जीवन निर्वाहका लागि मानव समुदायले प्रकृतिसित सङ्घर्ष गर्दै यो पृथ्वीलाई गुल्जार गर्दै आएका हुन् । भरणपोषणको भरपर्दो आधार देखेपछि मानव समुदायले स्थानान्तरित हुने परम्पराको विकास गरे । अघिल्ला अघिल्ला शताब्दिसम्म गृहस्थ निर्वाहका लागि वन–जङ्गल पानीघट्ट र उत्पादनयोग्य भूभाग बसाइसराइको मुख्य आधार हुने गर्दथ्यो । यसकारण पहाड, मधेश, तराइ र हिमाली क्षेत्र आसपास पनि मानव वस्तिको विकास भएको देखिन्छ । केही दशक अघिसम्म ग्रामिण वस्तिहरूमा श्रम, उत्साह, मेलमिलाप र भाइचाराको सम्बन्ध बलियो थियो । आधुनिक उत्पादन र जीवनशैलीमा परिवर्तन आउन थालेपछि ग्रामिण
वस्तिहरू पातलिन थाले र शहर वा शहरोन्मुख वस्तितिर बसाइ सर्ने क्रम बढ्यो । शैक्षिक चेतना र विकासका पूर्वाधारको लोभ वा सौखले दूर्गमका वस्ति पातलिँदै जानु र शहरोन्मुख वस्ति बाक्लिँदै जाने क्रम बढ्दो छ ।
युग फेरियो । गाउँ शहरका पुराना ढुङ्गे सिँढी र मुलबाटोको रङ खुइलियो । युग बदलिने मेसोमा जीवनयात्राका कयौँ डोबहरू मेटिँदै जान्छन् । ढाकर बोकेर उकाला ओरालामा बिसाउने बटुवाको युग हराउँदै गएको छ । युगको यात्रा नियमित अग्रगमनोन्मुख हुन्छ र हुनुपर्छ । हाम्रा कतिपय पुराना मान्यताहरू भत्कँदै र नवीन मान्यताको थालनी हुँदै आउँदाछन् । शिक्षा, रोजगारी र सम्पन्नताको खोजीमा समाज फेरिँदै जान थालेको छ । पछिल्लो दशकमा पहाडी जिल्लाहरूमा ग्रामिण सडकहरूको निर्माण तीब्रतर रूपमा बढेको छ । राजधानी वा अन्य शहर र सदरमुकामबाट गाउँगाउँ पुग्ने साधनहरू पनि छन् । निर्माणाधीन सडक जति उबडखाबड छ त्यो भन्दा सास्ती खेप्नुपर्ने थोत्रा सवारी साधनहरू छन् । गाडीधनिको रुचि सिट क्षमताभन्दा दोब्बर यात्रु बसिदिउन भन्ने हुन्छ । ग्रामिण जीवनमा भुक्तमान खेपेका यात्रुहरू घरायसी सरसामानको कुरुम्त भारिसित यात्रा गर्न बाध्य छन् । यात्राको सङ्गाती मिल्दै मिल्दैन । महिला यात्रुहरूसित पोका पन्तोराको अतिरिक्त काखे बाबुनानी पनि हुन्छन् । साँघुरा सिटमा कोच्चिँदै उफ्रँदै यात्रा गर्नुको ब्यथा भित्र चट्पट, चाउचाउ वा चना चपाइ नसकिँदै उल्टि गर्नु र आडैको यात्रुलाई सकस पु¥याउनु यस्तो यात्राको अर्को विशेषता हो । साथमा धुमप्रेमी वा मदप्रेमी यात्रु परेर नाक समाउँदै मुण्टो बटार्नु पनि यात्राको अनिवार्य शर्त हो ।
बसको छतमा भरिएका छन् भारतीय बजारले पैठारी गरेका दाल, आलु, चामल र केही कार्टुन मदिराका बोत्तलहरू, जो गाउँ पुगेर उपभोग गरिनेछन् । गाउँमा सवारी साधन पु¥याउन निर्माण गरिएका कतिपय धुले सडकहरू कुनै प्राविधिकको जाँचपासमा खनिएका हँुदैनन् । यस्ता धेरै मार्गहरू एक्साभेटर वा डोजर चालकको विवेकमा पनि बनाइएका छन् । गाउँ बसेर राजनीतिको पन्यु समातेको कुनै पात्र छ भने आफ्नो जग्गा बचाएर दायाँबायाँ घुमाउँदै धुले बाटो खनाएका पनि छन् । राज्यको अनुदानमा खनिएका यी धुले सडकहरूमा बनेका खाल्डाखुल्डिले थप अनुदानको माग गर्छन् र तेरो नाम के हो ‘धन थप’ भन्ने उखान साकार पारेझैँ गर्छन् । भिर पहराको डिलबाट मुस्किलले वारपार गर्दा यात्रुहरूको कयौँ पटक सातो खाएर पनि उही क्रमको दैनिकी छ । मर्मत सम्भार वा स्तरोन्नतिको कोटेशन मार्फत् बजेट निकाशा हुन्छ तर त्यसले कार्य सम्पादनको रूप नलिन पनि सक्छ । सवारी धनिहरूले यात्रुसित आफुखुसी तोकेको भाडा देख्दा लाग्छ सेवा होइन कमाउधन्दा मौलाएको छ ।
