‘जनसम्बन्ध विस्तार अभियान’ ले जनविद्रोहको आधार तयार पार्नुपर्छ

‘जनसम्बन्ध विस्तार अभियान’ ले जनविद्रोहको आधार तयार पार्नुपर्छ

– धनेश्वर पोख्रेल

 

 

१) प्रारम्भः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन गत मंसिर १०–२३ मा सम्पन्न भएको छ । यो महाधिवेशन राजनैतिक, वैचारिक तथा कार्यदिशा निर्माणका दृष्टिले ऐतिहासिक रहेको छ । दशदिनसम्म घनीभूत छलफल, बहस तथा उच्च जनवादको प्रयोग गरेर पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न सफल रह्यो । बैकल्पिक शक्ति यस मानेमा कि नेपालका विग होल्डर पार्टीहरु र कतिपय अस्तित्वको निम्ति लडाई लडिरहेका साना पार्टीहरु यही संसदीय व्यवस्थाको वरिपरि नाँचिरहेको अवस्थामा त्यसको विकल्पमा नयाँ जनवादी गणतन्त्रको मिसन लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरन्तर सडकमा छ ।
आज यो पार्टी हजारौं आन्तरिक र बाह्य चुनौतीहरुसँग मुकाविला गर्दै विभिन्न खेमामा रहेका क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्दै पार्टीलाई सुदृढ र व्यवस्थित बनाउँदै आफ्नो कार्यदिशा सफल पार्ने अभियानमा जुटेको छ । यसै सन्दर्भमा गत माघ २६ गतेदेखि फागुन १ गतेसम्म केन्द्रीय समितिको प्रथम (निरन्तरतामा दोस्रो) बैठक सम्पन्न भएको छ । बैठकले वैचारिक÷राजनैतिक सांगठनिक, संघर्ष, आर्थिक लगायत थुप्रै विषयमा महत्वपूर्ण निर्णय गरेको छ । त्यसका साथै बैठकले एकता महाधिवेशनको सन्देश सहित जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गर्दै पार्टीलाई नयाँ उचाईमा उठाउन र जनविद्रोहको निम्ति आधारभूमि तयार गर्न ‘जनसम्बन्ध विस्तार अभियान’को योजना अघि सारेको छ । यसै विषयमा केन्द्रित रही अभियानको बेला अभियात्री टिम लिडर र सहयोद्दा सबैले ध्यान दिनुपर्ने केही विषयबारे चर्चा गर्न खोेजिएको छ ।
२) अभियान टिम कस्तो बनाउने ?
हामीले अभियानबारे जुन निर्णय ग¥यौं त्यो निर्णय अत्यन्त समय सान्दर्भिक छ । पार्टीले रणनैतिक उद्देश्य प्राप्त गर्नको लागि क्रान्तिकारी पार्टीलाई जनतासँग जोडेर जनतालाई संगठित गर्दै राष्ट्र र जनताको मुक्तिको लागि विचारको हतियारले सुसज्जित गर्दै मुक्ति यात्रामा सहभागी गराउने जुन सोंच र योजना बनाएको छ, त्यो अहिलेको आवश्यकता हो । त्यो आवश्यकता पूरा गर्न सिंगो पार्टी पंक्ति कटिबद्ध भएर लाग्नुपर्ने हुन्छ । अभियान टिम बनाउँदा पार्टी र क्रान्तिप्रति प्रतिबद्ध नेता कार्यकर्ताको सक्रिय र क्रियाशील टीम बनाउनु पर्छ । अभियान टिम आफ्नो जिम्मेवारीप्रति बफादार र अनुशासित हुनुपर्छ । अभियानमा हिंडिसकेपछि अभियान अवधिभर खट्ने हुनुपर्छ ताकि कोही पनि इमरजेन्सी घटना बाहेक कुनै निउँ र बहाना बाजी गरेर भाग्ने हुनुहुँदैन। अभियान एउटा परीक्षा पनि हो । हामी यसमा प्रतिबद्ध हुन सक्छौं कि सक्दैनौं । चिटिङ गरेर उत्तिर्ण हुने कि विवेक र क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रने ? अभियानमा कोही प्रशिक्षक हुँदैन ।जनताको जागि सबै प्रशिक्षार्थी र जनताको चेला बन्ने हो । अभियान टीम एकताबद्ध हुनुपर्छ । टीमभित्र गुटगत मानसिकता रहनु हुँदैन । हामीहरु विचार, भावना र व्यवहार सबै मिल्नुपर्छ । हामीले कुनै अमुक व्यक्तिको फाइदाको लागि अभियान संचालन गर्दै छैनौं । हामी सबै देश र जनताको मुक्ति र स्वतन्त्रताको लागि स्वयंसेवकको रुपमा लागेका क्रान्तिकारी योद्धा हौं, हामीमा त्योभन्दा बाहेक अर्को कुनै स्वार्थ छैन । हामी एक मात्र स्वार्थ वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थालाई बलपूर्वक फ्याँकेर जनताको राज्यसत्ता ल्याउनु मात्र हो । अभियान टीम बनाउँदा पार्टीको योजनालाई कार्यान्वयन गर्ने योद्धाहरुको टीम बनाउनुपर्छ ।
३) अभियानको लक्ष्य उद्देश्य के हुने ?
