भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

काठमाडौं÷३ चैत
हिजो काठमाडौंमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा सङ्घीयता विरोधी मोर्चा गठन भएको समाचारमा आफ्नो नाम समेत जोडेर फेक समाचार बनाएकोमा डा.जगदीशचन्द्र भण्डारीले खेद व्यक्त गर्नुभएको छ ।

उक्त समाचारप्रति असहमति जनाउँदै डा.भण्डारीले एक वक्तव्य जारी गर्नुभएको छ । मुलबाटो अनलाइनमा पठाइएको वक्तव्यमा भनिएको छ ‘चित्रबहादुर केसीको नेतृत्वमा गठन गरिएको भनिएको सङ्घीयता विरोधी काठमाडौँ केन्द्रित आन्दोलनमा मेरो नाम समेत जोडेर प्रचार गरिएकोमा मेरो पूर्ण असहमति छ र म यस समाचारप्रति खेद व्यक्त गर्दै खण्डन गर्न चाहन्छु । मसाल र त्यसको संसदीय मोर्चा जनमोर्चाले सङ्घीयताका विरुद्धमा राजावादीहरु, पूर्वपञ्चहरुको पार्टी, सङ्गठन र व्यक्तिहरुसँग घाँटी जोडेर आएको सर्वविधितै छ । हामी सङ्घीयताको पक्षमा सङ्घर्ष गर्दै आएका छौँ । बरु हामीले चाहेजस्तो जनवादी गणतन्त्र प्राप्त भएको छैन र साँचो अर्थको उत्पीडित वर्ग र समुदायको सङ्घीयता यो नभएको सत्य हो । हामी पूर्ण अधिकार सम्पन्न सर्वहारा वर्गको अधिनायकत्व सहितको सङ्घीयता स्थापना गर्ने आन्दोलन उठ्नुपर्छ भन्ने मान्यता राख्दछौँ । यतिखेर देशमा प्राप्त भएको सीमित अधिकारकै भएपनि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेसितासहितको बुर्जुवा गणतन्त्र स्थापना भएको छ । यो प्राप्त गर्न जनयुद्धको जगमा उठेको २०६२–०६३को आन्दोलन भएको हो । जहाँ हामीसमेत सङ्घर्षमा होमिएका थियौँ । आज यही सीमित अधिकार खोस्न पश्चगामी शक्तिहरु कथित राजावादी आन्दोलनमा केन्द्रित भएका छन् । यहीबेला राजावादी घटकहरुसँग मिलेर सङ्घीयता विरोधी आन्दोलनमा लाग्नु भनेको चित्रबहादुरहरुको कथित कम्युनिस्ट राजनीति नाङ्गो रुपमा उदाङ्गीयको छ । यसप्रकारको राजवादीहरुसँग शति जाने चित्रबहादुरहरुको आन्दोलनमा मेरो समेत नाम जोड्नु घोर पाखण्डपूर्ण, भ्रामक र कपोलकल्पित रहेको छ । यसप्रकारको दुस्प्रचारको जति नै शब्दमा निन्दा, भ्रत्सना र खेद व्यक्त गरे पनि थोरै हुन्छ । म यस प्रकारको भ्रमपूर्ण समाचारको प्रभावमा नपर्न र यो आन्दोलनमा कोही पनि मुक्तिकामी जनसमुदाय सङ्लग्न नहुन यसै वक्तव्य मार्फत् अपिल गर्दछु । डा. जगदीशचन्द्र भण्डारी ।’

‘सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन’ नाम दिइएको र त्यही नामको सामाजिक सञ्जाल फेसबुक आइडिबाट प्रचार गरिएको समाचारमा जगदीशचन्द्र भण्डारी लगायत दर्जन बढि नामहरु फेक रुपमा राखिएको छ । जो उक्त फेसबुक आइडिमा देखाइएको कथित बैठकको फोटोमा उपस्थित नै भएको देखिँदैन । ती नामका मानिसहरु बैठकमा उपस्थित नभएको र आजसम्म उनीहरुका विचार र गतिविधिहरु पनि सङ्घीयताका विरुद्धमा आएका छैनन् । यसप्रकारको भ्रमको खेति गर्न जनमोर्चा जस्तो कम्युनिस्ट पार्टीलाई किन प¥यो आश्चर्यको विषय भएको छ ।