चैत्र २२, काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट पार्टी स्थाई समिति सदस्यहरुको कमाण्डमा ४ टोली गठन गरेको थियो फरक फरक ठाउँहरुबाट तर एकै दिन (चैत्र ४ गते) कार्यक्रमहरु उद्घाटन गरिएका थिए ।
४ वटै कमाण्डका टोली सदस्यहरुले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस, श्रमशिविर लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । कार्यक्रमकै दौरानमा कमाण्ड १ र २ तथा ३ र ४ का बीचमा समीक्षात्मक बैठक पनि सम्पन्न गरिएका छन् ।
कमाण्ड १ र २ को नेतृत्व क्रमसः रामसिंह श्रीस र हरभक्त कँडेलले गर्नु भएको छ भने कमाण्ड ३ र ४को नेतृत्व क्रमसः कृष्णराज पौडेल र हेमन्तप्रकाश ओली सुदर्शनले गर्नु भएको छ ।
केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटै कमाण्डव्दारा २०८१ चैत्र २२ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
कमाण्डं १
पार्टीका स्थायी समिति सदस्य, अभियान टोलीका कमाण्ड प्रमुख रामसिङ श्रीसले वुर्जुवा गणतन्त्र र जनगणतन्त्र मध्ये आफ्नो पार्टी जनणतन्त्रको पक्षमा रहेको बताउनु भएको छ । धनुषा जिल्लाको सबैला बजारको कोण सभालाई सम्बोधन गर्दै टोलीप्रमुख श्रीसले सो कुरा बताउनु भएको हो । श्रीसले राजतन्त्रलाई फालेर वुर्जुवा गणतन्त्र स्थापना हुनु प्रगतिशील कदम हो तर वुर्जुवा गणतन्त्रबाट देश र जनताको मुक्ति नहुने भएकाले आफूहरु जनगणतन्त्रको लागि संघर्ष गर्ने बताउनु भयो । श्रीसले अझ अगाडि भन्नु भयो,“अहिलेको गणतन्त्र वुर्जुवा गणतन्त्र हो । यो गणतन्त्रले सम्भ्रान्त वर्ग ,तस्कर, लुटेरा ठगहरुलाई संरक्षण गर्दछ । निमुखा जनतालाई निचोर्दछ । त्यसैले हामीले श्रम गरेर बाँच्ने गरी खाने वर्ग किसान,मजदुर ,सुकुम्बासी ,भूमिहीन जनताको गणतन्त्र स्थापना गर्न चाहन्छौं ,त्यो नै जनगणतन्त्र हो ।” कोण सभाको सन्चालन रामनारायण सिंहले गर्नु भएको थियो ।
उक्त अभियान टोलीले बिहानमा सिराहाको गोलबजारमा पत्रकार भेटघाट सम्पन्न गरेको छ । दिउँसो अभियान टोलीलाई पार्टीको धनुषा जिल्ला समितिले पोर्ताहामा स्वागत गरेको थियो । जुरीबजारमा भित्तेलेखन सम्पन्न भयो । बरमझियामा भित्तेलेखन गर्नुका साथै सहिद रामवृक्ष यादवको शालिकमा माल्यार्पण गरी स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम सम्पन्न भयो ।
रघुनाथपुर चोकमा भित्तेलेखन र पर्चा वितरण , सबैला बजारमा पर्चा वितरण र भित्तेलेखन र कोणसभा सम्पन्न भएको छ । यदुकुवा चोकमा भित्तेलेखन पर्चावितरण र कोण सभा सम्पन्न भएको छ । कोण सभाको सञ्चालन पार्टीका धनुषा जिल्ला सचिव नन्द कुमार झाले र सम्बोधन पार्टीका पिविएम तथा मजदुर मोर्चाका संयोजक इश्वर तिमिल्सिनाले गर्नु भएको थियो । त्यहाँ पनि पर्चा वितरण गरिएको थियो । धनुषाको तीनकौरिया बजारमा कोण सभा सम्पन्न भयो । कोणसभाको सञ्चालन जिल्ला सचिव नन्दकुमार झाले र सम्बोधन रामनारायण सिँहले गर्नु भयो ।
कमाण्डं २ ः
पार्टीका पिविएम कृष्णसिङ दनुवारले वर्तमान संसदीय व्यवस्था भ्रष्टाचारमा चुर्लुम्म डुबेर बदनाम भएको बताउनु भएको छ । सिराहा जिल्ला धनगढीमाई नगरपालिका कसहा बजारमा कोणसभालाई सम्बोधन गर्दै दनुवारले उक्त कुरा बताउनु भएको हो । वहाँले देश बेच्ने, नदीनाला बेच्ने, राष्ट्रघाती काम गर्नुका साथै ओम्नी काण्ड , ग्री बन्धु टी स्टेट काण्ड , भुटानी शरणार्थी प्रकरण जस्ता काण्डबाट यो व्यवस्था भ्रष्टहरुको व्यवस्था हो भन्ने कुरा प्रमाणित भएको छ भन्नु भयो । वहाँले देश अब पञ्चे शासनतिर फर्कन नसक्ने र संसदीय व्यवस्थाले पनि काम गर्न नसक्ने हुँदा जनगणतन्त्रमा जानु पर्ने आवश्यकतामाथि जोड दिनु भयो ।
