कम्युनिस्ट पार्टी मातहत सेना निर्माणबारे माक्र्सवादी दृष्टिकोण

कम्युनिस्ट पार्टी मातहत सेना निर्माणबारे माक्र्सवादी दृष्टिकोण

रामसिंहश्रीस

 

नेपालको कम्युनिस्ट आन्दोलनमा पहिले (२०५४÷५५ तिर) सेना विनाको पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन भन्ने बहस आएको थियो । अहिले पनि पुनः त्यसप्रकारको धारणा अगाडि आइरहेको छ । त्यसप्रकारको धारणा सामान्य व्यक्तिहरुबाटमात्र आएको होइन कि कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका व्यक्तिहरुबाट आइरहेको छ । के साँच्चिैनै सेना विनाको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन त ? माक्र्सवादी दृष्टिकोणको धरातलमा उभिएर यसै प्रश्नमाथि विचार व्यक्त गर्ने प्रयास गरिएको छ ।
माक्र्स र एंगेल्सले सन् १८४८ मा तयार पारिएको कम्युनिस्ट घोषणापत्रमा भनिएको छ“पुँजीपति वर्गका विरुद्ध आफ्नो लडाईमा मजदुर वर्गले परिस्थितिको बाध्यताले गर्दा आफूलाई वर्गको रुपमा संगठित गर्दछ, यसले क्रान्तिद्वारा आफूलाई शासकवर्ग बनाउँछ र उत्पादन सम्बन्धको पुरानो व्यवस्थालाई बलपूर्वक खतम गर्दछ ।” त्यसै घोषणापत्रको अर्को ठाउँमा भनिएको छ, “आफ्ना विचार र उद्देश्यलाई लुकाउने कुरालाई कम्युनिस्टहरु घृणित मान्दछन्, उनीहरुले खुलस्त रुपले के घोषणा गर्दछन् भने उनीहरुको उद्देश्यको पूर्ति वर्तमान समाज व्यवस्थालाई बलपूर्वक सखाप पारेर मात्र हुन सक्छ ।” (कम्युनिस्ट घोषणापत्र प्रगति प्रकाशन नेपाल २०५४ पृष्ठ ८४) कम्युनिस्ट घोषणापत्रमा उल्लेख भएको “उत्पादन सम्बन्धको पुरानो व्यवस्थालाई बलपूर्वक खतम गर्दछ” र “उनीहरुको उद्देश्य पूर्ति वर्तमान समाज व्यवस्थालाई बलपूर्वक सखाप पारेर मात्रै हुन सक्छ ।” भन्ने कुराले क्रान्तिको लागि क्रान्तिकारी सेनाको आवश्यक अनिवार्य हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।
यो अवधारणा क्रान्तिको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । माक्र्सवादीहरुले यो प्रश्नलाई कहिल्यै पनि बिर्सनु हुन्न । माक्र्स, एंगेल्सका उक्त अवधारणालाई अरु बल दिंदै लेनिन भन्नु हुन्छ “सशस्त्र संघर्षको यस्तो र विलकुलै यस्तो दृष्टिकोण जनसमुदायलाई नियमित रुपले शिक्षित गर्न पर्ने आवश्यकता नै माक्र्स र एंगेल्सका सम्पूर्ण शिक्षाको सार हो ।” (लेनिन राज्य र क्रान्ति) प्रगति प्रकाशन मास्को) त्यही रचनामा लेनिनले अरु जोड दिंदै भन्नुहुन्छ “सशस्त्र क्रान्ति बेगर सर्वहारा वर्गद्वारा पुँजीवादी राज्य सत्ता ध्वस्त गर्न र सर्वहारा राज्यसत्ता स्थापना गर्न सकिंदैन ।” (उही)
क्रान्तिको लागि सेना किन आवश्यक छ भन्ने विषयमा का. माओ भन्नुहुन्छ “सशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु, युद्धद्वारा समस्याको समाधान गर्नु क्रान्तिको केन्द्रीय कार्य र सर्वोच्च रुप हो । तर सिद्धान्त उही हुँदाहुँदै पनि सर्वहारावर्गको पार्टीले त्यसलाई लागु गर्दा विभिन्न परिस्थितिहरु अनुसार यो विभिन्न रुपमा अभिव्यक्त हुन्छ ।” (माओत्सेतुङका संकलित रचनाहरु युद्ध र रणनीतिका समस्याहरु पृष्ठ ५०९) माक्र्स, एंगेल्स, लेनिन र माओका उपरोक्त भनाइले क्रान्तिको लागि अर्थात् उत्पादन सम्बन्धको पुरानो व्यवस्थालाई बदल्न र सर्वहारावर्गको नयाँ राज्यसत्ता स्थापना गर्न क्रान्तिकारी सेनाको निर्माण अपरिहार्य छ भन्ने कुरा नै बताउँछ । संसारभरी भएका क्रान्तिले पनि यही कुराको पुष्टि गर्दछ । त्यसकारण एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको लागि क्रान्तिकारी सेना निर्माण गर्न अनिवार्य हुन्छ । तर क्रान्तिको लागि पार्टीलाई क्रान्तिकारी सेनाको आवश्यकता हुन्छ भन्नु र सेना विनाको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन भन्ने कुरा फरक हुन् । सेना विनाको कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन भनेर माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओले कहीं पनि भन्नु भएको छैन । यदि सेना विनाको कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नभन्ने हो भने माक्र्स र एंगेल्सले बनाएको पार्टीलाई पनि कम्युनिस्ट पार्टी थियो भन्नुहुँदैन किनभने त्यतिबेला त्यो पार्टीसँग सेना थिएन । त्यसैगरी सन् १९०५ भन्दा अगाडिको लेनिनले नेतृत्व गरेको पार्टीलाई पनि कम्युनिस्ट पार्टी भन्न मिल्दैन किन भने त्यतिबेला लेनिनको पार्टीमा सेना थिएन । ठीक त्यसरी नै सन् १९२१ मा माओ समेतले स्थापना गरेको चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि सन् १९२४ भन्दा पहिले कम्युनिस्ट पार्टी भन्न मिल्दैन । स्वयं नेपालमा पनि वि.