२०३० सालमा अहिलेको जस्तो घरमाथी घर भएकोे तुलसीपुर थिएन । हामी मुस्किलले खेल्ने साथीहरू पाउँथौँ । म त्यसबेला पाँच वर्षको थिएँ । प्रा.वि. सेन्टर तुलसीपुरको अरनिको मैदानमा रहेको समीक्षालय भएको भवनबाट बजारको दक्षिणतर्फ अहिलेको वार्ड नं. ६ मा पर्ने स्थानमा सरेको थियो ।
म त्यस विद्यालय स्थाथानान्तर भएको विद्यार्थी मध्येको पहिलो विद्यार्थी पनि हुँ र अन्य धेरै साथीहरू पनि हुनुहुन्थ्यो । त्यस मध्येका मेरो समकक्षी साथी हुनुहुन्थ्यो हिरासिंह विस्वकर्मा । हामी धेरैजसो सँगै विद्यालय जान्थ्यौँ । उहाँ पढ्नमा म भन्दा अलि अब्बल हुनुहुन्थ्यो । हामी सँगै पढ्ने, सँगै खेल्ने, सोझो र मिलनसार केटा भएकोले म धेरैजसो उहाँसँग सँगत गर्दथेँ ।
हामी कक्षा दुईको परीक्षा गर्दै थियौँ । गणित विषयको परीक्षा थियो । जोड गर्नुपर्ने थियोे । २४+२१= ( ) ? भन्ने प्रश्न थियो । यसको उत्तर औँला भाँच्दै गन्दै गर्दा उत्तर ४५ हुनुपर्नेमा हिरा जीले ४६ लेख्नुभएको थियो । उहाँ मभन्दा धेरै जान्ने हुनुहुन्छ भन्ने मलाई विस्वास भएर उहाँले ४६ लेखेको देखेर त्यही ४६ उत्तर लेखेको अहिलेसम्म पनि मलाई याद आइरहन्छ । आफु भन्दा जान्ने साथीले लेखेको उत्तर नै ठिक हो मैले औँला गन्नेबेला भुलाएको हुनुपर्छ भन्ने लाग्यो । साथीले ठिक लेखेको हो या गलत छुट्याउन सकिन । सेन्टरमा हामीलाई पढाउने धेरै सरहरू हुनुहुन्थ्यो । ठाकुर सर भन्ने एकजना सर हुनुहुन्थ्यो उहाँ सँधै खोच्याउँदै हिड्ने गर्ने भएको सम्झना छ ।
२०३४ सालतिर कक्षा तीन पास भएपछि हामी कक्षा चार पढ्न महेन्द्र माध्यमिक विद्यालय गयौँ । प्रा.वि. सेन्टर त्यसबेला कक्षा तीनसम्म मात्र पढाई हुन्थ्यो । प्राथमिक भनेको तीन कक्षासम्मको विद्यालय बुझिन्थ्यो । त्यसबेला महेन्द्र माध्यमिक विद्यालय धेरै ठुलो थियोे । धेरै सङ्ख्यामा विद्यार्थीहरू थिए । त्यतिबेलाको मेरो पहिलो साथी हिरा अहिले पनि नेपाल रेडक्रसमा विभिन्न प्रोजेक्ट चलाउँदै अहिले संखुवासभामा कार्यरत हुनुहुन्छ ।
समयको गतिसँगै तुलसीपुर पनि परिवर्तन हुन थाल्यो । सल्यान, रुकुम, रोल्पा, प्युठानलगायत देशका अनेकौँ जिल्ला र ठाउँबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या बढ्दै गयो । त्यही बसाई सर्ने क्रममा सल्यानबाट बसाइँसराइ गरेर मेरो घरको अगाडि छिमेकी हुन आउनुभयो दिलबहादुर सिंहका कान्छा छोरा हिरा सिंह ।
