मुक्कुमलुङ गोलीकाण्डको सर्वत्र विरोध, अरुणपूर्वका ९ जिल्लामा आम हड्ताल

मुक्कुमलुङ गोलीकाण्डको सर्वत्र विरोध, अरुणपूर्वका ९ जिल्लामा आम हड्ताल

काठमाडौं । ‘मुन्धुमीस्थल मुक्कुमलुङ संरक्षण गर्न केबलकार खारेज गरौ, गोली हान्ने, मानव अधिकार उल्लंघन गर्ने सरकारी रबैयाको विरोध गरौ १’ भन्ने मूल नाराका साथ २०८१ माघ २० र २१ गते अरुण पुर्व ९ जिल्ला लिम्बूवान यातायात बन्दको आयोजना गरिएको छ । पीडितहरुले माग सम्बोधन नभए माघ २२ देखि आमहड्ताल गर्ने चेतावनी दिएका छन् ।

ताप्लेजुङ फुङलिङ नगरपालिका ११ बलुडाँडास्थित २०८१ माघ १२ गते बेलुकी मुक्कुमलुङ संस्कृतिकर्मीहरूमाथि सशस्त्र र जनपथ प्रहरीले गरेको बर्बर दमन र गोलीकाण्डको सर्वत्र विरोध भइरहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेले गौरवले पनि एक वक्तव्य जारी गरेर गोलीकाण्डको तीव्र वरोध एवम् भत्र्सना गर्नुभएको छ ।

वक्तव्यमा गोली चलाउन आदेशदिने गृह प्रशासकमाथि शख्त कार्बाही गर्न र सम्पूर्ण घाइते जनताको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग समते गरिएको छ ।

गोलीकाण्डमा परी घाइते भएका मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षामा उपचार भइरहेको छ वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “केबलकार निर्माणसँग सम्बन्धित यो आन्दोलन जनताको आस्था, संस्कृति, संस्कार र भावनासँग जोडिएको हुनाले बलप्रयोग गरेर यसको समाधान हुन सक्दैन । सीमित दलाल पुँजीपतिको पक्षमा उभिएर होइन स्थानीय जनतासँग बसेर आपसी सहमतिका आधारमा यस समस्याको समाधान खोज्न हाम्रो पार्टी सरकारसँग विशेष माग गर्दछ ।”

त्यसैगरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले पनि एक वक्तव्य जारी गरेर पाथिभरा क्षेत्रमा आदिवासी जनजातिमाथि गरिएको दमनको घोर विरोध र तीव्र भत्र्सना गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “आदिवासी जनजातिको आदिथलोमा कुनै पनि निर्माणको काम गर्नु पर्दा त्यहाँका आदिवासी जनजातिसँग परामर्श गरी उनीहरुको हित विपरित नभएको अवस्थामा उनीहरुकै स्वीकृतिमा निर्माण कार्य गर्नु पर्ने हुन्छ । लोकतन्त्रमा पनि यो कुरा लागू गरिन्छ र संयुक्त राष्ट्र संंघको आइएलओ–१६९ ले पनि यही कुरा हस्ताक्षरकर्ता राष्ट्रहरुलाई निर्देश गरेको छ । नेपाल पनि हस्ताक्षरकर्ता देश हो र भन्नलाई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताइन्छ । तर यहाँ जनताका आधारभूत लोकतन्त्र, जनजीविका र मानव अधिकारको समेत गंभीर ढंगले उलंघन गरिन्छ र यसको विरोध गर्नेमाथि गोली बर्साइन्छ । यस्तो काम ताप्लेजुङका सांसद, व्यापारी चन्द्र ढकाल र सरकारको मिलोमतोमा गत माघ १२ गते पाथिभरा गोलीकाण्ड घटाइएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ यसको घोर भत्सर्ना र निन्दा गर्दै उक्त केवलकार निर्माणको योजना खारेज गरी स्थानीय जनतासँग वार्ता थाल्न, घाइतेहरुको निशुल्क उपचार तथा बन्दीहरुको तत्काल रिहाइको जोडदार माग गर्दछ । सँगै घाइते आन्दोलन कर्ताहरुको शीघ्र सुस्वास्थ्य लाभको कामना गर्दछ ।

