काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज (फागुन २१ गते) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सहिद तथा वेपत्ता योद्धा परिवारहरुलाई सम्मानित गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोले ललितपुरको कुपण्डोलमा आयोजना गरेको ‘सहिद, वेपत्ता परिवार तथा घाइते अपाङ्ग योद्धा सम्मान कार्यक्रम’मा दशजना सहिद तथा वेपत्तायोद्धा परिवारहरुलाई सम्मान गरेको हो ।
जनयुद्धका महान सहिदहरु कमरेड सुवानी ओलीका बुबा तथा पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, जनयुद्धकी वेपत्ता योद्धा कमरेड कमला शर्माका जीवनसाथी दिनेश शर्मा, सहिद कमरेड शुभद्रा खतिवडाकी आमा सीता खतिवडा, बहिनी ज्ञानु खतिवडा, सहिद गुणनिधि देवकोटाकी छोरी सुनिता देवकोटा, सहिद परिवार इश्वरी गुरागाई, इश्वर साउद लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पार्टीका स्थायी समिति सदस्य चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ज्ञानु खतिवडाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरु हेमन्तप्रकाश ओली र दिनेश शर्माले जनयुद्धका महान सहिद तथा वेपत्ता योद्धाहरुको सपना अझै पूरा नभएकोले आफूहरुले क्रान्तिको झण्डा उचालिरहेको बताउनु भयो ।
उहाँहरुले सहिदहरुको सपना पूरा गर्न, शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्षमा जुट्न सहिद तथा वेपत्ता परिवार र जनसमुदायमा अपिल तथा आव्हान समेत गर्नुभयो ।