काठमान्डौ ।
क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुडभरीले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक वक्तव्य प्रकाशित गर्दै ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल सहित विश्वका तमाम संघर्षशिल श्रमिक महिला एवं जनसमुदायमा हार्दिक अभिवादन र शुभकामना व्यक्त गनु भएको छ ।
“न्याय , समता र विशेषाधिकारको लागि संघर्ष गरौं ! ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं !!”भन्ने मूल नाराका साथ विश्वभरका श्रमिक महिलाहरुले यो बर्षको ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेका छन् ।
यही शीलशीलामा नेपालमा पनि यो दिवसलाई नेपालका श्रमिक महिलाहरुले आफ्नो हक अधिकारलाई प्राप्त गर्न अझ उच्चप्रकारले संघर्षको आँधीबेहरी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
समाजवादी आन्दोलनको नेतृ एवं लेनिनको सहकर्मी क्लारा जेटकिनले रुसमा मात्रै हैन समाजवादी विचारका पक्षधर महिलाहरुको कोपनहेगनमा भएको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित गरि सन १९१० बाट मनाउन शुरु गरिएको गौरबपूर्ण दिनको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई लिने गरिन्छ ।
यसै अवसरका नेपालको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै आएको संगठन—क्रान्तिकारी महिला संगठन नेपालको संयोजक अम्विका मुडभरीले दिएको वक्तव्यको आफनै महत्व रहेको छ । यसरी जारी गरेको वक्तव्यको पूर्ण पाठ तल दिइएको छ ः
प्रेषित वक्तव्य
“न्याय , समता र विशेषाधिकारको लागि संघर्ष गरौं ! ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं !!”
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल सहित विश्वका तमाम संघर्षशिल श्रमिक महिला एवं जनसमुदायमा हार्दिक अभिवादन र शुभकामना व्यक्त गर्दछौं ।
अमेरिका,युरोप लगायत पश्चिमा मुलुकहरुमा पुँजीवादका विरुद्ध समाजवादी आन्दोलनको लहरसंगै कारखानामा कार्यरत महिला मजदुरको आन्दोलन र अन्य समाजवादी आन्दोलन चलिरहेका देशमा महिलाहरुको आठ घण्टा काम, आठ घण्टा आराम ,आठ घण्टा मनोरञ्जन र समान कामको समान ज्यालाको माग पूरा गरेको सफलताको सम्झना हो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । पुँजिवादका विरुद्ध चलेका समाजबादी क्रान्तिका लहर संगै महिला मुक्ति आन्दोलनले प्राप्त गरेको उत्कर्ष हो आठ मार्च । समाजवादी आन्दोलनको नेतृ एवं लेनिनको सहकर्मी क्लारा जेटकिनले रुसमा मात्रै हैन समाजवादी विचारका पक्षधर महिलाहरुको कोपनहेगनमा भएको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित गरि सन १९१० बाट मनाउन शुरु गरिएको गौरबपूर्ण दिन हो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरुको संघर्षको प्राप्ति हो , आठ मार्च । हाम्रो स्पष्ट मान्यता छ कि महिला समुदायलाई श्रमिक वर्गका रुपमा लिइनुपर्छ । अहिले आठ मार्चलाई श्रमिक शव्द हटाएर ’ अन्तर्राष्ट्रिय नारी दिवस’ मात्र भन्न थालिएको छ । यो आठ मार्चको ऐतिहासिकता प्रतिको अपमान र माक्र्सवादी दृष्टिकोण माथिको हमला हो । यसको डटेर प्रतिवाद गर्न जरुरी छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । सामन्ती पितृसत्ताको उत्पीडन जनजाती महिला समुदाय भन्दा खस आर्यन समुदायमा झनै निर्मम र कठोर छ । महिला उत्पीडनको अवस्था मुस्लिम र मधेसी समुदायमा अझै बढी छ । नेपालको प्रचलित कानुनमा मुस्लिम महिलाहरूको पहुँच समेत छैन । पहाडिया र मधेसी दुवै समूहका दलित महिलाहरुको जीवन झनै कष्टकर रहेको छ । वर्गीय , लैङ्गीक संगसंगै जातीय उत्पीडनको चर्को मारमा छन् । आज पनि नेपाली महिलाहरु सामन्ती पितृसत्तावाद , साम्राज्यवाद, बिस्तारवाद, नवऔपनिवेशिक र पुँजिवादी शोषणको मारमा छन् ।
आज महिलाहरुमाथि बदलिदो स्वरुपमा हिंसा र उत्पीडन शृङ्खलाबद्द रुपमा बढी रहेका छन् । महिलालाई दासी बनाउने सामन्ती संस्कारदेखि अवसरको नाममा विज्ञापनको साधन र उपभोग्य वस्तु मान्ने बिकृत पुँजिवादि चिन्तन एकैसाथ मौजुद छन् । महिलालाई वस्तुकरण गर्ने दुबै चिन्तन विरुद्ध एकैसाथ लड्नु कम चुनौतीपूर्ण छैन र लड्नुको अर्को विकल्प पनि छैन ।
हामी नेपालका क्रान्तिकारी महिलाहरूका सन्दर्भमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनु भनेको महिला मुक्ति आन्दोलनमा योगमाया न्यौपानेदेखि इतिहासका न्यायपूर्ण आन्दोलन, जन आन्दोलन र महान जनयुद्धमा गौरवपूर्ण सहादत प्राप्त गर्ने दिलमाया योञ्जन , कमला भट्ट , शारदा श्रेष्ठ , कुमारी बुढा लगायत पच्चीस सय भन्दा बढी महिला सहिदहरु सहित सम्पूर्ण सहिद , बेपत्ता योद्धाहरु , घाइते–अपांग योद्धाहरुको स्मरण र उच्च सम्मान गर्नुका साथै सहिदहरुका सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गर्ने दिनसमेत हो । इतिहासका तमाम संघर्षमा प्रदर्शित महिलाहरुका त्याग, विरता, बलिदान र सौर्यबाट आर्जित ज्ञान , क्षमता संगै विकसित विश्व परिवेश र प्रविधिको उच्चतम प्रयोग गरि महिला मुक्ति आन्दोलनलाई प्रतिरोधात्मक र नयाँ उत्कर्षमा उठाउन आवश्यक छ । महिलामाथी हुने सबैखाले हिंसा विरुद्धको बैचारिक प्रतिरोध नै आठ मार्चको इतिहास प्रतिको सम्मान हो ।
महिलाहरूको वास्तविक मुक्ति वैज्ञानिक विश्व दृष्टिकोण बिना सम्भव छैन । अहिलेको विश्वमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै सबैभन्दा बैज्ञानिक बिचार हो । महिलाको प्रश्न मुख्य गरि राज्यसत्ताको प्रश्न हो । परिवर्तन र मुक्ति चाहनेहरुका बीचमा एकता , संघर्ष र रुपान्तरणका विधिबाट मुक्तिको खाका कोर्न संसारका सम्पूर्ण मुक्तिकामी महिलाहरु एकजुट हुन आवश्यक छ । सबैले एक पटक आँट गरौं । प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको मशाल बाल्ने तयारी गरौं ।
अम्विका मुडभरी
संयोजक
क्रान्तिकारी महिला संगठन नेपाल