बेलायत । शनिबार (१९ माघ, २०८१) बेलायतमा बिगेसो पदाधिकारीहरूको विशेष भेला सम्पन्न भएको छ । बेलायतको दक्षिणी शहर अलडरसोटमा बिगेसोको विशेष भेला तथा कार्यक्रम सम्पन्न भएको हो । बिगेसोका कार्यवाहक अध्यक्ष दिल सम्बाहाफेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले नेपालमा सर्वोच्च अदालतको ११ दिने निर्देशनात्मक आदेश कार्यान्वयन गराउने अभियानलाई थप बल प्रदान गर्ने लक्ष्य राखेको थियो।
कार्यक्रममा बेलायतमा रहेका बिगेसोका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सर्वोच्च अदालतको आदेशलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन साझा प्रतिबद्धता व्यक्त गर्दै संगठनका आगामी गतिविधिलाई थप सशक्त बनाउने निर्णय गरेका छन्।
कार्यक्रमका क्रममा महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको थियो भने बिगेसोको भावी रणनीति तय गर्दै एकताबद्ध प्रयास गर्ने सहमति जुटाइएको छ।
कार्यक्रमको सञ्चालन बिगेसोका सचिव अबिन नाल्बोले गर्नुभएको थियो। भेलामा उपस्थित पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूले संगठनको गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।