–अभियानको पहिलो उद्देश्य जनतामा एकता महाधिवेशनको भाव संप्रेषण गर्ने र विभिन्न खेमामा छरिएर रहेका इमान्दार क्रान्तिकारी योद्धाहरुलाई एकताबद्ध गर्न पहल गर्ने हुुनुपर्छ । हाम्रो दोस्रो उद्देश्य उत्पीडित वर्ग समुदायसँगको सम्बन्धलाई वैचारिक, राजनैतिक तथा व्यवहारिक रुपमा सुदृढ गर्न उनीहरुलाई संगठित गर्नु हो । तेस्रो दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीहरुले क्रान्तिकारी पार्टी नेतृत्व, नीति, सिद्धान्त र क्रान्तिका विरुद्ध फैलाएका विभ्रमहरुको भण्डाफोर गर्दै क्रान्तिप्रति निरास भएको जनतामा क्रान्ति र मुक्तिको आशा एवं विश्वास दिलाएर क्रान्तिकारी आन्दोलनमा लामबद्ध गर्नु हो । चौथो , जनता र जनताका बैरीहरु बीचको अन्तरविरोध पत्ता लगाई जनतालाई तिनका विरुद्ध विद्रोही चेतले लैस गर्नु हो । पाँचौं, संसदवादी विशेषगरी नेकपा एमाले, माके लगायतका शक्तिहरुले जनतामा छरेको संसदीय व्यवस्था र चुनावी भूमबाट मुक्त गरी ढोंगी व्यवस्थाका विरुद्ध सडकमा उतार्नु हो । छैठौं, जनताका हरेक पीडासँग एकाकार भई नङ र मासुको सम्बन्ध कायम गर्नु हो । सातौं , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई जनतामा स्थापित गर्नु र पार्टीप्रति आशा एवं विश्वास जगाउनु हो । जनतालाई मालेमावादी विचार र सिद्धान्तले प्रशिक्षित गर्दै पार्टीलाई मजबुत गराउनु अभियानको लक्ष्य र उद्देश्य हुनेछ । साथै दलाल, भ्रष्ट, राष्ट्रघाती, जनघाती र माफिया तत्वहरुलाई नंग्याउँदै जनकार्वाही गर्ने समेत अभियानको उद्देश्य हुन्छ ।
४) नेतृत्वको भूमिका कस्तो हुने ?
–अभियानमा नेतृत्वको भूमिका अग्रणी हुन्छ । नेतृत्व भनेको टाउको हो । यसले शरिरका सबै अंगहरुलाई कमान गर्छ र गर्नुपर्छ । नेतृत्व दुरगामी, पारदर्शी र संयोजनकारी हुनुपर्छ । नेतृत्व पक्षघाती भयो भने टीम स्पीरिट हुँदैन, कमान कन्ट्रोल पनि हुँदैन । अफसोच ः नेतृत्व त्यस्तो भयो भने जनअभियान प्रभावकारी हुन्छ, न त उद्देश्य नै पूरा हुन्छ । नेतृत्वले हरेक अभियात्रीको गतिविधि बुझ्नुपर्छ । समूहमा बुझ्नुपर्छ । अभियान टीमलाई सधै प्रशिक्षित गरी हरहमेशा उद्देश्यमा राख्नुपर्छ । अभियात्री बीच बेला बेला अन्तरक्रिया गराउनु, हरेक कार्यक्रमको समिक्षा गर्नु गराउनु, कार्यकर्तामा लागेका गुनासा खुल्ला छातीले सुन्नु र स्पष्ट पार्नु, तलको रचनात्मक आलोचना तथा सुझावलाई सकारात्मक ढंगले ग्रहण गर्नु र आत्मसमिक्षा गर्नु, हरेक चुनौती र अप्ठ्याराहरुलाई स्वाभाविक बन्नु, माओका तीन गर तीन नगरको सिद्धान्तलाई व्यवहारमा लागु गर्नु साथै आठ ध्यान दिने, पर्ने विषयलाई आत्मसाथ गर्नु, पार्टीको नीति, सिद्धान्त र मूल स्पीरिटलाई दह्रोसँग पकडेर व्यवहारद्वारा कुशल नेतृत्व प्रदान गर्नु टीम लिडरहरुको प्रमुख दायित्व तथा भूमिका हुनुपर्छ ।
