मालिक र सालिक

मालिक र सालिक

कविता

अग्रगमनको जोखिम बोकौँ।
पशुपति पथको यात्रा रोकौँ॥
जन -गण-पथका पुस्तक खोलौँ।
पढी, सबैले साँचो बोलौँ॥
छाम्यौँ सबले शवका घाँटी।
दिए सबले सपना चाटी॥
मधु, मधुकरको शासन रोजौँ।
फूलफूलको आसन रोजौँ॥
बन्द हुँदै छन् युगका ढोका।
जताततै छन् धोकैधोका॥
ढोका खोली बाहिर जाऔँ।
युगका लहरा च्याप्प समाऔँ॥
विचौलियाले ल्वाप्पा खालान्।
सबै उज्याला घरमा जालान्॥
केही ठक्कर खानै पर्छ।
स्वर्णिम युगमा जानै पर्छ॥
जनता जागे नहुने के छ ?
जे छ सबै चिज जनतामा छ॥
अघिअघि लम्के मालिक हुन्छौँ।
पछितिर फर्के सालिक हुन्छौँ॥
*
फागुन २९, २०८१