अहिले गाउँपिच्छे सरकार छ । गाउँगाउँमा सिँहदरबार हरेकको मुल नारा बनेको छ । तर त्यो सिँहदरबार उही चन्द्रसम्शेरको पालाको झल्को दिने खालको छ । गाउँको सिँहदरबारबाट पहुँच पुग्नेले ठेक्का पाएका छन्, कमिशन लिएका छन् । सत्ताको डाडु पन्यु समातेका गोतिया भाइहरू राणा खलकका ए क्लासका र प्रतिपक्षीहरू बि र सि क्लासका दर्जामा विकासे अनुदान चपाइरहेका छन् ।
गाउँ जाने बसमा गुड्दै गर्दा मन पोल्ने दृश्यहरू आँखामा ठोक्किन आइपुग्छन् । नाति नातिनीको धरालो हुनुपर्ने उमेरका हजुरबा हातमा गुलेली लिएर बाँदर रुँगेर बसेका छन् । बजारबाट आएको बसले निषेचन गरेको पिरो धुवाँ र बसको गतिले उडाएको धुलोले घुर्मैलो दृश्य देख्दै हरेक दिन आँशुले आँखा पखाल्ने ती बृद्धको दिनचर्या सधैँ एउटै जस्तो छ । घरभित्र सुस्ते धन्दामा भुलेकी बृद्धाको जीवनसाथी बाहिर निस्किएर बूढाको रसिला आँखा हेर्छिन् र प्रेम र विरह मिश्रित आँशुले साथ दिन्छिन् । त्यही बाटो त्यस्तै बस चढेर कमाउ गर्न निस्किएको छोरो ठूलो शहरबाट आकासमा उडेर बिरानो शहरमा बेखबर छ । अहँ, त्यो बसले छोराको चिठी वा खबर कुनैदिन बोकेर आउँदैन । छोरालाई पछ्याउँदै शहर गएकी बुहारी शहरको रमझममा रम्दै भाडावाल कोठामा नाति खेलाइरहेको कल्पनाले बूढाबाको घाँटी कोक्किन्छ ।
तल खोलामा बिहानै उठेको कुहिरोले एकछिन् गाउँ ढाकेर उडिगएझैँ जन्मिएका सन्तान उसैगरि छोडिगएका छन् ।
डाँडाको चौतारो नजिकै बस अडिन्छ । प्लाष्टिकको पोकामा आइपुगेको दूध झर्छ । आलु प्याज र गोलभेँडाको कार्टुन अनलोड हुन्छ । दुईचार भट्टी पसलको अगाडि केही प्रौढहरू उभिएका हुन्छन् । गाउँ आउने बसले मुल बजारबाट बोकी ल्याएको किमाको पोको खसाल्छ र उकालो चढ्छ । भट्टीमा मोमो उम्लिन्छ र जुटेका प्रौढहरू मदिराको झोलमा अलापिन्छन् । सन्तानले छोडेको एक्लोपनमा उनीहरू एकछिन हराउँछन् । कुनै प्रौढ आफू छोरा–बुहारीको नियास्रोमा वायुयानद्वारा बिरानो भूमी पुगेको र एक्लै बस्दाको उच्चाडको कथा सुनाएर सुनिबसेकालाई पगाल्छ । मदिराको हलुका रागले लर्बरिँदै गएका बाँझो खेतका मालिकहरू तीस किलोको चामलको बोरा काँधमा राखेर घर पुग्छन् । डाँडाको चौतारोबाट नियाल्दा राता हरिया जस्ता पाताले छाइएका भुइँघरहरू वन खोल्सी र गाउँगाउँमा कोपरिएर घाइते बनेका पाखाहरूको चित्रले बेग्लै अनुभूति जगाउँछ । हरेक वर्ष खनिएका विकासे सडकमार्गले कोपरेको मलिलो माटो वर्षाको पानीले बगाएर उजाड उजाड बन्दै गएको अर्को चित्रले मुटु पोल्छ । बर्सेनी आउने भेलबाढिले उर्वर माटो बगाएर