प्रकृतिको अस्तित्वमा हुने कयौँ रङ मध्ये कालो रङ एउटा हो । इन्द्रेणीमा सात रङ हुन्छन् तर त्यसमा कालो रङ हँुदैन । कालो हुनु उपहास या विभेदमा पर्नु हुन्छ । हामी साना काखे बाबु नानीलाई काले वा काली भनेर बोलाउछौँ । त्यसरी बोलाउनु मायाको सङ्केत हो । कुनै कुनै मानिस जन्मजात कल्साउँदो वर्णका हुन्छन् त्यस्ता मानिसलाई उसको गुण हेरेर बुझेर होइन रूप देखेर काले वा कलुवा भनिन्छ । कुनै मानिस रूपका गोरा वर्णका हुन्छन् तर पेटमा कलुषित भावनाले भरिएका हुन्छन् । हामी त्यस्ताको पीठ पछाडि डराइडराइ कालो मन भएको भन्छौँ । शब्दकोशले कालो शब्दको विभिन्न अर्थ बताउँछ । कालो रूप भएका वस्तुको अगाडि काले विशेषण जोडिएको हुन्छ । कालो गोरु, कालो बाख्रो, कालो ढुङ्गो, कालो धान, कालो रात आदि आदि ।
कतिपय कालो रङ भएका वस्तुहरू बहुगुणी हुन्छन् । हाम्रो उत्तरी क्षेत्रको सेतो हिमाल मुनिको वन अलि परबाट हेर्दा घना कालो देखिन्छ । त्यही कालो वनभित्र असङ्ख्य जडिबुटिहरू पाइन्छन् । त्यही कालो वनभित्र पहाडिया राष्ट्रवादले मानेको राष्ट्रिय चरो र राष्ट्रिय फूल स्वीकारेको डाँफे र लालिगुराँस पनि हुन्छन् । हिमाल मुनिको कालो वनको सौन्दर्य हेर्दै गर्दा हिउँ थुप्रिएर सेतो भएका चुलीहरू अहिले हिउँ सुकेर काला पहाड भएका छन् । यो दृश्यले हामी सबैको मन चस्स दुख्छ । हाम्रो नेपालको पश्चिमी भू–भागका वासिन्दाहरू रोजगारीको सिलसिलामा भारतीय भूमितिर धाउने गर्छन् तर जो जो रोजगारीमा धाएका छन् उनीहरूको घर परिवारले काला पहाड गएको भन्ने गर्छन् । हाम्रा बन्धुहरूलाई सानोठूलो रोजगारी दिन सक्ने त्यो काला पहाडलाई धन्य मान्नु पर्दछ । काला पहाडमा हाम्रा बन्धुहरूलाई रोजगारी दिने दाता मध्ये कुनै कुनै कालो मन भएका पनि हुँदाछन् । तिनीहरूले रोजगारी दिए पनि पारिश्रमिकमा ठगी गर्नेहरू पनि हुन्छन् । मान्छे बाहिर देख्दा सफेद गोरो देखिए पनि भत्री मन कालो भएका हुन्छन् । वनस्पती जगतमा कुनै कुनै फलहरू पाकेपछि कालो रङका हुन्छन् ।
आगो बल्दाबल्दैको दाउरा बिचैमा निभ्यो भने कालो अँगार बन्दछ, तर त्यही कालो अँगार फलाम गाल्ने गोलको काम गर्छ । कालो गोल भएन भने कृषिकर्मका किसानहरूका लागि कृषि औजार फाली, कोदालो वा हँसिया आदि नयाँ बनाउन र तिनमा धार लगाउन समस्या पर्दछ । अहिले पेशाका हिसाबले यो आरन पेशा सङ्कटमा पर्दै गैरहेको छ । अँगार भनेर हामी विभेद गर्छौँ तर त्यही अँगारमा पोलेको हरियो मकै हामी स्वाद मानी मानी खान्छौ । हरियो मकै मात्र किन हजुरआमाले कालो हाँडीमा भुटेर हरर फूला उठेका मकै हामी धेरैले खाएका छौँ । तर त्यही काले हाँडीमा मकै भुट्दा बेलामा याद गरिएन भने केहीबेरमा आफुजस्तै कालो बनाइदिन्छ । यसले उपयोगितामा होसियार हुनुपर्दछ भन्ने सिकाउँछ । अर्को कुरा सबै कालाहरू बेठिक हुँदैनन् र बाहिरी कालो वस्तुको उपयोग मानव हितमा हुन्छ भन्ने पनि बुझिन्छ ।