उहाँ अलि चन्चल स्वभावको हुनुहुन्थ्यो । अलि बढी जिस्क्याउने, लडाउने भिडाउने स्वाभावका हुनुहुन्थ्यो । खेलकुदमा पनि अगाडि हुनुहुन्थ्यो । उहाँले हामी दुईवटालाई पढ्न बाहेक अरू सबै कुरामा जित्नुहुन्थो । तर पनि बिहान उठेदेखि बेलुकी नसुत्दासम्म आँगन जोडिएका साथी भएकोले हामी अति नै मिल्ने गर्थौं ।
कक्षा चारमा पढ्दै गर्दा उहाँको ठुलो दाजु दिपक सिंह साइकल चढ्नुहुन्थो । नयाँ साइकल थियो, एटलस । लखनऊबाट ल्याउनुभएको थियो रे । त्यो साइकल डो¥याउँदै लगेर अरनिको मैदानमा कुदाउथौँ कहिलेकाहीँ त हामी विद्यालय छोडेर दिनभर साइकल चलाउथौँ ।
उहाँ कहिलेकाहीँ हामीलाई विद्यालय जाने बाटो बङ्ग्याएर गाइडरका चिराहरूमा बयर खाँदै रमाउँदै बेलुकी मेरो दाजु, दिदी अरू विद्यार्थी घरफर्केपछि सँगै फर्कने गर्थौं । एकदिन हामी विद्यालय नगएर तास खेल्दै थियौँ । मेरो बा त्यसदिन विद्यालय अनुगमन गर्न जानुभएको रहेछ । हेडसर विष्णुप्रसाद शर्मा र कक्षा हाजिरी गराउने सरसँग छलफल गरेर हाजिरी हेरेर घर आउनुभएछ । हामी तीन दिन विद्यालय छोडेको रेकर्ड हेरेर घरमा आउनुभएको रहेछ । त्यसदिन बेलुकी घरमा कान्छो भाइसमेतले रामधुलाई खायौँ । उता बाटो पारी छिमेकी हिरा पनि रामधुलाईमा पर्नुभएछ । त्यस दिनदेखि विद्यालय छाड्ने कुरा पनि गरिएन । दिदी दाजु र सरहरूको कडा निगरानीमा परियो । जीवनमा नै त्यो अति महत्वपूर्ण समय थियो । त्यसपछि छिमेकी हिरासँग कक्षामा एकैसाथ बस्न छाडेर सधैँ अधिल्लो बेन्चमा बस्न थालेँ । म पढ्नमा उत्तम पनि थिइन । कमजोर पनि होइन मध्ययम वर्गमा पर्थें ।
मेरो छ कक्षामा पढ्दै गर्दा अर्को हिरासँग सङ्गत शुरु भयो । उहाँ हुनुहुन्छ हिरालाल भण्डारी । उहाँ पनि पढ्नमा धेरै राम्रो विद्यार्थी हुनुहुन्थ्यो । उहाँसँग म कक्षामा सँगै बस्थेँ । कक्षामा धेरै सेक्सन भएको हुँदा पहिलो हिरा सेक्सन (क) म र तेस्रो हिरा (ख) मेरो दोस्रो साथी (ग) भयौँ ।
कक्षा छ मा पढ्दा म पनि साइकल चढेर विद्यालय जाने गर्दथेँ । त्यो साइकलमा हामी हिरा भण्डारी र म मध्यान्तरमा कहिलेकाहीँ लहलौरा कहिले एयरपोर्ट टरिगाउँसम्म पुग्थ्यौँ । कहिलेकाहीँ त हाम्रो पाचौँ घण्टी छुट्थो । उहाँ अहिले नेपाल सरकारको स्थानीय निकायमा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।
त्यसताका कक्षा सातमा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो । मेरो परीक्षा बिग्रेको जस्तो लाग्यो । एकदिन मेरो मन बिग्रियो । म फेल हुन्छु जस्तो लाग्यो । अब पढेर काम छैन जस्तो लाग्यो र आफ्नै घरको पसलबाट एक हजार रूपैयाँ झ्याप पारेर नेपालगञ्ज पुगेँ । त्यहाँबाट रूपैडिया हुँदै धेरै नेपाली चढेको बस देखेर भारततर्फ हानिएँ ।