आदिवासी जनजातिको हकहितको यस आन्दोलनलाई हाम्रो अखिल नेपाल आदिवासी जनजाति महासंघ समर्थन, साथ र सहयोग रहन्छ । यहाँ हामी पुनः उत्पीडित आदिवासी जनजातिमा के ध्यानाकर्षण गराउन चाहन्छ भने पहिचानसहितको सक्कली संघीयता र जनगणतन्त्रको स्थापना नहुँदासम्म आदिवासी जनजातिको पूर्ण मुक्ति संभव छैन ।”

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक सरलले पनि एक विज्ञप्ति जारी गरेर शान्तिपुर्ण बिरोध कार्यक्रममा सरकारको तर्फबाट भएको प्रहरी दमन र सो को प्रतिरोधमा भएको झडप र सो बाट उत्पन्न परिस्थितिप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घाइतेहरु सबैमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको निःशुल्क स्वास्थ्य उपचारको लागि सरकारसँग माग गरिएको छ । वक्तव्यमा भनिएको छ, “लामो समयदेखि केबुलकार निर्माण र सो कारणले मुकुम्लुङ सांस्कृतीक सम्पदामा पर्न गएको क्षति सम्बन्धमा व्यापक जनअवाज उठ्दा पनि सरकारले व्यवास्था गर्नु र एकाएक दमनमा उत्रनुले आफ्नो असली निरङकुस तथा फासिवादी चरित्रलाई प्रदर्सित गरेको कुरा पुष्टी भएको छ । सरकारको यस प्रकारको निरङकुस तथा फासीवादी चरित्रको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल घोर निन्दा तथा भर्त्सना गर्दछ । साथै सरकारको यस प्रकारको रबैयाको भण्डाफोर, बिरोध र प्रतिरोध गर्न आम जनसमुदायमा अपील समेत गर्दछ ।

यसैबिच, गोलीकाण्डपछि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका २०८१ माघ १५ देखि अनिश्चितकालीन यातायात बन्द गरिएको छ । आन्दोलनलाई थप सशक्त बनाउन स्थानीयहरुले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला लिम्बुवान बन्द आव्हान गरिएको छ । त्यसबाट पनि माग सम्बोधन नभए अनिश्चितकालीन आमहडताल लगायत देशैभरि आन्दोलन चर्काएर लगिने जनाएका छन् । आन्दोलन अरुणपूर्व ९ जिल्लामा विस्तारित भइसकेको छ ।

सशस्त्र पुलिसको गोलीबाट याम बहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङवा गम्भिर घाइते भई उपचाररत छन् । अन्य घाइतेहरू धोजनारायण साँवा र बिर्ख लिम्बुको पनि उपचार भईरहेको छ भने मंगल लावती र विशाल लिम्बु उपचारपछि डिस्चार्ज भएका छन् । माघ १२ को घटनामा परी लक्ष्मण लिम्बु, चन्द्र सागर लिम्बु र २०८१ माघ १५ गते प्रदीप मादेनलाई बिना कारण प्रकाउ गरी हिरासतमा राखिएको छ । मुक्कुमलुङ, सेमुक्तु मुक्तुबुङ युमा माङथानको आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई अक्षुण्ण राख्न, केबलकारलगायत कुनै पनि किसिमका कंक्रिटको भौतिक संरचना र विद्युतीय उपकरण निर्माण गरिनुहुन्न भन्ने सम्झौताविहिन माग राखेर स्थानीय सांस्कृतिक पहिचानवादीहरुले आन्दोलन जारी राखेका छन् ।

आन्दोलनकारीहरुले गिफ्तार गरिएका सम्पदाप्रेमीहरूलाई बिना सर्त रिहाई गर्नुपर्ने, काफ्लेपाटीबाट सशश्त्र र जनपथ प्रहरी फिर्ता गर्नुपर्ने, केबलकार निर्माण कार्य रोक्नुपर्ने र त्यहाँ भएका स्काभेटरलगायत अन्य सबै निर्माण सामग्री फिर्ता लानुपर्ने घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको उच्च स्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नुपर्ने र दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने चन्द्र ढाकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने लगायत माग राखिएको छ ।