दूरदेशको सामुद्रिक पिँधमा पु¥याए जस्तै गाउँको सुन्दरता पनि खुइलिँदै छ । विकासको निहुँमा भत्काइएका भित्ताको लागि आएका एक्साभेटर वा डोजर र रोलरले उपयोग गर्ने इन्धन र पार्टपूर्जा हाम्रै मुलुकको नगद बिदेशिएको गाउँले पत्तो पाएको छैन । मानो रोपेर मुरी फलाउने खेतका गह्राहरूमा तितेपाती र बनमाराको झाडी मौलाएको छ । सिङ्गो गाउँको अन्नदाता रहेँले, अर्चले र चालिसे फाँट मरुभूमी बन्दै जान थालेको पो छ । घर वरिपरि वर्षैपिच्छे नगद फलाउने अम्बा, सुन्तला र नास्पातीका बोटहरू खिइँदै झोक्राउँदै र बैँशमै बुढीन थालेका छन् । जो बाँकी बसेका छन् बाँदरको आतङ्कले ग्रस्त छन् । मानौँ सरुवा रोगको सङ्क्रमणले सन्तान गुमाएर काख रित्तिएकी आमा सरह बनेका छन् । प्रकृतिको चक्र बुझिनसक्नु छ । एक युग थियो मानव वस्तिले लोप बन्दै गएको बाँदर प्रजाती अहिले बौरिएर फैलँदो छ र मानव वस्तिी अतिक्रमित हुनुको भयमा गाउँ छ । केही वर्ष अघिको खुरिखन्ने पाखो हरियाली वनबुटेनले मौलाएको छ र बाँदरहरूको घरजम बनेको छ । विकासको पूर्वाधार मानिएको सडक बिजुली र पिउने पानी घरघरमा त पुगेका छन् तर मानिस गाउँ छोडेर शहर र परदेशमा अल्झिएका छन् । अनौठो छ गाउँको चित्र ।
मान्छेको सङ्ख्या पातलिँदै जानु र बाँदरहरूको सङ्ख्या बढ्नु समयले निम्त्याएको वास्तविकता रहेछ । डाँडा डाँडा, भञ्ज्याङका युगिन बृक्षहरू आयु नसकिँदै मासिएका छन् । गाउँ गाउँमा खोलिएका विद्यालयहरू मर्ज हुँदै जानु वा भर्नादर शून्यमा झरेपछि विलिन बन्नु अर्को दुःखलाग्दो यथार्थ हो । धिकिरधिकिर चलेका विद्यालयले योग्य र दक्ष शिक्षकको अभाव खट्किनु अर्को मन पोल्ने विषय हो । पढेकाहरूले गाउँ छोड्नु र बाह्य जनशक्ति गाउँ बस्न नरुचाउनुले गाउँ कुरेका केटाकेटी अन्यौलमा रुमलिएका छन् । गाउँको चौतारोको कचहरी वा विद्यालयमा जमघट हुने अविभावक भेला दुब्लाउँदै जानु गाउँ चिनाउने बिम्ब बन्न थालेको छ । सरकार धानेका वा भविष्यमा धान्ने दावी गरेका राजनीतिक दलका अगुवाहरू बेलाबेला झण्डा बोकेर गाउँ पुग्छन् तर युवाहरूको मन मष्तिष्कमा बस्न सक्दैनन् । शवयात्रा या विवाहोत्सव जस्ता सामुहिक दुःखसुखमा देखिएको न्यून सहभागिता अर्को दसी बनेको पाइन्छ ।
हरेक दिन त्यही बाटो उही पारामा बस हल्ला गर्दै सदरमुकाम जान्छ र फर्किन्छ । गाउँ भने हरेक दिन परदेशिएका छोराछोरीको आसमा पर्खिएर दिन धकेल्छ । उडेर जाने वा गुडेर जानेहरूको यात्रा रोकिँदैन । गाउँ भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या दिनहुँ बढ्दो क्रममा छ । छिटफुट रूपमा गाउँ रुङेका किशोर किशोरी पनि जब दस जोड दुईको अध्ययन सकिन्छ अनि करियरको थेगो बोकेर युरोप, अमेरिका, जापान वा अष्ट्रेलियाको सपनामा उडान गर्छन् । एकातिर हाम्रो राज्य व्यवस्था आफ्नो मुलुकको यो स्थितिबारे चासो र चिन्ता लिँदैन भने अर्कोतिर आम जनतामा विदेशको मोह घट्दैन ।
१७ पुस २०८०, हर्मी गोरखा ।






