बिहान सिराहाको गोलबजार उद्योग ब्यापार संघको हलमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । रामसिंह श्रीसले नेतृत्व गरेको कमाण्ड १ र हरिभक्त कँँडेलले नेतृत्व गरेको कमाण्ड २, यी दुइवटा टोली भेट भएपछि १३ नम्बर ब्युरोमा पत्रकार सम्मेलनको ायोजना गरिएको थियो । पार्टीले जनसम्बन्ध कार्यक्रम सुरु गर्नुको उदेश्य र औचित्यबारे पार्टीको स्थायी कमिटी सदस्य राम सिंह श्रीसले आफना भनाई राख्नुभएको थियो ।
सिराहा जिल्ला धनगढीमाई नगरपालिका कसहा बजारमा कोणसभा सम्पन्न भएको र सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको थियो । सभालाई सम्बोधन कृष्ण देव सिंह दनुवारले गर्नु भएको थियो ।
धनगढीमाई नपा वडा नम्बर १० जिरोमाइल चोकमा अर्को कोणसभा सम्पन्न भएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियो भने सभालाई सम्बोधन किसान नेता बाबुराम सुवेदीले गर्नु भएको थियो । अर्को कोणसभा धनगढीमाई नपा नम्बर वडा १० धनगढी बजारमा गरिएको र सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको थियोे । उक्त कोणसभालाई सम्बोधन गगनले गर्नुभएको थियो ।
खाना खाएर तेत्तीस बिगामा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ इन्द्र चोकमा अर्को कोणसभा गरियो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभयो । सभालाई सम्बोधन पार्टीको पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले गर्नु ुभएको थियो । त्यसपछि भगवानपुर गाउँपालिका वडा नम्बर ४ ठाडी बजार भारतको बोडरमा कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभयो । सभालाई पार्टीको पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी भगवानपुर १ भगवानपुर चोकमा पनि कोणसभा सम्पन्न भएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभयो र सभालाई पार्टीको पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले सम्बोधन गर्नु भएको थियो । नवराजपुर गाउँपालिका वडा नम्बर ४ को सोनावर्ष चोकमा पनि कोणसभा सम्पन्न भएको छ । सभालाई पार्टीको पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले सम्बोधन गर्नु भएको थियो ।
कमाण्डं २ को नेतृत्व पार्टीका स्थायी समिति सदस्य हरिभक्त कंडेलले गर्दै आउनु भएकोमा वहाँकी आमालाई अचानक क्यान्सर अस्पताल चितवनमा भर्ना गरिएकाले आजै वहाँ चितवन जानु भएकाले तत्कालकालागि अभियान टोलीको नेतृत्व पिविएम कृष्णदेवसिङ दनुवारले गर्नु भएको छ ।
कमाण्ड ३ः
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक पिविएम तथा ३ नं व्यूरो सचिव दीपक शाही प्रकाश उर्जाले यो व्यवस्था पूँजीवादी व्यवथा पनि नभएर दलाल व्यवस्था हो भन्नु भएको छ । पार्टीले सञ्चाल गरेको जनसम्बन्ध विस्तार अभियानका शिलशीलामा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको ऐरेली बजारमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै शाहीले सो भनाई राख्नु भएको हो । वहाँले अगाडि भन्नु भयो, “यो व्यवस्था सामान्य जनताको व्यवस्था होइन । चुनावमा मासु र रक्सीमा भोट किन्न सक्ने, चुनाव जितेपछि भ्रष्टाचार गर्न सक्ने, जस्तो सुकै समाज विरोधी काम गर्न सक्ने, नैतिकता नभएकाहरुको नै संसदीय व्यवस्था हो । त्यसैले जनताले आफ्नै व्यवस्था लिनकालागि संघर्ष गर्नु पर्ने आवश्यकता छ ।“ जाजरकोट जिल्ला पार्टी सचिव विरेन्द्र सुनारले क्रान्ति बन्दुक पड्काएर मात्र हुँदैन पहिला मानिसको चेतनामा क्रान्ति आउनु पर्दछ भन्नु भयो । कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दीपक विस्टले गर्नु भएको थियो । ऐरियाली बजारमा व्यापक पर्चा वितरण गरिएको थियो ।अभियानमा टोलीले कोण सभा पछि शिवालय गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सित छलफल गरेको छ । कमाण्ड ३का प्रमुख कृष्णराज पौडेलले जनसम्बन्ध विस्तार अभियानको उद्देश्य र स्वरुपबारे धारणा राख्नु भएको थियो । अभियान टोलीले स्थानीय जनसरोकारको विषय , स्थानीय तहको बजेटको विषय, गाउँपालिकाको कार्यशैली, पर्यावरण तथा वन विनास बारे कुरा उठाएको थियो । जाजरकोटमा चोत्रा जातको जडिबुटी जरादेखि नै उखेलेर लैजाने काम व्यापक भएको, पर्यावरणको समेत वेवास्ता गरी केवल नाफाका लागि मात्र स्थानीय जडिबुटीको निकासी गरेको पाईएको छ । त्यस कार्यमा धेरै दलहरुको संलग्नता रहेको , उजुरी परेपनि जिल्ला प्रशासन कार्यालयले बेवास्ता गरेको ,त्यस सम्बन्धमा अख्तियार समेत मोन रहेको अभियान टोलीले जनगुनासो प्राप्त गरेको छ ।