दुई वर्षको भारत बसाइका क्रममा कडा मेहनत गरेर कोच्चिनको कोयम्बतुर भन्ने ठाउँमा एउटाको घरमा भाडा माझेर विताएँ । दुई वर्षपछि तीनहजार रूपैयाँ ल्याएर घर आउँदा सबै रुनुभयो । बाआमाले धेरै पीर मान्नुभएको रहेछ । म घर आएपछि बेलुकी सबै बस्यौँ छलफल गर्यौं । बाले हप्काउँदै भन्नुभयो ‘अब के गर्छस् ? ब्यापार गर्छस् भने साहु चिनाइदिन्छु । ब्यापार गरेर बस् । होइन भने पढ् नाम लेखाइदिन्छु ।’ मलाई पढ्न त मन लाग्यो तर महेन्द्र माध्यमिक विद्यालयमा आठ कक्षामा पढ्न त मन लागेन । मेरो तीनवटा हिराहरू एस.एल.सी.को तयारीमा थिए । उहाँहरूले पनि मेरो दुई वर्षखेर फालेको देखेर मलाई हप्काउनुभयो । त्यस बेलाका सरहरू फर्साराम देवकोटा, रामकृष्ण देवकोटा, नवराज रजौरे, हेड सर विष्णुप्रसाद शर्मा, पोषणराज रेग्मी, कोषराज निरौला, नारायणी योगी र साबित्रा म्याडमहरूले मलाई महेन्द्र मा.वि.मै पढ्न दबाब दिनुभयो । त्यसबेलासम्म तुलसीपुर सानो थियो । सबैले धेरैलाई चिन्दथे । फेरि मेरो बालाई त्यसताका नचिन्ने कोही थिएन । अञ्चलाधीशदेखि ठानेदार, ब्यापारी, किसान धेरैजसोले चिन्दथे ।
मलाई महेन्द्र मा.वि.मा आठमा पढ्न पटक्कै मन लागेन । कोषराज निरौला गुरुको गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौरमा सरुवा भएर रक्षाचौर पढाउनुहुन्थ्यो । उहाँलाई धेरै अनुरोध गरेपछि गुरु जजुर मा. वि. मा कक्षा नौमा पढ्नका लागि नाम लेखाइदिने र घरमा बालाई समेत उहाँको सिफारिस प¥यो भने सहयोग गर्नुस् भनेर हात जोडे । २०४१ को एस.एल.सी. हुनुपर्नेमा २०४४ को एस.एल.सी. हुन पुगेँ ।
गुरु जजुर मा.वि. को कक्षा ९ मा भर्ना भएको झण्डै १ वर्षसम्म खासै साथीहरू भएनन् । साथीहरू भए त हलोहाईवाले मात्र । २०४४ मा म १० कक्षा पढ्दापढ्दै गर्दा ठोक्किन पुगेँ फेरि पनि अर्को हिरासँग ।
हिरामणी पौडेल, उपनाम दुःखी लेख्न थालिसकेका । राजनीतिक सचेत भइसक्नु भएको हिरा विद्यार्थी सङ्गठन अखिलमा जोडिनुभएको रहेछ । मेरो चौथो हिरासँग चिनजान तथा मित्रता बढ्दै जान थाल्यो । हामी एक अर्कोले मनभित्रका कुराहरू केही लुकाएका छैनौँ । उहाँसँगको मित्रताले मेरो जीवनमा पनि उथलपुथल ल्याइदियो । म पनि उहाँको राजनीतिक लाइनप्रति जानीनजानी आकर्शित हुँदै गएँ । उहाँको घर हालको तुलसीपुर ३ नम्बर वडा सिस्नेरीमा थियो । हामी कहिलेकाहीँ उहाँको घरमा जान्थौँ त कहिले मेरो घरमा बस्थ्यौँ । यसरी हामीले दिनचर्या बिताउने सुन्दर भविष्यको कल्पना गर्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापनापछि नेपाल समृद्ध हुनेछ भन्ने कल्पना गथ्र्यौं । दस कक्षामा पढ्दै गर्दा २०४४ साउन महिनामा म विद्यालय गएको थिएन । हिरामणि जोसिँदै मकहाँ आउनुभयो । एक हात लामो कागज देखाउँदै यो राप्ती समाचार पत्रिकामा छाप्नुप¥यो भनेर । उहाँले भन्नुभयो – ‘विद्यालय ध्वस्त भयो । पढाइ छैन । सरहरू क्यारेमबोर्ड खेलेर दिन बिताउने, पढाइमा भन्दा अनेत्र सरहरूको ध्यानजाने भयो ।’ विद्यालय सुधारका लागि लेखिएको लामो विषयवस्तुमा केही थपथाप गरेर सम्पादकलाई छाप्न दिने सल्लाह भयो । योजना अनुसार उक्त जनगुनासो तत्कालीन राप्ती समाचार पत्रिकामा छापिएपछि हामी दुईजनालाई विद्यालय प्रशासन र विद्ययालय सञ्चालक समितिबाट अत्यधिक केरकार गरियो । तत्कालीन शिक्षकहरू र विद्यालय सञ्चालक समितिलगाएत घरबाट समेत मलाई त्यो हिरासँग साथ छोड्न दवाव दिन थालियो ।
रक्षाचौर विद्यालयमा पढ्ने त्यहाँबाट एसएलसी पास हुने अबसर देखिएन । हामीलाई त्यसबेला हुने टेष्ट परीक्षामा फेल गराइदिने जस्तो धम्की हुन थाल्यो । त्यसपछि हामी एकदिन भदौ महिनामा जनश्रम माध्यमिक विद्यालय खाद्रेका हेडसर मोहन धिताललाई भेट्न उहाँको घर खाद्रेमै गयौँ । हाम्रो सबै कुरा सुनिसकेपछि उहाँले हामीलाई भर्ना गरिदिन राजि हुनुभयो । हामीले भदौ २३ गते विद्यालयमा नाम लेखाएर त्यस विद्यालयका विद्यार्थी भयौँ ।
हामी उता खाद्रे स्कुलमा भर्ना भएपछि यता रक्षाचौरका केही शिक्षक र व्यवस्थापनका मानिसहरूले हामीलाई स्थानीय गुण्डाहरू लागाएर पिटाउने षड्यन्त्र गरेछन् । त्यही योजना अनुसार तात्कालीन पञ्चायती भिजिलान्तेहरू यज्ञबहादुर राना (हाल मरिसकेको) विष्णु भुसाल र लेखराज केसीलाई प्रयोग गरेर हामीलाई कक्षा कोठामा पिटाउने काम भयो । यद्यपि हामी जसरी पनि एस.एल.सी. पास गरेर मात्रै सफलता पाउने उद्देश्यका कारण हरेक चुनौतीहरूलाई स्वीकार्दै गयौँ । हामीलाई गुण्डाहरूले पिटेको खबर हामी घरमा पुग्दा नपुग्दै भाइरल बनेर फैलिइसकेको रहेछ । तात्कालीन हलुवार पञ्चायतका प्रधानपञ्चले हामीलाई बोलाएर ‘भाइ हो तिमीहरूले चाहन्छौ भने म अहिले नै पुलिस बोलाई ती गुण्डाहरूलाई पकडेर थुनिदिन्छु, के छ तिमीहरूको विचार ?’ भनेर हाम्रो स्वीकृति लिन अनुरोध गरे । ती प्रधानपञ्चको पर्सेनीमा घर थियो र कपडाको पसल पनि थियो । हामी स्कुलबाट त्यही बाटो हुँदै घर फर्कंदा उनीकहाँ हामी कुटिएको खबर आइसकेको रहेछ । हामीले टेष्ट परीक्षा नजिक आउँदै छ अहिले यो मुद्दामामिलाको लफाडामा प¥यौँ भने हाम्रो परीक्षा विग्रन्छ भनेर केही नगरौँ भन्यौँ ।