सं. २००६ मा स्थापना भएको पार्टीलाई कम्युनिस्ट पार्टी भन्न गलत हुन्छ किन भने त्यसबेला त्यो कम्युनिस्ट पार्टीसँग सेना थिएन । स्वयं नेकपा (माओवादी) लाई वि.सं. २०५२ साल भन्दा पहिले कम्युनिस्ट पार्टीको मान्यता दिनुहुँदैन किनभने त्यस पार्टीसँग त्यसबेला सेना थिएन । सेना विनाको कम्युनिस्ट पार्टी कम्युनिष्ट पार्टी बन्न सक्दैन भन्ने प्रस्थापनाले अहिलेको हाम्रो पार्टी पनि कम्युनिस्ट पार्टी होइन भन्ने ठाउँमा पुगिन्छ किन भने अहिले हाम्रो पार्टीसँग सेना छैन ।
कुन कम्युनिस्ट पार्टी सच्चा कम्युनिस्ट पार्टी हो । कुन कम्युनिस्ट पार्टी सच्चा कम्युनिस्ट पार्टी होइन भन्ने कुरा त्यस पार्टीले माक्र्सवादका आधारभूत सिद्धान्तलाई अपनाएको छ कि छैन भन्ने प्रश्नले निक्र्यौल गर्दछ । माक्र्सवादको आधारभूत सिद्धान्त अन्तर्गत वर्गसंघर्षलाई सर्वहारावर्गको अधिनायकत्वसम्म पु¥याउने कुरा अनिवार्य हुन्छ । यस सिद्धान्त भित्र सेना निर्माणको प्रश्न पनि पर्दछ । त्यसकारण माओले क्रान्तिको लागि तीन जादुगरी हतियार क्रान्तिकारी कम्युनिस्ट पार्टी, त्यस्तो पार्टीको मातहत सेना र संयुक्त मोर्चाको कुरा गर्नु भएको छ । माओले औल्याउनु भएको यी तीन जादुगरी हतियार मध्ये क्रान्तिकारी पार्टीको निर्माण पहिलो कुरा हो । पार्टी छ भने सेना निर्माण र संयुक्त मोर्चाको कुरा पनि हुन्छ । पार्टी छैन भने अन्य दुई चीज हुनै सक्दैन । पार्टीसँग जोडिएको अर्को महत्वपूर्ण प्रश्न भनेको जनसमुदायसँगको सम्बन्ध हो । व्यापक जनताको आधार छैन भने पार्टी एक्लैले क्रान्ति गर्न सक्दैन । सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्शेविक) को इतिहासमा भनिएको छ “जबसम्म आम जनतासित पार्टीको व्यापक सम्बन्ध हुन सक्दैन, जबसम्म त्यसले सो सम्बन्धलाई निरन्तर बलियो पार्दैन, जबसम्म त्यसले जनताको आवाज सुन्न र जनताका जरुरी खाँचोहरुलाई बुझ्न जान्दैन, जवसम्म त्यो जनतालाई सिकाउनु मात्र होइन, जनताबाट सिक्न पनि तयार रहँदैन तबसम्म मजदुरवर्गको पार्टी लाखौं मजदुरहरु र सारा श्रमिक जनताको नेतृत्व गर्न सक्ने सच्चा जनपार्टी बन्न सक्दैन ।” (पृष्ठ ३२३) यसै कुरालाई माओले व्यापक संयुक्त मोर्चा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको थियो र तीन जादुगरी हतियार मध्ये एउटा महत्वपूर्ण अंगको रुपमा प्रस्तुत गर्नु भएको थियो । क्रान्तिकारी पार्टी छ, जनआधार अर्थात् जनसम्बन्ध पनि राम्रो छ तर पार्टीको मातहतमा सेना छैन भने त्यो राम्रो जनआधारमा मात्र भर परेर पार्टीले क्रान्ति सम्पन्न गर्न सक्दैन । त्यसैले माओले भन्नु भएको थियो कि जनसेना छैन भने जनताको आफ्नो भन्न केही हुँदैन । जनताको अधिकार प्राप्त गर्न र प्राप्त अधिकार सुरक्षित राख्न जन सेनाको निर्माण गर्न आवश्यक हुन्छ ।
सेना विनाको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन भन्ने अवधारणा गलत छ । यसप्रकारको अवधारणाले पार्टी र सेनासँगै स्थापना गर्नु पर्दछ भन्ने ठाउँमा पु¥याउनेछ । इतिहासले व्यवहारिक रुपमा सिद्ध गरिसकेको कुरा हो कि कम्युनिस्ट पार्टी वर्गसंघर्षको विकासको दौरानमा एउटा निश्चित विन्दुमा पुगेपछि सेना निर्माण गर्नु पर्दछ । पार्टीले सेना निर्माण गर्ने कुरा अनिवार्य आवश्यक बन्छ । एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले यो काम गर्दछ । यदि गर्दैन भने त्यस्तो पार्टीले क्रान्ति सम्पन्न गर्न पनि सक्दैन । एउटा सच्चा कम्युनिस्ट पार्टीले सबभन्दा पहिले क्रान्तिकारी पार्टी निर्माणमा जोड दिन्छ त्यसको साथसाथै व्यापक जनआधार निर्माणमा जोड दिन्छ र प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारेर सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्नका लागि सेना निर्माण गर्दछ ।