जनसांस्कृतिक महासङ्घको पुनर्गठन

जनसांस्कृतिक महासङ्घको पुनर्गठन

कठमाडौं/२१ फागुन
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समित पुनर्गठन भएको छ । हिजो काठमाडौंमा सम्पन्न महासङ्घको केन्द्रीय समितिको विस्तारित तथा एकता बैठकले उक्त निर्णय गरेको महासङ्घका नवनिर्वाचित संयोजक हिरामणि दुःखीले बताए ।

गत वर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालका बिच पार्टी एकता भएदेखि सबै जनवर्गीय सङ्गठनहरू एकतावद्ध गर्ने प्रकृया अनुरूप महासङ्घको पनि एकता बैठकद्वारा केन्द्रीय समिति पुनर्गठन गरिएको जनाइएकाे छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न विस्तारित एकता बैठकमा पार्टीका का.वा.महासचिव सि.पि.गजुरेल तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीको विशेष उपस्थिति रहेको थियो । उक्त बैठकमा नबगठित ५५ सदस्यीय केन्द्रीय कार्यसमितिको नामावली संयोजकले पेस गरेपछि सर्वसम्मतले पारित गरेको थियो । बैठकले संयोजक तथा सहसंयोजकको चयन गर्नुका साथै १७ सदस्यीय सचिवालय समिति पनि गठन गरेको छ । जस अनुसार संयोजकमा हिरामणि दुःखीलाई नै पुनः जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा नारायण योगी चयन भएका छन् ।

उक्त एकता बैठकमा उपस्थित सबै केन्द्रीय सदस्यहरूले विगत कामकार्यको समीक्षा, एकतापछिको अनुभूति तथा आगामी दिनमा महासङ्घले गर्नुपर्ने दायित्वका बारेमा आआफ्ना धारणा प्रस्तुत गरेका थिए । त्यसपछि पार्टीका कावा महासचिव सि.पि.गजुरेलले बैठकलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा गजुरेलले विगतमा पार्टी एकता तथा टुटफुट भइरहेको अवस्थामा आफूहरूले विचार र कार्यदिशा मिल्ने क्रान्तिकारी कम्युनिस्टहरूका विचमा पार्टी एकता गरेर नेपाली जनतालाई नयाँ सन्देश दिन सफल भएको र पार्टीको महाधिवेशनदेखि सबै प्रकारका निर्णयहरूमा सर्वसम्मतले पारित गरेर एकताको नयाँ इतिहास निर्माण गर्ने प्रकृयामा अगाडि बढेको बताउनुभयो । उहाँले यो महासङ्घमा पनि सर्वसम्मत निर्णय गर्न सफल रहनु र सङ्गठनका फरक फरक बुझाइहरूलाई केन्द्रीकृत गरे समाधान दिन सफल हुनु निकै राम्रो काम भएको बताउनुभयो ।

पार्टीमा एकढिक्का भएर निर्णय गैर्न सफल रहनु र विभिन्न स्कूलको लामो शृङ्खलाबाट आएका शक्तिहरूमा एकरूपताको बुझाई कायम गर्नुले आफ्नो पार्टी नयाँ कोर्षमा प्रवेश गरेको बताउनुभयो । गजुरेलले अब जनतामा नयाँ उत्साहा दिन सफल हुने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सफल रहने विश्वास बढेको छ भन्नुभयो ।

त्यस्तै अर्का अतिथि स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले पार्टीले आगामी चैत १ गतेबाट शुरु गर्न थालेको ‘जनसम्बन्ध विस्तार अभियान’का बारेमा विस्तृत चर्चा गर्नु भएको थियो भने महासङ्घले उक्त अभियानमा खेल्नुपर्ने भूमिकाका बारेमा दिशानिर्देश गर्नुभएको थियो ।