असोजको शुरुमै टेष्ट परीक्षा भयो । हामी पास भयौँ । हामीलाई कुट्ने मध्यको यज्ञबहादुर राना त टेष्टमै फेल भयो । एसएलसी तयारी सँगै बसेर ग¥यौं । त्यसताका माघ महिनामा एस.एल.सी. परीक्षा हुन्थ्यो । हाम्रो परीक्षा सेन्टर जनता संस्कृत माध्यमिक विद्यालय बिजौरीमा भयो । त्यो सेन्टर त्यसै वर्षदेखिको नयाँ थियो । परीक्षा सकियो । हिरामणि र मेरो भेटघाट पातलियो । २०४५ साल जेठ २६ गते शुक्रबार रिजल्ट निस्कियो । रिजल्ट निस्केको पाँच दिनपछि मात्रै हामीले गोरखापत्र हेरेर दुबै जना तेस्रो श्रेणीमा उत्तीर्ण भएको समाचार हे¥यौँ । हामीमा खुसी भयौँ । पास भएकोमा दुःखीजी खुसी भएपनि श्रेणीका बारेमा उहाँ त्यति खुसि देखिनुभएन । उहाँले आपूm दोस्रो श्रेणीमा पास हुन्छु भन्ने सोँच्नुभएको रहेछ । तर पछि साउनमा एक्जाम्टेड परीक्षाको रिजल्ट आएपछि भने उहाँको इच्छा पनि पूरा भयो । अर्थात् उहाँ एस.एल.सी.कै एक्जाम्टेड परीक्षामा दोस्रो श्रेणीमा उतीर्ण हुनुभयो । एकै वर्षमा उहाँले दुईवटा विद्यालयबाट एस.एल.सी. पास गर्नुभयो । कारण के भने उहाँले पहिला २०४१ सालमा रेगुलर तर्फबाट मा.वि. भ्युँडहर, सुनपुर, दाङबाट एस.एल.सी दिएर फेल हुनुभएको रहेछ । हामीले एकैसाथ एस.एल.सी. दिने वर्ष उहाँले उता भ्युँडहरबाट एक्जाम्टेड फाराम पनि भर्नुभएकोले त्यो परीक्षा पनि दिनुभएको थियो । किनकि त्यतिवेला रेगुलरको जाँच माघ ७ गतेबाट शुरु हुन्थ्यो भने एक्जाम्टेड र कम्पार्टमेन्टको जाँच माघको २१ गतेबाट शुरु हुन्थ्यो । यसरी उहाँले दुबैतिरबाट एस.एल.सी. दिने अवसर पाउनुभएको थियो ।
हामीले जीवनको ठुलो खड्को पार गरियो । त्यो वर्ष जनश्रम मा.वि. खाद्रेबाट बीस जना परीक्षामा सहभागी भएका थियौँ । चारजना मात्र पास भयौँ । दुईजना त्यही विद्यालयका नियमित विद्यार्थी थिए भने हामी दुईजना रक्षाचौरबाट एस.एल.सी. दिन मात्र भर्ना भएका पटके विद्यार्थी थियौँ । उता रक्षाचौर स्कुल भने एस.एल.सी. रिजल्टमा निल भयो । हामीले त्यस विद्यालयको पठनपाठनका बारेमा गरेको विरोध सत्य सावित भयो । जस्तो पढाई थियो त्यस्तै नतिजा निस्कियो । सायद यो चौथो हिराको सङ्गत नभएको भए मलाई एस.एल.सी. पास गर्न धौधौ पथ्र्यो र म हिँडेको राजनीतिक धार पनि फरक हुन्थ्यो ।
उहाँ कलेज पढ्न जानुभयो म जागिर खोज्न थालेँ । हामीलाई समयले छुट्याएको थियो । तर मनभित्र हामी कहिल्यै छुट्टिएनौ । मेरौ वैवाहिक जीवनमा समेत उहाँले साथ दिनुभयो र मैले शिक्षण गरेको हालको पूर्वि रुकुमको विकट क्षेत्र गोलखाडासम्म हामी दम्पत्तीलाई पु¥याउन जानुभयो । एकप्रकारले भन्ने हो भने त्यसलाई हाम्रो विहेको एक्लो जन्ती पनि भन्न सकिन्छ ।
