‘जनयुद्धका सहिदहरुको न्यायका लागि जनगणतन्त्र आवश्यक’

‘जनयुद्धका सहिदहरुको न्यायका लागि जनगणतन्त्र आवश्यक’

वर्गीय मुक्ति र सिंगो मानव समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रान्तिकारीहरुले बलिदानका उच्च कीर्तिमानहरु कायम गर्दै आएका छन् । नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने महान् उद्देश्यसहित ऐतिहासिक जनयुद्धमा हजारौं योद्धाहरुले गरेको प्राणोत्सर्गका बलमा नै यो देशमा अढाइसय वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना सम्भव बनेको हो । जनयुद्धमा भएको बलिदानको मुख्य उद्देश्य नेपालमा संसदीय व्यवस्थालाई अन्त्य गरेर जनताको वास्तविक गणतन्त्र स्थापना गर्नुथियो । त्यो अझै पूरा भएको छैन । रुपमा सामन्ती राजतन्त्रको अन्त्य भए पनि सारतः दलाल पुँजीवाद तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्था अहिले पनि कायम छ । अहिले आम श्रमजीवी नेपाली जनताको दुःखको मूल कारण यही व्यवस्था बनेको छ ।

यो व्यवस्थालाई फालेर नेपालमा नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगतन्त्र स्थापना गर्ने, जनसंविधानको निर्माण गर्ने र वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि बढ्ने महान उद्देश्यका साथ मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अहिले पनि संघर्षलाई जारी राखेको छ । यो पार्टी नै अहिलेको नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह, दशवर्षे महान जनयुद्धको सच्चा उत्तराधिकारी हो । नेपालमा जनसंघर्ष, प्रतिरोध संघर्ष हुँदै सशस्त्र जनविद्रोहमार्फत् अहिलेको दलाल पुँजीवादी व्यवस्थालाई फालेर नेपालमा जनगणतन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ अगाडि बढिरहेको छ । यो पार्टीले नेपालमा जनगणतन्त्रको स्थापना गरेर मात्र जनयुद्धका सहिदहरु, बेपत्ता योद्धाहरु, घाइते अपांगहरु र जनयुद्धमा त्याग र तपस्या गरेका, अनेक दमन र अत्याचार झेलेका जनतालाई न्याय र सम्मान गर्न सकिन्छ भन्ने यो पार्टीको मूल मान्यता रहेको छ । र, निरन्तर क्रान्तिको झण्डा उचालिरहेको छ । छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध पारेर यो पार्टी आफ्नो महान लक्ष्य हासिल गर्ने दिशातर्फ अगाडि बढिरहेको छ ।

यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने परम्परालाई अझ बढी स्थापित गर्दै यस पटक पनि देशैभर सहिद सप्ताह मनाएको छ । सहिद सप्ताहको अन्तिम दिन पार्टी कार्यालय कुपण्डोल कार्यालयमा एक कार्यक्रमबिच जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । पार्टीका स्थायी समिति सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन, दिनेश शर्मा सागर लगायत अन्य सहिद परिवारहरुलाई सम्मान गरिएको छ । त्यस्तै सिन्धुली, नवलपरासी, काभ्रे, दाङ लगायत अन्य जिल्लाहरुमा पनि सहिद तथा वेपत्ता योद्धा परिवारहरुलाई सम्मान गरिएको छ ।

नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएको छ । सहिद परिवारहरुसँग भेटघाट अन्तक्र्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान राजनीतिक अभियानमा सहिद परिवारहरुलाई जोड्ने उद्देश्यसहित यो वर्ष पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सहिद सप्ताह मनाएको हो ।

जनयुद्ध र झापा विद्रोहमा सहादत प्राप्त गर्ने सहिदहरुको सहादतको मितिलाई जोडेर फागुन १४ देखि २१ सम्म जनयुद्धकालदेखि नै माओवादीले विभिन्न कालखण्डमा भएका संघर्षमा बलिदान गर्ने महान सहिदहरुको सम्मान र सम्झनामा सहिद सप्ताह मनाउन थालेको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादत भएको मिति फागुन १४ गते र झापा विद्रोहका सहिदहरुको सहादत मिति फागुन २१ को सन्दर्भलाई जोडेर एक हप्ता बलिदान दिवस (सहिद सप्ताह) मनाउन थालिएको हो ।