५) अभियात्री टीमको दायित्व
अभियान टीममा समावेश मै सकेपछि सम्पूर्ण टीम नेतृत्वको कप्तान कन्ट्रोलमा चल्नुपर्छ । नेतृत्वको निर्देशन अनुसार अभियानको सन्दर्भमा अभियात्रीले जुन भूमिका निभाउनु पर्ने हुन्छ, त्यसमा कुनै किसिमको आनाकानी र बहानाबाजी गर्नु हुँदैन । आफ्ना केही शारीरिक वा भौतिक समस्याहरु भए नेतृत्व सामु स्पष्ट राख्नुपर्छ र त्यसको निराकरणमा लाग्नुपर्छ । निश्चय पनि मौसमको फेरबदल, भौगोलिक निकटता, यात्राको क्रममा आइपर्ने अनुकूल÷प्रतिकुल परिस्थिति, भोक, प्यास, लुगालत्ता आदिको समस्या आउन सक्छ । जुत्ता चप्पल बीच बाटो मै फाटेर कहिलेकांही खाली खुट्टाको यात्रा गर्नुपर्ने हुन्छ । अनिदो, थकाई, झरी बादल, टंटलापुरी घाम, गर्मीको याम भएको मच्छडको टोकाई, साप, छेपारा लगायत विभिन्न जीवजन्तुहरुको अवरोध आदि समस्याहरु पर्न सक्छन् । कहिलेकाही विरोधीहरु सँगको छलफल, बहस र भौतिक हमलाको सामना गर्नुपर्ने हुनसक्छ ।पैदल यात्रा गर्दा उकाली, ओरालीमा पसिना बगाउनुपर्ने हुन्छ । यी सबै प्रतिकुलतालाई चिर्दै अभियानलाई परिणाममुखी बनाउन र उद्देश्यको शिखर चुम्न सम्पूर्ण अभियात्रीले विशेष ध्यान दिनुपर्छ । अभियान सफल हुनु भनेको पार्टीको उचाई बढ्नु हो । पार्टीको कार्यदिशा सफल हुनु हो साथै क्रान्तिको आधारभूमि तयार हुनु हो । जनतामा नेतृत्व स्थापित हुनु हो । प्रतिक्रान्तिका धक्काले निरास भएका जनतामा आशाको दीप बाल्नु हो । अभियात्री र जनताबीचको सम्बन्धबारे ः अभियात्री भनेका जनताका छोराछोरी हुन् । अभियान पार्टीको क्रान्तिकारी विचार, सिद्धान्त र वर्गीय मुक्तिको उद्देश्य बोकेर जुट््नुपर्छ । क्रान्तिकारी पार्टीका नेता कार्यकर्ताहरुले अभियान टीम जनतालाई विचार दिनु र मुक्ति मार्गमा सहभागी गराउन दमन र उत्पीडनका विरुद्ध एकताबद्ध भएर आफ्नो हक अधिकारको निम्ति वर्गीय दुश्मनसँग लड्न संगठित गर्दछ । यस्तो अभियान टीमले जनताको मन जित्नुपर्छ , क्रान्तिप्रतिको अविश्वासलाई विश्वासमा बदल्न सक्नुपर्छ । यस्तो गर्नु हरेक नेता, कार्यकर्तामा जनशैली हुनुपर्छ । अभियानले जनताका कुनै पनि काम गोवर फाल्ने, घाँस काट्ने, भाँडा माझ्ने, खेतीपातीमा सघाउने, सरसफाई गर्ने , केटोकटीलाई पढाईमा मद्दत गर्ने लगायतका थुप्रै घरेलु काम गरेर उनीहरुलाई आफ्नो कुरा सुन्ने छलफल गर्ने गर्नुपर्छ । आन्दोलनमा बारम्बार धोका खाएका जनताले राजनीतिप्रति घृणाभाव देखाउन सक्छन्, आक्रोश पोख्न सक्छन्, तिमीहरु पनि त्यै ड्याङ्का मूला हौं” पद नपाउँदासम्म क्रान्तिका कुरा गर्छांैं पद पाएपछि हामीमाथि नै शासन लाद्छौं, तिम्रो विश्वास कसरी गर्ने ? हिजो युद्ध लडेर आएको नेताहरुले त धोका दिए, तिमीहरुको के विश्वास ? आदि प्रश्नले हाम्रा दिमाग चक्कर आउने ढंगले आवेग पैदा गरिदिन