२०४६ को पञ्चायत बिरोधी आन्दोलनमा म रुकुमको चौरजहारीमा शिक्षक तालिममा थिएँ । हिरामणि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अध्ययनरत हुँदै पञ्चायती व्यवस्था बिरोधी आन्दोलनमा जोडिनुभएको थियो । म २०४६ चैत २४को आन्दोलनको प्रचारप्रसार गर्ने क्रममा वालपेन्टिङ गर्दागर्दै प्रहरी गिरफ्तारीमा परँे । चैत २७ गतेको राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा र पञ्चायत व्यवस्थाको अन्त्यसँगै प्रहरी हिरासतबाट मुक्त भएका थियौँ ।
त्यतिबेला हाम्रो राजनीतिक लाइन नेकपा (मशाल) प्रति थियो । जसको नेतृत्व मोहन वैद्य तथा प्रचण्डले गर्नुभएको थियो । यता हिरामणि जी पनि सोही पार्टीको विद्यार्थी सङ्गठन र पार्टी सदस्य बन्नु भएको रहेछ ।
हाम्रो मन मात्रै होइन राजनीतिक बिचारमा पनि एकमत थियौँ । खुला राजनीतिपछि हाम्रो मित्रता गहिरो र गाढा बन्दै गयो । अहिलेसम्म पनि हिरामणि दुःखी मेरो आदर्श हुनुहुन्छ । मेरो राजनीतिक गुरु नै हुनुहुन्छ भनी स्वीकार्दै आएको छु । २०४३ सालमा उहाँले नै मलाई अखिलको सदस्यता दिएर कम्युनिस्ट राजनीतिमा सङ्गठित गर्नुभएको हो । त्यसयता निरन्तर हामी दुवै त्यही राजनीतिक धारामा कृयाशील रहेका छौँ । यतिबेला दुःखीजी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समितिमा हुनुहुन्छ भने म सोही पार्टीको दाङ जिल्लाको सेक्रेटरीमा कार्यरत छु । उहाँ नेपालको माक्र्सवादी साहित्यिक आन्दोलन तथा जनपक्षीय पत्रकारिता क्षेत्रमा स्थापित हुनुहुन्छ । उहाँले समाजवादी यथार्थवादी धारामा रहेर कविता, कथा, समालोचना तथा निबन्ध, संस्मरण जस्ता विविध विधामा बराबर कलम चलाउँदै आउनुभएको छ । अहिले इच्छुक सांस्कृतिक प्रतिष्ठान तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर सांस्कृतिक आन्दोलनको अगुवाइ गरिरहनुभएको छ ।
यसरी मेरो जीवनमा चार हिराहरूसँगको सङ्गतले मलाई हानी नोक्सानी गरेन । म फाइदै फाइदामा रहेँ । चारैजना साथीहरूसँग राम्रो सम्बन्ध कायमै छ । हरेक मोडमा मलाई यी चार हिराहरूले सहयोग गर्दै आउनुभएको छ ।
यी चार हिराहरूलाई सँगै राखेर सानोतिनो खाजा कार्यक्रम गर्ने वर्षौंदेखिको इच्छा यही फागुन ४ गते बिहान जुट्यो ।
विहानै कफि कार्यक्रम राखियो । २० मिनेटको बसाइ रह्यो । दुःखी काठमाडौं जानुपर्ने ११ बजेको टिकट फिक्स भएको कारणले हवाईजहाज चढ्न नेपालगञ्ज जानुपर्ने बाध्यताले उहाँ सात बजे नेपालगञ्ज हिड्नुभयो ।
यसरी छोटो समयमा मेरो जीवनका ५२ वर्षे सङ्गतका चार हिराहरूलाई एकै ठाउँमा जुटाउने समय मिल्यो ।