाबीचमा एकतासमेत हुननसक्ने अवस्था सिर्जना गरिएको छ । भनिन्छ सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरुले दिनमा १८ देखि २० घण्टासम्म काम गर्नुपर्ने बाध्यता थियो । सिकागो आन्दोलनले मुख्यत अमेरिकाका श्रमिकहरुको जीवनमा आमूल परिवर्तन आएको मानिन्छ । जसको प्रभाव बिस्तारै विश्वभर फैलिएर गएको छ । तर अझै पनि मजदूरहरुले विश्वभर नै न्युन पारिश्रमिकमा थप समय कामगर्नु परिरहेको अवस्था छ ।
अमेरिकाको सिकागो शहरका मजदुरहरुले देखाएको त्यतिबेलाको वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापीरुपमा हलचल ल्याउने काम गरेपनि पूँजीपतिहरुले पनि सोही किसिमले आफ्ना रणनीतिहरुमा परिवर्तन गर्दैलगेको देखिएको छ । रुसमा सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भएको थियो । जसबाट विश्व इतिहासमा पहिलोपटक श्रमजीवी बर्गको समाजवादी राज्य सत्ता स्थापना पनि भयो । त्यसअघि सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर बर्गीय सत्ता हाशिल गरेको थियो तर त्यो ७२ दिनमै ढल्न पुगेको पाइन्छ । लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले दीर्घकालीन रुप धारणा गरेको थियो । त्यतिबेला रुसमा भएको अक्टोबर क्रान्तिकै प्रेरणाबाट पछिल्ला दिनहरुमा विश्वका अन्य धेरै देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरु सम्पन्न भएका थिए । तर उक्त परिवर्तनहरुले स्थायित्व पाउन सकेनन् । जसलेगर्दा आज पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा विश्वमै मजदूर र किसान संघर्षहरु चलिरहेका छन् । विश्वमै मे दिवसले श्रम र श्रमजिवीहरुको जीवनमा युगान्तकारी परिवर्तन ल्याएको हो । तर त्यसले पूर्णत सफलताभने पाउन सकिरहेको छैन । तर पनि निरन्तर संघर्षका कारण श्रजजिवी बर्गले कतिपय उपलब्धीहरु प्राप्तगर्न सकेका छन् । विश्वमा प्रबिधिको विकासलेगर्दा श्रमिकहरु बिस्थापित हुने अवस्था बढ्दै गएको छ । त्यसैले श्रमजिवीहरुको आन्दोलन र मागमासमेत कतिपय परिवर्तनहरु आएका छन् । नेपालमा यतिबेलाको अवस्थामा एकातिर किसानहरु बिस्थापित भएर अन्तराष्ट्रिय श्रमिकमा परिवर्तनहुँदै गएका छन् । नेपाल कृषिप्रधान देशको मानयताबाट अब क्रमशः श्रमिक प्रधान देशमा परिणत हुनथालेको छ । नेपालीले विश्वका बिभिन्न मुलुकमा गरेको श्रमबाट आउने बिपे्रश्रणले नेपालको अर्थतन्त्र धनिएको अवस्था छ । तर पनि श्रमिकको सुबिधा र सुरक्षाका लागि प्रभावकारी कदमहरु चालिएका छैनन् । उत्पादनका क्षेत्रमा प्रबेश गरेको वैज्ञानिक पद्धतिले नेपालका बिभिन्न क्षेत्रलाई प्रभावित गरेको देखिएको छ । सरकारी तथ्यांकहरुलाई हेर्दा नेपालमा पहिलेनै ११ प्रतिशत बेरोजगारी रहेको अवस्था थियो । हाल आएर सो संख्या झन बढेर गएको छ । हालसम्म पनि कम्युनिष्ट पार्टीहरुले विश्वका मजदुर एक होऔंभन्ने नारालाई अगाडि सारेका छन् । उनीहरुको प्रयास आम मजदूरहरुलाई एकताबद्ध गराउनेमा केन्द्रित छभने साम्राज्यवादीहरुले मजदूरहरुलाई फुटाउन र छिन्नभिन्न बनाउन बिभिन्न हथकण्डाहरु अपनाउने गरेको देखिएको छ । उनीहरुले विश्वभरनै जातीय र लिङ्गियलगायतका बिभाजनहरु बढाउँदै लगेको देखिएको छ । सूचना प्रबिधिको विकासले पनि विश्वमा श्रमजिवी जनताका हक अधिकारका लागि भैरहेका आन्दोलनहरुलाई बिबिधिकरण गर्दैलगेको देखिन्छ । पछिल्ला सरकारी तथ्यांकहरु हेर्दा नेपालीले १६३ भन्दा बढी देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएको पाइएको छ । मध्य र पूर्वी युरोपेली क्षेत्रका देशहरु रोमानिया, क्रोएशिया, अल्बानिया, पोल्याण्ड र पश्चिम एशियामा साइप्रस र टर्कीजस्ता देशहरु केही वर्षयता नेपाली श्रमिकहरुको आकर्षणमा पर्ने गरेका छन् । नेपालबाट सबैभन्दा बढी रोजगारीका लागि साउदी अरेबिया जानेगरेको पाइएको छ ।
त्यसपछि कतारमा सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि जानेगरेको अवस्था छ । मलेसिया, कुवेत, बहराइनलगायतका देशमासमेत धेरै नेपाली श्रमिकहरु पुगेका छन् । कुनै पनि काममा दक्ष नभई झण्डै ४० प्रतिशत नेपाली अदक्ष कामदारहरु वैदेशिक रोजगारीमा गएको अध्ययनहरुले देखाएका छन् । त्यसैगरी निर्माण क्षेत्रमा ६.१ प्रतिशत, सवारी चालक÷मेशिन अपरेटकारुपमा आठ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रका लागि ८.९ प्रतिशत नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ । त्यसैगरी अन्य सेवाजन्य पेशाहरुमा २५.६ प्रतिशत र त्यसमध्येको नर्सिङ÷हेरचाहजन्य सेवामा २.८ प्रतिशत रहेको पाइएको छ । सबैभन्दा ध्यानदिनुपर्ने कुरा नेपालमै रहेर निर्माण, यातायात, पर्यटन तथा होटलमा कार्यरत मजदुर, कृषि मजदुर तथा अन्य असंगठित क्षेत्रमा कार्यारत मजदुरहरु र विदेशमा रहेका शारीरिक श्रमगर्ने वर्गका मजदुरहरुलाई राज्यस्तरबाट विशेष ध्यानदिन जरुरी देखिएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले पनि आगामी मे दिवसमा यहाँका श्रमिकहरुको यथार्थ अवस्थाको अध्ययन र बिश्लेषण गरेर आवाज उठाउन सकेको खण्डमा त्यो प्रभावकारी हुने देखिन्छ ।