सक्छन्, त्यो बेला हामी संयमित भएर नम्रतापूर्वक उनीहरुलाई सम्झाउने र विश्वास दिलाउन सक्नुपर्छ । हामी जनतासँग कहिल्यै आवेगमा आउनु हुन्न, अधैर्य पनि बन्नुहुन्न । जनताका कुरा पेटभरी सुन्नुपर्छ । जनताले सुक्ष्म तरिकाले हाम्रो कार्यशैली जीवनशैली, नैतिकता, इमान्दारिता र क्षमताको अध्ययन ख्याल गरिराखेको हुन्छ । हाम्रो बोलीचाली, कुरा गराइको तरिका, छलफल र बहसका तर्कहरु, सिस्टता, गाम्भीर्यता, भावना सबै क्षेत्रमा जनताले हाम्रो मूल्यांकन गरिराखेको हुन्छ । हामी क्रान्तिकारीहरुले अरु पार्टीका नेता, कार्यकर्ताको जीवनशैली र कार्यशैली भन्दा मौलिक रुपमा नै आफूलाई अन्तर, मौलिक रुपमा नै विशिष्ट, लेनिनले भनेझैं बेग्लै धातुले बनेको वस्तुको रुपमा चिनाउन सक्नुपर्छ । आफू सुतेको विस्तारा उठाएको छ कि छैन, आफूले खाएको थाल माझेको छ कि छैन, खाना खाँदा खाना फालेको छ कि छैन, महिलाहरुसँग कस्तो व्यवहार गर्छ ? अध्ययन लेखनमा ध्यान दिन्छ कि दिंदैन ? यावत कुराहरुबाट जनताले हाम्रो परीक्षा लिइराखेको हुन्छ । परीक्षामा पास भए जनता विचारमा सहमत हुन्छ नत्र हुँदैन । जनता भनेका पढे लेखेका विद्वान पनि हुन्, अनपढ तथा जीवन व्यवहारमा खारिएका भुक्तभोगी प्रशिक्षक पनि हुन् । जनतालाई कहिल्यै पनि कम आँकेर बोल्नु हुँदैन ।
यसरी जनता र क्रान्तिकारी पार्टीका नेता कार्यकर्ताको सम्बन्ध प्रगाढ बनाउनु पर्छ । यो केवल अभियानको बेलामा मात्र होइन हर हमेसा हाम्रो विचार सिद्धान्त अनुसारको जनसम्बन्ध हुनुपर्छ । हाम्रो जीवनशैली साधा जीवन उच्च विचार हुनुपर्छ, कार्यशैली, शिष्ट, नरम, अनुशासित नैतिकता हुनुपर्छ । यी कुराहरुलाई हामीले गम्भीरतापूर्वक मनन गरौं र आफ्नो जीवन व्यवहारमा लागु ग¥यौं भने हामी देश र जनताको मुक्तिका खातिर जस्तोसुकै चुनौतीको सामना गर्न र आवश्यक परे भौतिक शरीर बलिदान गर्न तयार भयौं भने जनता सधै हाम्रो पक्षमा आउँछन् र क्रान्तिलाई साथ दिन्छन् । तर संसदीय पार्टीका नेता, कार्यकर्ता जस्तै भनाई र गराईमा भिन्नता देखियो भने जनताले साथ दिने त परै जाओस् उल्टो घृणा र तिरस्कार गर्छन् । यो कुरामा हामीले खुबै हेक्का राख्नुपर्छ ।
अन्त्यमा एकता महाधिवेशन पछिको पार्टीको यो अभियानको विशेष महत्व छ । यसले पार्टीको कार्यदिशा सफल पार्न, त्यसको पृष्ठभूमि तयार गर्न र जनता र पार्टीबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निभाउने छ । साथै यस्तो जनविद्रोहद्वारा नयाँ जनवादी —वैज्ञानिक समाजवादी क्रान्तिको निम्ति आधारभूत तयारीमा कोसेढुंगाको काम गर्नेछ । अबका अभियान पनि यसैको निरन्तरतामा संचालन हुनेछन् । ती अभियानहरुले दक्षिणपन्थी संशोधनवादका किल्ला भत्काउँदै, विविध खाले अवसरवादी र प्रतिक्रियावादीको टाउकोमा टेकेर क्रान्तिको मिसन पूरा गर्नेछन् ।