कालो विशेषण थपिएका खाध्य वस्तुहरूमा धानले विशेष महत्व राख्छ । तराइका फाँटमा काला नमक धान होस् या पहाडका बेँसी र मध्य पहाडमा हुने कालो मार्सी वा कालो झिनुवा अरू चामलको भात भन्दा विशेष महत्वका हुन्छन् । सामाजिक सञ्जालमा एक चरण कालो मार्सीभातको निकै ट्रोल बन्यो । रात कालो हुन्छ । जसलाई अँध्यारो भनिन्छ । कालो साम्राज्यभित्र अनेक अपराध हुन्छन् । इतिहासमा रातमा धेरै हत्याकाण्डका घटना भएका छन् । कोतपर्व होस् कि नारायणहिटीको दरबार हत्याकाण्ड होस् रातमा नै भएका छन् । अझ रहस्यमय र हास्यास्पद कुरा के छ भने दरबार हत्याकाण्डको आयोगको प्रतिवेदनमा युवराज दीपेन्द्रले नाम नखुलेको कालो पदार्थ मदिरामा मिसाएर पिए भन्ने प्रतिवेदन सार्वजनिक भएको थियो । त्यो नाम नखुलेको कालो पदार्थ के थियो त्यसको खोजी कसैबाट भएको छैन । नाम नखुलेको कालो पदार्थ जस्तै ठूलाठूला भ्रष्टाचारमा संलग्न नाम नखुलेका काला पात्रहरू कति छन् त्यो खोजिको बिषय बन्नु पर्दछ । यस्ता कालो मन भएका पात्रहरू पञ्चायती व्यवस्थामा मात्र होइन बहुदलीय काल र अहिलेको गणतान्त्रिक कालमा पनि उत्तिकै सक्रिय छन् ।
हाम्रो समाजमा कोही अनचिनारुले खेतबारीको फलफूल वा घाँस दाउरा चोर्यो भने त्यसको हातमा कालो कोढ आओस् भनेर गाली गर्ने प्रचलन छ । कालो कोढ एक प्रकारको छालामा आउने रोग हो । केही दशक अघिसम्म यस्तो कोढीलाई गाउँ समाजले बहिष्कार गर्दथ्यो र त्यस्ता रोगीहरू अनगिन्ती पीडा खपेर जीवन गुजार्थे । उनीहरू मर्दा उनका सन्तती बाहेक अरूले शव छुन पनि घिन मान्दथे तर अहिले भने उपचारपछि घर परिवारसित घुलमिल हुन पाउँछन्् ।
मन नपरेको मान्छेलाई कालो जिब्रो भएको कालजिब्रे भनिन्छ । कालो रङ प्रकृतिमा पाइने वनस्पतिबाट निकाल्न सकिन्छ । विश्वका कुनाकुनामा पनि कालो रङका श्रोतहरू छन् । अघि हाम्रा पुर्खाले हाम्रै वनको वनस्पती मुसुरेकटुस, आँप वा सालका बोक्रा र पात पकाएर कालो मसी तयार गर्दथे । अहिले पनि घरका भित्ता सिँगार्न यस्तै वनस्पतिका बोक्राहरू पकाएर कालो खोटो तयार गरिन्छ । यस्तो प्रचलनले घरेलु उद्योग फष्टाउन सक्छ र हाम्रो परम्परा र आत्मनिर्भरता उन्मुख हुनसक्छ तर बजारिया इनामेलले यो प्रबिधिलाई विस्तापित गर्न थालेको छ ।