जनयुद्ध सुरु भएको १३ औं दिनमा नै एघार वर्षीय दिलबहादुर रम्तेललाई राज्यका फासिवादी जल्लादहरुले कायरतापूर्ण तरिकाले हत्या गरेका थिए । गोरखा–जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर–धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरवहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै पक्राउ गरियो । इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि झन्डै ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरी जत्थाले जथाभावी गोली प्रहार गर्न थाल्यो । प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडामा दिलबहादुरको सहादत भएको थियो ।

त्यसैगरी झापाको सुखानीमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । झापाका विद्रोहीहरूलाई २०२९ कात्तिकमा प्रहरीले पक्राउ गरेर झापा जेलमा राखेको थियो । विद्रोह झन् तीव्र बन्यो । त्यतिखेर झापाली कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान ‘एक्सन’ अघि बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जङ्गलमा पाँचैजनालाई गोली हानेर हत्या गरिएको थियो । पञ्चायती शासकहरूले झापामा किसान विद्रोहको नाममा आतङ्क फैलाएको कथित आरोपमा क्रान्तिका लागि वर्गसङ्घर्षको मैदानमा उत्रिएका पाँचजना योद्धाहरू नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको नृशंस हत्या गरेका थिए ।

महान् सहिदहरूको त्याग र बलिदानलाई भयानक अवमूल्यन गर्ने प्रवृत्तिका विरुद्ध माओवादीले सचेत पहलकदमीका साथ बलिदान दिवस–सहिद सप्ताहलाई मनाउने निर्णय गरेको थियो । १० बर्से भीषण जनयुद्धका क्रममा जब क्रान्तिकारी योद्धाहरू ढल्दै जान थाले, त्यसले पार्टीभित्र वेदना, व्यथा, पीडा र निराशासमेत हुन सक्ने कुरालाई ध्यान दिंदै तिनमा क्रान्तिकारी उत्साह र आशावाद जोगाइराख्न बलिदान दिवस मनाउन सुरु गरिएको थियो । महान् सहिदहरूको सपनालाई सम्झिँदै पार्टी–पङ्क्तिभित्र क्रान्तिकारी ऊर्जा जोगाइराख्न बलिदान–सहिद दिवस मनाउन सुरु गरिएको हो ।क्रान्तिका मोर्चाहरू फरक भए पनि क्रान्तिकारीहरूको उद्देश्य एउटै हुने सच्चाइलाई आत्मसात् गर्दै माओवादीले सुखानीका महान् सहिदहरूको बलिदानलाई समेत ऐतिहासिक कडीका रूपमा जोड्दै सहिद सप्ताह मनाउन थालेको हो ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन २९, २०७९ गते राजपत्रमा देशभरिका ८ हजार ४ सय ६४ जना सहिदको नामावली प्रकाशित गरेको छ । सरकारको यो कदमलाई विशेषगरी सत्तारुढ माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले प्रचण्ड नेतृत्वको सरकारले ‘जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद’को सम्मान दिएको हल्ला पिटाइरहेका छन् । तर राजपत्रमा कहिँ पनि ‘जनयुद्धका सहिदहरु’ भनेर उल्लेख गरिएको छैन । राजपत्रमा सशस्त्र संघर्ष र क्रान्तिका सहिदहरु भनेर मात्र उल्लेख गरिएको छ तर जनयुद्ध भन्ने शब्द कहिँ पनि उल्लेख गरिएको छैन । प्रकाशित नामावलीमा पनि जनयुद्धका धेरै सहिदहरुको नामावली छुटेको गुनासो सबैतिरबाट आएको थियो तर त्यसको आजसम्म सम्बोधन भएको छैन ।

राजपत्रमा ७७ मध्ये ७५ जिल्लाका सहिदहरुको विवरण समावेश छ । जसअनुसार सबैभन्दा बढी रोल्पामा ७५३ जना सहिद बनेको देखाइएको छ । यो संख्या राज्यपक्ष र माओवादी दुबैतर्फबाट मारिएका व्यक्तिहरुको हो ।

माओवादी जनयुद्धको उद्गमस्थल मानिने रुकुममा पनि द्वन्द्वकालमा धेरै मानिस मारिएका थिए । रुकुमका ५८४ जना सहिदको विवरण राजपत्रमा छापिएको छ । कालिकोटमा जना ४३३ जना मारिएका थिए।