छेँडाघाट नगरपालिकाको ५ नं वडामा पर्ने थला बजारमा कोण सभा सम्पन्न भएको छ । सो कोण सभालाई पनि दीपक शाही र विरेन्द्र सुनारले नै सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थि नेता दीपक विष्टले गर्नु भएको थियो । कार्यक्रममा कलाकार वीरबहादुर वि.क.ले हातमा हतकडी खुट्टामा नेल भन्ने शीर्षकको गीत गाउनु भएको थियो ।टोली छेँडाघाट नगरपालिकाको १० नं वडामा पर्ने नल्पुराम भन्ने ठाउँमा बाँडिएर बास बसेको छ ।
कमाण्ड ४ ः
पार्टी स्थायी समिति सदस्य तथा कमाण्ड टोली प्रमुख हेमन्तप्रकाश ओली सुदर्शनले नक्कली समाजवाद र सक्कली समाजवादका बीचमा भिन्नता छुट्याउन जनतालाई अनुरोध गर्नु भयो । वहाँले दाङको हापुरेको कोण सभालाई सम्बोधन गर्दै जनतासँग उक्त अनुरोध गर्नु भएको थियो । वहाँले नेपाली काङग्रेसको प्रजातान्त्रिक समाजवाद , एमाले र माकेले भन्ने गरेको समाजवाद र संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थामा गरी खाने वर्ग जस्तै मजदुर किसानको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गर्नु भयो । वहाँले ती सबै समाजवादहरु भ्रम हुन ्भन्नु भयो । वहाँले अगाडि भन्नु भयो “ विनोद चौधरी ,शेष घले ,प्रचण्ड ,शेर बहादुर देउवा, दलाल तथा नोकरशाही पुँजीपतिहरुको अवैधानिक ढंगले कमाएका सम्पत्तिलाई राष्ट्रियकरण गरिनु पर्दछ । र ती निजी सम्पत्तिहरुलाई राष्ट्रिय करण गरेपछि उद्योग कलकारखाना निर्माणमा प्रयोग गरिनु पर्दछ ।” नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको कार्यदिशा बोकेको क्रान्तिकारी पार्टीबाट मात्रै यो कार्य सम्भव छ । त्यो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल हो –सुदर्शनले भन्नुभयो ।
अभियान टोलीले सोही दिन सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं ३ को पुतलीबजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको थियो । कोण सभालाई पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले सम्बोधन गर्नु भएको थियो भने संचालन पार्टीको केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो । अभियान टोलीले सल्यानको पुतलीबजारमा भित्ते लेखन र व्यापक पर्चा वितरण गरेकोछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले अभियान टोली नम्बर ४ लाई दाङको बबई गाउँपालिकाको हापुरेमा स्वागत गरेको थियो । स्वागत कार्यक्रमका अवसरमा आयोजित कोण सभाको प्रमुख वक्ता पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो ।
संचालक पार्टीको दाङ जिल्ला सचिव इश्वरी गैरे हुनुहुन्थ्यो दाङ जिल्ला इन्चार्ज हुकुम खड्काले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । त्यसै गरी दाङको शान्तिनगर गाउँपालिकाको रयाजामा अर्को कोणसभा सम्पन्न भएकोछ । कोण सभालाई संचालन कैलाली जिल्ला इन्चार्ज दिनेश थापाले र सम्बोधन पोलिट्ब्युरो सदस्य धनेस्वर पोख्रेलले गर्नु भएको थियो । दांगको दङगिशरण गाउँपालिकाको हयाकुली बजारमा पनि कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभाको संचालन केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापा र सम्बोधन केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले गर्नु भएको थियो ।
अभियानका दौरानमा व्यापक पर्चा बितरण र भित्ते लेखन काइहरु सम्पन्न भएका छन ।