कालो रङको केही विशेषता पनि छन् । निलो आकाशमा सेतो बादल लागेपछि मौसममा परिवर्तन आउँछ । त्यो सेतो बादल जब कालो हुन्छ पानी बर्सन थाल्छ । अझ बादल घना कालो बन्यो भने असिना समेत बर्सन्छ । न्यायालयमा पक्ष विपक्षमा बहस गर्ने वकिलहरूको पहिचान भनेको कालो कोट हो ।
सरकारी कार्यालयमा कालो मसी अनिवार्य हुन्छ । कसैको सरुवा, बढुवा अथवा खोसुवा गर्नु परेमा सम्बन्धित कार्यालयले टिप्पणी वा आदेश गर्नुपरे कालो मसीको प्रयोग गरिन्छ । सफा सेतो कागज वा नेपाली कागजमा कालो मसीले लेखेर गरिएका नियुक्तिले हजारौँ कर्मचारी, शिक्षकहरू, जङ्गी, प्रहरीले निबृत्त पट्टा पाएका छन् । अहिले पनि नागरिकता वा पासपोर्ट लिनु पर्दा बूढीऔँलाको ल्याप्चे अनिवार्य हुन्छ र त्यो ल्याप्चेमा प्रयोग हुने मसी नै कालो मसी हो । राणा शासनको कालमा काला दौरा सुरुवाल पोशाकका सिपाहीहरू हुन्थे । त्यस्ता पोशाकमा सिपाहीहरू गाउँ पस्दा गाउँलेको सातो जान्थ्यो ।
कालो रङ बिरोधको प्रतिकको रूपमा प्रयोग हुन्छ । शान्तिपूर्वक आन्दोलन गर्नुपर्दा मुखमा कालो पट्टि बाँधेर बिरोध जनाइन्छ । राजा महाराजा वा शासक प्रशासकको आगमनमा कालो झण्डा देखाएर बिरोध गरिन्छ । २०१७ साल पुस १ गतेलाई पञ्चायती इतर राजनीतिक शक्तिहरूले कालोदिन भनेर कालो टीका लगाएका थिए । इतिहासमा माघ १९ पनि कालोदिन भनेर बिरोध गरिन्छ २०५९ माघ १९ को दिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्था माथि कू गरेका थिए । पञ्चायत अवधीभर राज्य बिरूद्ध लेख्ने सहास गरेका सम्पादक, लेखका रचना सेन्सर गराउनु पर्दथ्यो । शासकलाई व्यवस्था बिरोधी लागेमा त्यस्ता सामग्री माथि कालो पोतिन्थ्यो । हिन्दूहरूले शुभकार्य भनेर पूजा अर्चना गर्दा या मन्दिरमा पूजा गर्दा कालो रङ र कालो फूल चढाउदैनन् बरू बिहे ब्रतबन्ध वा रुद्री पूजामा ग्रहको निषेध भनेर काला ध्वजा मन्साउने गर्छन् । तिहार पर्वको भाइटीकामा दिदी बहिनीले दाजु भाइलाई लगाउने सप्तरङ्गी टीकामा पनि कालो रङ हुँदैन । अहिलेका दिदी बहिनीका फेशनमा टाउका माथि कालो चस्मा भने अनिवार्य फेसन बनेको छ ।
जिम्मेवार पदमा पुगेर आर्थिक हिनामिना वा पदीय दुरूपयोग गरेका कर्मचारी वा राजनीतिमा लागेकाहरूलाई कालोमोसो दलेर जनकार्वाही गरिन्छ । समाजमा सम्भ्रान्त भनिएका परपीडकलाई दिइने यो जनकार्वाही निरन्तर अघि बढाउनु पर्दछ । यी काला सर्पहरू हुन् । आफ्नो पदीय औकात र दायित्व बिर्सिएर पदको दुरूपयोग गर्ने मुलुकमारा काला भ्रष्टहरूको निम्ति जनस्तरबाट गरिने दाण्डिक कार्यक्रम कालोमोसो अहिलेको आवस्यकता हो ।
२०८१/११/२७, चितवन