राजपत्रमा प्रकाशित सहिदको विवरण अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा २ हजार १६५ जना मारिएका छन् । दोस्रो, लुम्बिनी प्रदेशमा १ हजार ५६६ जना मारिएका छन् । सबैभन्दा कम मधेसमा ७०४ जना सहिद बनेका छन् ।

कोशी प्रदेशमा १ हजार १६७ जना, बागमतीमा १ हजार १०६, गण्डकीमा ७४४ र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुबाट १ हजार ७ जना सहिद बनेको राजपत्रमा उल्लेख छ ।

कोशी प्रदेशमा मारिएका १ हजार १६७ जनामध्ये ताप्लेजुङ १५०, पाँचथर १०१, इलाम १००, झापा ७८, मोरङ ११५, सुनसरी ५१, संखुवासभा ९३, तेह्रथुम ५३, धनकुटा २२, भोजपुर ७८, खोटाङ ९३, सोलुखुम्बु ८४, ओखलढुंगा ८५, उदयपुर ६४ छन् ।
मधेस प्रदेशमा मारिएका ७०९ जनामध्ये सप्तरी ४२, सिराहा १२०, धनुषा १४०, महोत्तरी ४८, सर्लाही ७८, रौतहट १७८, बारा ७२ र पर्सा ३१ जना छन् ।

बागमती प्रदेशमा मारिएका १ हजार १०६ जनामध्ये दोलखा ११२, रामेछाप ८८, सिन्धुली १४५, काभे्रपलाञ्चोक १३५, सिन्धुपाल्चोक १८५, रसुवा १९, नुवाकोट १६३, धादिङ ६९, चितवन १०७, मकवानपुर ६३, भक्तपुर ६, ललितपुर १४ र काठमाडौं ७ जना छन् ।

गण्डकी प्रदेशबाट सहिद बनेका ७४४ मध्ये गोरखा २१५, लमजुङ ९०, तनहुँ ८०, कास्की ४८, म्याग्दी ६४, पर्वत ४१, स्याङजा ४८, बाग्लुङ १०० र नवलपरासी ९दुबै० ५८ जना छन् ।

लुम्विनी प्रदेशबाट घोषित १ हजार ५६६ जना सहिदमध्ये रुपन्देही ४३, कपिलवस्तु ११९, पाल्पा ४७, अर्घाखाँची ५७, गुल्मी २३, रोल्पा ७५३, प्युठान ६९, दाङ २४५, बाँके ११० र बर्दिया १०० जना छन् । राजपत्रमा यो प्रदेशको नवलपरासी पश्चिमलाई गण्डकीको विवरणमा मिसाइएको छ ।

कर्णाली प्रदेशमा मारिएका २ हजार १६५ मध्ये रुकुम ५८४, सल्यान २२१, डोल्पा ४०, जुम्ला १७५, मुगु ६७, हुम्ला १०९, कालिकोट ४३३, जाजरकोट २१३, दैलेख १८६ र सुर्खेत १३७ जना छन्। यो तथ्यांकमा रुकुमपूर्वसमेत समेटिएको छ ।

सुदुरपश्चिम प्रदेशबाट सशस्त्र द्वन्द्व र अन्य आन्दोलनहरुमा १ हजार ७ जनाले ज्यान गुमाए । मारिने मध्ये बाजुरा १०९, बझाङ ६९, डोटी ६३, अछाम १४३, दार्चुला ५०, बैतडी ८३, डडेलधुरा ७३, कञ्चनपुर १३५ र कैलाली २८२ जना छन् ।

जनयुद्धको जनादेश विपरीत अहिले पनि दलाल संसदीय व्यवस्था नै कायम छ । यही व्यवस्थालाई कायम राख्न खोज्नेहरुले जनयुद्धका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्दैमा ती सहिदहरुप्रति सम्मान हुँदैन । जनयुद्धका महान सहिदहरुलाई वास्तविक सम्मान गर्ने हो भने उनीहरुले देखाएको बाटोमा हिड्ने संकल्प गर्नुपर्छ । त्यो भनेको अहिलेको संसदीय व्यवस्थालाई फालेर संघीय जनगणतान्त्रिक व्यवस्थाको स्थापना गर्नु हो । त्यस दिशातिर समग्र राजनीतिलाई डोर्‍याएर मात्र सहिदहरुमाथि सच्चा सम्मान हुनेछ । र, सहिदहरुप्रति न्याय पनि त्यस बेला मात्र हुनेछ ।